नेपाल लिकर्सलाई अभूतपूर्व सफलता
काठमाडौं : नेपाल लिकर्स प्रालिले यसका सदस्य, बिक्रेता तथा शुभेच्छुकमाझ शनिबार पहिलो वार्षिकोत्सव मनाएको छ। पहिलो वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष युवा उद्यमी राजेशवीर सिंह तुलाधरले नेपाल लिकर्सलाई सफल बहुराष्ट्रिय कम्पनीको रूपमा विश्वभर चिनाउन सफल भएको बताए। युनाइटेड स्प्रिट्स इन्डियाको सम्पूर्ण सेयर स्वामित्व खरिद गरेर नेपाल लिकर्स प्रालिको स्थापना गरिएको हो।
सम्पूर्ण सेयर खरिद गरेसँगै युनाइटेड स्प्रिट्स नेपाल प्रालिले नेपाल लिकर्स कम्पनीका नामबाट एन्टिक्विटी (एन्टिक्विटी ब्लू र एन्टिक्विटी रेड), सिग्नेचर (सिग्नेचर प्रिमियम र सिग्नेचर रेयर), म्याकड्वेल्स नं. १ जस्ता लोकप्रिय ब्रान्डका ह्विस्की तथा ब्लू रिबान्ड जिन, गोल्डेन ग्रेप ब्रान्डीलगायत विभिन्न उत्पादन बजारमा बिक्री गर्दै आएको छ।
प्रथम वार्षिकोत्सवको अवसरमा नयाँ मोडलको ब्लू रिबान्ड जिन बजारमा ल्याएको घोषणा गरिएको छ। कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरले आफ्ना पिताको विरासतमा आफूले व्यवसाय सुरु गरेको भए पनि यसलाई विस्तार गर्दै कम्पनीको साखलाई उचाइ दिँदै लगेको बताए। उनले सफलताका महत्त्वपूर्ण तीन सूत्र धैर्यता, मेहनत र दृढता आफूले पिताबाट सिकेको बताउँदै आफ्नै पिताको रायअनुसार दीर्घकालीन सोच राखेर व्यावसायिक मैदानमा आएको बताए।
भविष्यमा कम्पनीलाई अझै गतिशील बनाउने आफ्नो योजना सुनाउँदै उनले साझेदार र सहकर्मीबाट निरन्तर सहयोगको अपेक्षा राखेको उल्लेख गरे। नेपाल लिकर्सको आधार उनका पिता भक्तवीर सिंह तुलनाधरले स्थापना गरेको नेपाल बेभरेज एन्ड फुड प्रडक्ट्स प्रा.लि. नामक कम्पनी नै हो। उनका पिताले यो कम्पनी २०३६ सालमा स्थापना गरेका थिए। नेपाल बेभरेज एन्ड फुड प्रडक्ट्स प्रा.लि. जुस, जाम, ससलगायत उत्पादनका साथै गोल्डेन ग्रेप ब्रान्डी र ब्यागपाइपर ह्विस्की बिक्री गर्दै आएको थियो। म्याकड्वेल्स प्रिमियम माल्ट ह्विस्की भने २०६१ सालदेखि बजारमा ल्याइएको हो। चार दशकमा उनको व्यावसायिक विरासतले विस्तारित रूप लिएकोमा स्वर्गीय भक्तवीर सिंह तुलाधरकी धर्मपत्नी लक्ष्मीदेवी तुलाधर हर्षित छिन्। भक्तवीर सिंह तुलाधरले सुरु गरेको व्यवसाय दोस्रो पुस्ताको काँधमा थप उचाइ लिइरहेको छ। पहिलो वार्षिकोत्सव समारोहमा भक्तवीरका नाति पुस्ताका अविनेश तुलाधरले आफ्ना हजुरबुबालाई सम्झँदै उनकै चाहनाअनुसार कम्पनीलाई उचाइ दिलाउँदै लगेकोमा आफ्ना बाबु राजेशवीर सिंह तुलाधरलाई आफ्नो मन्तव्यका क्रममा पटक–पटक धन्यवाद दिए।
स्वर्गीय भक्तवीर सिंह तुलाधरले बेभरेज तथा खाद्य वस्तुसँगै पर्यटन व्यवसायमा संलग्न थिए। उनी आफ्नो जमानाका गिनेचुनेका समाजसेवी हुन् भने रानीपोखरी कर्नर टिम (आरसीटी) क्लबका संस्थापक समेत थिए। अहिले नेपाल लिकर्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को प्रिमियम ब्रान्ड सिग्नेचर ह्विस्कीले मनाङ मस्र्याङ्दी क्लबलाई प्रायोजनसमेत गर्दै आएको छ। सिग्नेचर ह्विस्कीका तर्फबाटै २०६९ मा चर्चित गायक ब्रायन आडम्सलाई काठमाडौं ल्याएर कन्सर्टको आयोजना गरिएको थियो। अध्यक्ष तुलनाधरले यस्ता कार्यक्रमलाई कम्पनीले नियमित रूपमै सहयोग गरिरहेको बताए। त्यस्तै, सिग्नेचरले यसै वर्ष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितालाई प्रायोजन गरेको छ।
कार्यक्रममा ब्रान्डिङका महाप्रबन्धक ओनिश राजबहाकले नेपाल लिकर्सको पहिलो एक वर्षमा सिग्नेचर प्रिमियम ह्विस्कीको बिक्रीमा ६१ प्रतिशत, सिग्नेचर रेयर ह्विस्कीको २५ प्रतिशत तथा म्याकड्वेल्स नं. १ ह्विस्कीको १४ प्रतिशतले बजार विस्तार भएको जानकारी दिए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा स्वर्गीय भक्तवीर सिंह तुलाधरकी धर्मपत्नी लक्ष्मीदेवी तुलाधरलगायत विशेष उपस्थितिमा नेपाल लिकर्स परिवारले पहिलो वर्षगाँठ मनाएको थियो।
कार्यक्रममा क्षेत्रीय बिक्रेतालाई सम्मानित गरिएको थियो। क्षेत्रीय बिक्रेतामा युविशा सप्लायर्सका पूर्णबहादुर शेरचन, आरएनआर इम्पोरियमका राजेन्द्र महर्जन, त्रिदेवी इन्टरनेसनलका पुस्कर रिजाल, जस्मी ट्रेडर्सका मानशिभ साह तथा हिमाल स्टोरका गोपाल चापागाईंलाई सम्मान गरिएको थियो। त्यस्तै, अविनेश ट्रेड लिंकका सरोज अमात्य पनि सम्मानित भएका छन्। नेपाल लिकर्सको सेल्स टीमबाट दीपक न्यौपाने, निरज श्रेष्ठ, चेतन धामी, सुदन श्रेष्ठ तथा बद्री चौलागाईं सम्मानित भएका छन्।