धावनमार्ग जीर्णोद्वार : उडान व्यवस्थापन चुनौतीपूर्ण
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ।
जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार यसका कारण रातिको समयमा हुने अन्तर्राष्ट्रिय र बिहानको समयमा हुने आन्तरिक उडान प्रभावित हुनेछन्। यो समयको उडान बिहान ८ बजेदेखि बेलुकी १० बजेभित्रै व्यवस्थापन मिलाउने काम भइरहेको छ। महाप्रबन्धक क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडानमा सातवटा वायुसेवाका करिब एक दर्जन उडानलाई दिउँसोको समयमा मिलाउन आग्रह गरिसकिएको छ।
हाल रातिको समयमा काठमाडौं उडान गर्ने वायुसेवामा कतारले राति १ बजे, क्याथे प्यासिफक १० बजे, चाइना साउदर्न १० बजे, वायुसेवा निगम पौने १२ बजे, जेट एयर ११ बजे, मलेसियन एयर साढे १० बजे, मालिन्दो एयर पौने १० बजे र टर्किस एयरले बिहान ८ बजे उडान गरिरहेका छन्। काठमाडौं आएका अन्तर्राष्ट्रिय वायुसेवा यात्रु ओराल्ने र राख्ने गरेर एक÷डेढ घण्टाभित्रै फर्किहाल्छन्। कुनैकुनै वायुसेवा भने राति आएर भोलिपल्ट बिहान उडान गर्ने गरेका छन्।
रनवे मर्मतको समयमा हुने सबै उडानलाई आफ्नो अनुकूलको समयमा गर्न तीन महिना अगाडि नै सूचना दिएको प्राधिकरणका उपनिर्देशक सीताराम भण्डारीले बताए। उनका अनुसार आन्तरिक उडानमा पनि करिब ४० देखि ४५ वटा उडान बिहान ६ देखि ८ बजेभित्रै हुने गरेको छ। आन्तरिक वायुसेवाका अधिकांश बिहानको उडान माउन्टेन फ्लाइट, लुक्ला र सहरी क्षेत्रका (हब) विमानस्थतर्फ हुने गरेको छ। अधिकांश वायुसेवाले आफ्नो पहिलो आवरको उडानलाई प्राथमिकता दिने गर्छन्। यो समयमा हुने चापले उडान व्यवस्थापन गर्न कठिन भए पनि मिलाउनैपर्ने बाध्यता रहेको भण्डारी बताउँछन्।
‘धावनमार्ग मर्मत गर्नैपर्नेछ। केही समय हुने असहजताले सधैंलाई सहज हुन्छ भने सहनुपर्ने हुन्छ’, भण्डारीले भने। यसका निम्ति सबै वायुसेवालाई उडान व्यवस्थापन बिहान ८ बजेपछिलाई मिलाउन सूचना दिइसकिएको छ। वायुसेवा कम्पनीले आफूले गर्ने उडान तालिका तीन महिना अगाडि नै स्वीकृत गराउनुपर्ने नियम पनि प्राधिकरणको छ। सोही नियमअनुसार सबै वायुसेवाले आफूले गर्ने उडान स्वीकृत गराएका छन्।
अहिले पर्यटनको अफ सिजन भएकाले तुलनात्मक रूपमा करिब २० प्रतिशतसम्मले उडान कम हुने गरेको छ। पर्यटक कम आउने भए पनि उसै पनि आन्तरिक वायुसेवाले उडान तालिका घटाएका हुन्छन्। सोही तालिकामा बिहानै ६ बजे नै हुने उडानलाई ८ बजेपछि राख्ने व्यवस्था मिलाउने हो। आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवाको पिक आवरको उडान १० देखि ३ बजेसम्म हुने गरेको छ। पछिल्लो समय प्राधिकरणले विभिन्न ६ वटा विमानस्थमा रात्रि उडान सुविधा दिएकोले साँझपख पनि सहजै आन्तरिक उडान हुन सक्छ। त्यसैले उडान व्यवस्थापन मिलाउन सकिने प्राधिकरणको भनाइ छ।
धावनमार्ग जीर्णोद्वारका निम्ति प्राधिकरणले ‘चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन’ लाई जिम्मासमेत दिइरहेको छ। यो कम्पनीले निर्माण सामग्री जम्मा गर्ने काम गरिरहेको छ। निर्माण कम्पनीले करिब ७० प्रतिशत निर्माण सामग्री तयार पारेपछि धावनमार्गको काम सुरु गर्ने जानकारी प्राधिकरणले दिएको छ।
त्रिभुवन विमानस्थल सञ्चालनमा आएदेखि नै धावनमार्ग पूर्णरूपमा जीर्णोद्वार भएको छैन। पटकपटक धावनमार्गको माथिल्लो भाग कालोपत्रे गर्ने र सामान्य मर्मत मात्रै हुने गरेकामा पहिलोपटक पूरै जीर्णोद्वार गर्न लागिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। प्राधिकरणले पाँच वर्ष अगाडि विमानस्थल विकासका नाममा हरेक अन्तर्राष्ट्रिय उडानका यात्रुबाट एक हजार रुपैयाँ संकलन गर्दै आएको छ। सोही रकम प्रयोग गरेर प्राधिकरणले धावनमार्ग मर्मत गर्न लागेको जानकारी दिएको छ। प्राधिकरणका अनुसार यात्रुको सुविधामा र विमानस्थल विकास तथा स्तारोन्नतिका काममा प्रयोग गर्न पाइने भएकाले सोहीअनुसार खर्च व्यवस्थापन मिलाएको छ। प्राधिकणले धानवमार्ग मर्मतमा करिब सवा चार अर्ब रुपैयाँ खर्च गर्दै छ।
यो विमानस्थललाई सरकारले वैशाख १ गते बुटिक विमानस्थल बनाउने उद्घोष पनि गर्दै छ। विमानस्थल सफाइदेखि टेन्डर निकाल्ने, रंगरोगन गर्ने र आन्तरिक सजावटको काम गर्ने, विमास्थलमा रहेको पार्किङ व्यवस्थित गर्ने काम बुटिक विमानस्थलकै लागि भएको उल्लेख छ।
यो विमानस्थल सुधार गरेर बुटिक बनाउन तयारीस्वरूप प्राधिकरण सञ्चालक समितिले साढे आठ करोड रुपैयाँको बजेट पनि तय गरेको छ। प्राधिकरणको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने यो बजेट विमानस्थल सुधारकै क्रममा खर्च हुने उल्लेख छ।
त्रिभुवन विमानस्थलका इन्जिनियर महाशाखाका निमित्त प्रमुख चन्द्रमणि सापकोटाका अनुसार बुटिक विमानस्थल घोषणाको निम्ति अहिलेबाटै काम गर्न सुरु गरिएको छ। प्राधिकरणले रंगरोगन, सौन्दर्यीकरण, पुरानो डिजाइनमा नमिलेका संरचना हटाएर नयाँ बनाउने, ऐतिहासिक र पुरातात्विक झल्को दिने काम गर्ने, मूर्ति राख्नेसहितको काम गरेर बुटिक विमानस्थल बनाउने घोषणाको कार्यक्रम तय गरिसकेको सापकोटाले जानकारी दिए।