गौरवका आयोजनाका पाइलट
भैरहवा : हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले रूपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् २०२० मा २० लाख पर्यटक भित्त्याउने लक्ष्यसहित मन्त्री अधिकारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी गुरुयोजनालाई महत्त्व दिई तिनको काममा तीव्रता दिएका थिए।
अघिल्लो पटक विकास समितिको सभापति हुुँदा अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र निजगढ विमानस्थललाई हेर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको छुट्टै युनिट गठन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार गौरवका आयोजना हेर्ने गरी युनिट स्थापना गरिएको थियो। र त्यसको काम अघि बढेको राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए।
‘आयोजनाका लागि मन्त्री अधिकारी पाइलट हुनुहुन्थ्यो, जसरी पनि आयोजनाले गति लिनुपर्ने उहाँको धारणा थियो’, उनले भने, ‘उहाँको देहावसनले हामीलाई निकै दुःखी तुल्याएको छ, हामीले हाम्रो पाइलट गुमाएका छौँ। एउटा सरल र सुसंस्कृत अभिभावक गुमाएका छौँ।’
अधिकारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिएका थिए। २५÷२६ प्रतिशत मात्र काम सम्पन्न भएको विमानस्थल निर्माण अधिकारी मन्त्री भएपछि करिब ७० प्रतिशत सकिएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। ‘अधिकारी निकै विकासप्रेमी हुनुहन्थ्यो। विमानस्थलको धावनमार्ग कालोपत्रेको उद्घाटन तथा कार्गो भवनको उहाँ आफैंले उद्घाटन गर्नुभयो’, उनले भने, ‘बीचबीचमा स्थलगत निरीक्षण गर्ने र आवश्यक नीतिनिर्देशन दिने गर्नुहुन्थ्यो।’
अधिकारीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिएका थिए।
लुम्बिनीको विकासमा पनि अधिकारी लागिपरेका थिए। सकारात्मक सोचका साथ लुम्बिनीको विकासमा कटिबद्ध मन्त्री अधिकारीको कार्यकालमा यसको गुरुयोजनाको कामले पनि तीव्रता पाएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले उल्लेख गरे।
बृहत्तर लुम्बिनीको विषयमा पनि निकै चासोका साथ लागिपरेका अधिकारीले लुम्बिनीमा निर्माणाधीन हल तथा अन्य काममा निरन्तर जानकारी लिने गरेका थिए। अधिकारीको निधनमा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले यहाँको पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको बताएका छन्।