चिनियाँ लगानीमा ह्वासिन सिमेन्ट उद्योग
धादिङ : बेनीघाट रोराङ गाउँपालिका २ ताल्तीमा देशकै ठूलो सिमेन्ट उद्योग सञ्चालन हुने भएको छ । चिनियाँ लगानीमा बन्ने सिमेन्ट उद्योगको सभामुख कृष्णबहादुर महराले शुक्रबार शिलान्यास गरेका हुन् ।
दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग सन् २०२० को जनवरी सम्ममा निर्माण भइसक्ने कम्पनीले जानकारी दिएको छ । सरकार वैदेशिक लगानी भिœयाउन पहल गरिरहेका बेला चिनियाँ कम्पनी ह्वासिनले सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेको हो । नारायणी प्रालिले चिनियाँ र नेपाली लगानीकर्ताको ह्वासिन सिमेन्ट नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको हो । कम्पनीमा नेपाली लगानीकर्ताको प्रतिनिधित्व वैद्य गुप्रको तर्फबाट सुरज वैद्यले र चिनियाँ लगानीकर्ताको प्रतिनिधित्व हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको ह्वासिन सिमेन्ट नारायणी प्रालिका प्रतिनिधि तुलसीजंग थापाले जानकारी दिए ।
सभामुख महराले प्रशस्त स्रोतसाधन भएर पनि उद्योगको विकासमा नेपालले फड्को मार्न नसकेको बताए । नेपालको स्रोत साधनको भरपुर उपयोग गर्न विदेशी लगानी आवश्यक रहेको बताउँदै उनले भने, ‘विदेशी लगानी र नेपाली श्रम तथा सीप उपयोग गरेमा मात्रै आर्थिक समृद्धि सम्भव हुन्छ र मुलुकले आर्थिक विकासमा फड्को मार्न सक्छ ।’ उद्योगले स्थानीयलाई गर्न सक्ने सहयोग धेरै हुने भन्दै उनले पहिले उद्योगको विरोध गर्नेले १०÷१५ वर्षपछि पछि महत्व बुझ्ने बताए । उनले भने, ‘जुन ठाउँमा उद्योग कलकारखानाको विकास हुन्छ, त्यहाँका जनता सुखी र समृद्ध हुन्छन् ।’
सिमेन्ट उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गरेर उत्पादन गर्ने बताइएको छ । प्रत्यक्ष ३ सय जना र अप्रत्यक्ष एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीले जनाएको छ । पहिलोपटक नेपालमा टनेल खानी प्रविधिबाट सिमेन्ट उत्पादन र सबैभन्दा बढी वातावरणमैत्री हुने थापाको भनाइ छ । कम्पनी स्थापना गर्न १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी बोर्डले स्वीकृत गरिसकेको छ ।