प्रधानसेनापति कप क्रिकेटको उपाधि सैनिकलाई
भक्तपुर : आयोजक सैनिक आवासीय महाविद्यालयले भक्तपुरमा शुक्रबार सम्पन्न विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा राजन मेमोरियल स्कुललाई चार विकेटले हराउँदै उपाधि राखेको हो। उपाधिसँगै सैनिकले एक लाख नगद जितेको छ। राजन मेमोरियलले भने पचास हजार रुपैयाँमा चित्त बुझायो।
राजन अघिल्लो संस्करणमा पनि सैनिकबाटै पराजित भएर उपविजेतामै सीमित भएको थियो। टस जितेर व्याटिङ रोजेको राजन मेमोरियलले २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रनको योगफल तयार गरेको थियो। उसको लागि अनुप नेपालले सर्वाधिक ४९ रन जोडे। त्यस्तै कप्तान अमितकुमार महतोले ४२ रनको योगदान गरे।
बलिङतर्फ सैनिकका अर्जुन तामाङ र आशिष कुँवरले एकएक विकेट लिए। जवाफी व्याटिङमा आएको सैनिकले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर ११२ रनको लक्ष्य पूरा गरेको थियो। अन्तिम ओभर पाँचौं बलमा सैनिकका व्याटस्म्यान क्रिस कार्कीले छक्का हान्दा सैनिकको जित निश्चित भएको थियो।
कार्कीले अविजित रहँदै २३ बलमा एक छक्का र एक चौका प्रहार गरी सर्वाधिक २६ रन जोडे। महत्वपूर्ण ६ रन लिएका कार्की फाइनल खेलका म्यान अफ द म्याच घोषित भए। उनले नगद दुई हजार पाँचसय पुरस्कारसमेत हात पारे।
त्यस्तै सैनिकका मञ्जिल खत्रीले २२ र कप्तान जवाफजंग मल्लले १९ रनको योगदान गरे। बलिङतर्फ राजन मेमोरियलका सुजन तामाङले दुई र सन्देश दाहाल र विजय तामाङले एकएक विकेट लिए।
उपत्यकाका १७ स्कुलको सहभागिता रहेको प्रतियोगिताको जेम्स स्कुलका आइस भट्टराई म्यान अफ द सिरिज घोषित भए। सैनिकका निश्चल तामाङ, निश्चल थापा र क्रिस कार्की क्रमशः उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर र उत्कृष्ट बलर घोषित भए। राजन मेमोरियलका सुजन तामाङ उत्कृष्ट उदीयमान खेलाडी घोषित हुन सफल भए।
व्यक्तिगत उत्कृष्ट घोषित खेलाडीलाई ट्रफी नगद चारचार हजार रुपैयाँले पुरस्कृत गरिएको थियो। नेक्ससकी दीप्सा शाही सक्रिय सहभागीले पुरस्कृत भए। प्रतियोगितामा उनीमात्रै एक्ली महिला खेलाडी थिइन्।
प्रतियोगिताका विजेता तथा उपविजेता स्कुल र खेलाडीहरुलाई नेपाली सेनाको बलाध्यक्ष रथी शरद गिरीले शिल्ड, मेडल र प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए।