पाकिस्तानसँग भारतीय पाइलटको बाचा : स्वदेश गएपछि कुरा फेर्दिन (प्रत्यक्ष कुराकानी)
इस्लामाबाद : पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय पाइलट अभिनन्दन वर्तमानलाई रिहा गर्ने अन्तिम तयारीमा छ पाकिस्तान । बाघा बोर्डरबाट उनको रिहा गर्ने तयारी भइरहेको बताइएको छ ।
यही शिलशिलामा पाइलट अभिनन्दन र पाकिस्तानी सेनाबीच भएको कुराकानीको भिडियो समेत सार्वजनिक भएको छ । ‘अन्तरसेवा जनसम्पर्क (आईएसपिआर)ले बुधबार साँझ नै उक्त भिडियो सार्वजनिक गरेको हो । यस क्रममा पाकिस्तानी सेनाका अधिकारी र अभिनन्दनबीच छोटो वार्तालाप भएको छ । भिडियोमा चिया पिउँदै अभिनन्दन निर्धक्कसँग पाकिस्तानी अधिकारीले सोधेका जवाफ दिइरहेको देखिन्छ ।
भिडियो अन्तर्वार्तामा अभिनन्दनले पाकिस्तानी सेनाले आफ्नो उद्धार गरेको र सम्मान गरेको बताएका छन् ।
अभिनन्दनले भनेका छन् : म यो कुरा रेकर्ड गर्न चाहन्छु । म आफ्नो देश फर्केर गएपछि पनि आफ्नो भनाइ परिवर्तन गर्ने छैन । पाकिस्तानी सेनाका अधिकृतहरुले मेरो राम्रो तरिकाले सुरक्षा दिए । ठूलो भीडबाट मेरो उद्दार गरियो र मलाई अधिकृतहरुमाझ लगियो । म आफ्नो सेनाबाट पनि यस्तै व्यवहार होस् भन्ने चाहन्छु । र म पाकिस्तानी सेनाबाट असाध्यै प्रभावित भएँ ।
पाकिस्तानी सेनाका अधिकारी : तिमी भारतको कुन ठाउँमा रहन्छौ ?
पाइलट : मैले त्यो कुरा भन्नुपर्छ र ? म दक्षिण भारत क्षेत्रको हुँ ।
पाकिस्तानी सेना : तिमी विवाहित हौ ?
पाइलट : हो । म विवाहित हुँ ।
पाकिस्तानी सेना : तिमीलाई चिया मिठो लाग्यो हो ?
पाइलट : हो । चिया एकदम मिठो छ । धन्यवाद । (यसो भन्दा उनले चिया पिइरहेका थिए ।)
पाकिस्तानी अधिकारी : तिमी कुन एयरक्राफ्ट उडाउँथ्यौ ?
पाइलट : सरी मेजर ! मैले यो भन्नु हुँदैन । तर तपाईँहरुले र्याकेज भेट्टाउनुभएको कुरामा म पक्का छु ।
पाकिस्तानी अधिकारी : तिम्रो उद्देश्य के थियो ?
पाइलट : माफ गर्नुस्, हामीले यस्तो कुरा तपाईँहरुलाई भन्नु हुँदैन ।
भारतीय कमान्डर अभिनन्दनलाई हमलाको क्रममा स्थानीयले नियन्त्रणमा लिएर सेनालाई बुझाएका थिए । भिडियोमा भने उनलाई सिपाही र स्थानीयले उनलाई बलपूर्वक तरिकाले नियन्त्रणमा लिएको देखिएको छ ।
जब कि, उत्तेजित स्थानीयको भीडबा उनलाई सेनाले बचाएर नियन्त्रणमा लिएको देखिन्छ । जुन कुरा अभिनन्दन स्वयंले भनेका छन् । सेनाको नियन्त्रणमा रहँदाको भिडियोमा भने अभिनन्दन निर्धक्क देखिएका छन् ।
अभिनन्दनका बावु पनि भारतीय सेनका पूर्व अधिकृत भएको बताइएको छ । भारतीय विदेशमन्त्रालयले भने उनको रिहाइको आग्रह गरेको थियो । अन्तर्राष्ट्रिय कानुनका अनुसार पाकिस्तानले अभिनन्दनलाई एक साता भन्दा धेरै समय आफ्नो नियन्त्रणमा राख्न सक्दैनथ्यो । यदी त्यसो गरेको भए भारतले आफ्नो सेनालाई युद्धबन्दी बनाएको भन्दै अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्थ्यो ।
अर्कोतर्फ बन्दी बनेका अभिनन्दन स्वयंले पनि मुक्त भएपछि आफूमाथि पाकिस्तानी सेनाले दुव्र्यवहार गरेको वा मानसिक, शारिरीक तनाब दिएको भए अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न पाउँछन् । तर पछिल्लो भिडियो अनुसार उनले पाकिस्तानी सेनाबाट राम्रो सम्मान पाएको र स्वदेश फर्केपछि आफ्नो कुरा नफेर्ने प्रतिवद्धता गरेका छन् ।