धर्मनिरपेक्षता खारेज हुनुपर्छ : कमल थापा
सिरहा : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सुरु गरेको मेची–महाकाली ‘राष्ट्रिय स्वभिमान यात्रा-को क्रममा धर्मनिरपेक्षता खारेजी हुनुपर्ने माग गरेका छन्। यात्राको चौथो दिन शनिबार बिहान सिरहाको लहानस्थित सडकमा पत्रकार सम्मेलन गरी राप्रपा अध्यक्ष कमल थापाले सनातन धर्महरु खतरामा रहेकोले धर्मनिरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन्।
नेपालमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रुपमा जनदवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमानको यात्रा थालेको अध्यक्ष थापाले बताए।
पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष थापाले नेपालको भूराजनीतिका अवस्था र धार्मिक, समाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दै चुनावी राजनीतिभन्दा माथि रहेर राजसंस्थासहितको लोकतन्त्र कायम गर्ने बारे सर्वपक्षीय ‘गोलमेच सम्मेलन' आयोजना गर्नुपर्ने माग गरे।
‘देशभित्रै देशलाई टुक्राउनु पर्छ भनेर विखण्डणकारी आवाज उठ्न थालेको छ। परम्परागत धर्म, संस्कृतिमाथि संगठित रुपले आक्रमण भइरहेको छ', अध्यक्ष थापाले भने, ‘सनातन हिन्दु, बौध र किरात धर्मलाई लक्षित गरेर योजनाबद्ध र संगठित रुपले लोभलालच देखाएर, भ्रम सृजना गरेर जर्वजस्ती धर्म परिर्वतन गराउने कार्य तीव्र रुपले भइरहेको छ। यस्तो कार्य निरन्तर रुपमा हुँदै जाने हो भन्ने नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने र अन्त्यमा देश धार्मिक द्वन्द्वमा फस्ने सक्ने खतरा देखिएको छ।'
उनका अनुसार ९४ प्रतिशत जनताको भावना र आस्थाको सम्मान गर्दै धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको पूर्णस्थापना हुनुपर्दछ। यात्राको माध्यमबाट देशको वर्तमान अवस्था र राप्रपाले उठाएका मागका बारेमा जनतालाई जागरुक तुल्याउने तथा चैत महिनाबाट थाल्ने जनसंघर्षका लागि महौल तयार गर्ने कार्य गरिरहेको उनले जानकारी गराए।
भ्रष्टाचारीलाई कारवाहीको माग
राप्रपा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने क्रममा २०४७ सालयता उच्च पदमा रहेका व्यक्तिहरुको सम्पति छानबीन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन्। अबैध रुपमा कमाएका सम्पतिहरु जफत गरिनुपर्ने उनले बताए।
एनसेल करछली प्रकरण, वाइडबडी जहाज खरिद काण्ड, सुन तस्करी लगायतका भ्रष्टाचारमा संग्लन भएका व्यक्तिहरुलाई कारवाही गरिनुपर्ने माग गरेको उनले बताए। राप्रपाले उठाएका मागहरु बारेमा सरकारपक्षबाट फाल्गुन मसान्तभित्र सकारात्मक रुपमा सम्बोधन नभएमा चैत महिनादेखि हिन्दुराष्ट्र पूर्णस्थापनाको मुख्य एजेण्डा लिएर देश व्यापी जनसंघर्ष गर्ने निर्णय गरेको उनले जानकारी गराए।
०६२÷०६३ मा भएको जन आन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने नाममा जे, जस्ता नीति र धारणाहरु अबलम्बन गरिए पनि त्यसको कार्यान्वयन त्रुटिपूर्ण भएकोले १२ वर्षसम्ममा जनताले परिवर्तनको अनुभुति गर्न नपाएका उनको भनाई छ। ‘गरिबी झनझन बढ्लै गएको छ, गरिब र धनीबीचको खाडल तीव्र रुपमा बढेको छ,’ उनले भने,‘देशभित्र समान्य रोजगारीको अवसर पनि सृजना हुन नसेको कारणले गर्दा ४० लाखभन्दा बढी युवाहरु विदेशिन बाध्य भएका छन्।’
मधेशबारे राप्रपाको धारणा
मधेशी जनताको अधिकार र पहिचानको निम्ति राप्रपा सधैँ प्रतिवद्ध रहेको अध्यक्ष थापाले बताए। ‘हाम्रो दृष्टिकोणमा मधेशका जनताको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, अशिक्षा र बेरोजगारी नै हो’, उनले भने।
आफू सरकारमा रहेको बेला भएको अनुसन्धानबाट कर्णाली प्रदेशका जनताभन्दा पनि मानवीय विकास सुचांकमा मधेशका जनता पछाडि रहेको उनले बताए।
मधेशका जनताको शिक्षा, स्वास्थ्य, रोजगारीलाई सहयोग पुर्याउ आफूले स्थानीय विकास मन्त्री भएको बेलामा यस क्षेत्रको विकासका निम्ति भारतसँग सीमा जोडिएको २० जिल्लामा विशेष आर्थिक विकास कार्यक्रमहरु सञ्चालन गराएका उनले बताए।
‘मधेशी जनताको राजनैतिक हक र अधिकारलाई सुरक्षित गर्ने क्रममा राज्यले विशेष रुपले ध्यान दिनुपर्दछ,’ उनले भने,‘राप्रपा त्यो पार्टीको हो, जो गणतन्त्र आउनुभन्दा अगाडि पनि बहुदलिय व्यवस्थाकै क्रममा नेपालको राष्ट्रिय राजनीतिमा काँग्रेस र एमालेकाभन्दा अगाडि मधेशका जनताहरुको पक्षमा विशेष व्यवस्थासहितको आरक्षण हुनुपर्दछ भनेर पहिलो पटक आवाज उठाएको थियो।’
२०५१ सालको चुनावी घोषणा पत्रमा नै मधेशका जनताका निम्ति विशेष आरक्षणका व्यवस्था हुनुपर्ने कुरा राप्रपाले उठाएको उनले स्मरण गराएका थिए। राप्रपा अन्य कुनै पनि पार्टीभन्दा मधेशी जनताको हक, अधिकारको विषयमा एक इन्च पनि पछाडि नपर्ने उनको भनाई थियो।
राप्रपा अध्यक्ष थापाले लहानमा राममन्दिरमा पूजा र मधेशी आन्दोलनमा सहादत प्राप्त गरेको प्रथम सहिद रमेश महतोको शालिकमा सहिदको प्रतिमामा फूल माला चढाएका थिए।