पर्यटनको जग बसाल्दै थिए रवीन्द्र

पर्यटनको जग बसाल्दै थिए रवीन्द्र

काठमाडौं : हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी पर्यटन विकासको जग बसाउन चाहन्थे। त्यसपछि अवस्थामा यो क्षेत्रको विकास हुनेमा उनी दृढ थिए। कार्यकारी भूमिकामा पुगेर थोरै मात्र पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणको सुरुवात गर्न थालेका अधिकारीको पर्यटन विकासको जगलाई स्थापित गर्ने सपना भने अधुरो नै रह्यो।

‘पर्यटनमन्त्री हुनु अघिदेखि नै अधिकारी राजनीति भनेकै विकासका लागि हो भन्ने स्पष्ट बुझाइ राख्थे। ‘पर्यटनमन्त्री भएपछि भने हामीले उनलाई पर्यटनको प्रकृतिअनुसार मिल्ने व्यक्तिका रूपमा पायौं’, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने। मन्त्री भएर आएको एक वर्षमै पर्यटनमा देखिने गरी धेरै काम भएको उनको भनाइ छ।

पर्यटन प्रवद्र्धनलाई अभियानका रूपमा अघि बढाउने र सन् २०२० मा २० लाख पर्यटन भिœयाउने अवधारणा मन्त्री अधिकारीबाटै आएको हो। पूर्वाधार विकासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि नीति निर्माण बनाउने, पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र निजीक्षेत्रसँगको सहकार्य रुचाउँथे उनी। निजीक्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नुपर्छ भनेर अग्रसर हुने अधिकारी जुनसुकै पर्यटकीय संघसंस्था र पर्यटकीय गतिविधिमा सहजै पुग्थे।

टीआईए सुधारको पहल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) सुधारमा अधिकारीले काम थालेका थिए। दैनिक १८ घण्टा सञ्चालन हुने विमानस्थल जेठबाट २१ घण्टा सञ्चालनमा आयो। यसलाई आगामी वैशाख १ बाट बुटिक विमानस्थल बनाउने काम पनि हुँदै छ। यो अवधारणा पनि मन्त्री अधिकारीसहितकै टिमको रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। विमानस्थल सफाइदेखि आवश्यक टेन्डर निकाल्ने, रङरोगन गर्ने र आन्तरिक सजावटको काम गर्ने, विमास्थलमा रहेको पार्किङ व्यवस्थित गर्ने काम अधिकारीकै निर्देशनमा भइरहेको थियो।

विमानस्थल सुधार गर्न प्रतिबद्ध अधिकारीकै निर्देशनपछि विमानस्थलमा धेरै काम भएको छ। प्रत्यक्ष अनुभूति गर्न सकिने गरी विमानस्थलको सुधार हुन थालेको छ। चैत १८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्धार) हुँदै छ। तीन महिना लगाएर हुने यो कामपछि विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्ने तयारीमा अधिकारी थिए।

विमानस्थल सुधारकै क्रममा धावनमार्गको पूर्वपट्टि तीनवटा रिमोट एरिया पार्किङ थप हुँदै छन्। अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड भइरहने समस्या कम गर्न र नियमित उडान सहज बनाउन सहयोगी हुने यो पार्किङ दुई महिनाभित्रै सकिँदै छ। यसपछि धावनमार्गको पश्चिमपट्टि पनि अर्को चारवटा पार्किङ थप हुँदै छन्। दुवै स्थानमा निर्माणाधीन पार्किङबाट पनि अन्तर्राष्ट्रिय उडानका वायुसेवाले भोग्नुपरेको होल्डिङ र समस्या ६० प्रतिशत कम हुनेछ। आन्तरिक उडानतर्फ पनि नयाँ टर्मिनल भवन बनाउने र थप व्यवस्थित बनाउने काम अगाडि बढेको छ।

मन्त्री अधिकारी नियमित रूपमा विमानस्थल आउने, बारम्बार प्रगतिको सूचना माग्ने र काम गर्न प्रोत्साहन दिइरहने व्यक्ति हुन्। पर्यटन विकासका निम्ति विमानस्थललाई पहिलो प्राथमिकतामा राखेका अधिकारीले एक पटक दिल्ली गएको बेला पनि यहाँको विमानस्थलको कामको विवरण सोधेको प्रसंग क्षेत्रीलाई सम्झना छ।

त्रिभुवन विमानस्थलका इन्जिनियर महाशाखाका निमित्त प्रमुख चन्द्रमणि सापकोटाका अनुसार मन्त्री अधिकारीकै सक्रियताले बुटिक विमानस्थल घोषणाको निम्ति आवश्यक काम सुरु भएको छ। यसका निम्ति नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै मात्र साढे आठ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यसअन्तर्गत रङरोगन, सौन्दर्यीकरण, पुरानो डिजाइनमा नमिलेका संरचना हटाएर नयाँ बनाउने, ऐतिहासिक र पुरातात्विक झल्को दिने काम गर्ने, मूर्ति राख्नेसहितको काम गरेर बुटीक विमानस्थल बनाउने घोषणाको कार्यक्रम तय गरिसकिएको छ।

प्राथमिकताका अन्य विमानस्थल

मन्त्री अधिकारीको निर्देशनमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ। हाल करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको यो विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने कामको सुरुवात उनैले गराएका थिए। काठमाडौं विमानस्थलको विकल्पका रूपमा हेरिएको र पर्यटकीय क्षेत्र लुम्बिनीको विकास तथा पर्यटक आकर्षित गर्न यो विमानस्थल महŒवपूर्ण हुने विश्वास लिइएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गराउने श्रेय पनि अधिकारीलाई नै जान्छ। पोखरा क्षेत्रकै जनप्रतिनिधि भएका कारण यो विमानस्थल निर्माणमा बढी जोड दिएका अधिकारी मन्त्री भएर आएपछि यसको काम अगाडि बढेको छ। निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्छ भनेर प्रक्रिया अगाडि बढाउन लागिपरेका अधिकारीकै पहलमा वातावरणीय प्रभाव मूल्यांकनको फाइल स्वीकृत भएको हो। अन्य क्षेत्रका विमानस्थल सुधार र विकास, काठमाडौंबाहिरका केही विमानस्थलमा रात्रिकालीन उडान गर्ने र विमानस्थल बनाउने काममा पनि उनको संलग्नता थियो।

त्रिभुवन विमानस्थलको हवाई चाप घटाउने अधिकारीकै पहलमा काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने काम अगाडि बढाइएको हो। अधिकारीकै पहलमा यो विमानस्थल निर्माण अगाडि बढाउन चालू आवमा २५ करोड रुपैयाँ बजेट पनि विनियोजन भएको थियो।

पर्यटनमा नीतिगत सुधार

पर्यटन मन्त्रालयअन्तर्गतकै नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत अन्तर्राष्ट्रिय हवाई यात्रुको सुरक्षा र सुविधाका निम्ति बिमा रकम बढाउने गरी मन्ट्रियल महासन्धिलाई संसद्बाट अनुमोदन गराउने काम अधिकारीले गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निमायक र सेवाप्रदायक गरी दुई निकायमा विभाजन गर्न पनि ऐन बनाउने काम भइरहेको छ। पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरेको फेक रेस्क्यु नियन्त्रणका निम्ति कार्यविधि ल्याए। होटलको स्तर वर्गीकरणमा नयाँ मापदण्ड पनि अगाडि बढाए।

पूर्वाधार कार्यान्वयनलाई तीव्रता दिने, देशभर पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका निम्ति एक सय गन्तव्य सार्वजनिक गर्ने, भ्रमण वर्षलाई अभियानका रूपमा लैजानेसहितको काममा अधिकारीकै सक्रियता भएको हो। पछिल्लो समय अधिकारी पर्यटनमन्त्री भएकाले मातहतका कार्यालयको नैतिक जिम्मेवारी लिनुपर्ने हुँदा नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइडबडी जहाजमा भएको अनियमिततामा मुछिएका थिए। संसदीय छानबिन समितिले अधिकारीलाई नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै जहाज खरिद प्रक्रियामा भएको अनियमिततामा मुछेको छ। अधिकारी नेपालको कला, साहित्य एवं संस्कृतिको प्रवद्र्धनमा पनि सक्रिय थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.