दार्चुला जीप दुर्घटना : एकै घरका तीनको मृत्यु

दार्चुला जीप दुर्घटना : एकै घरका तीनको मृत्यु

दार्चुला : निर्माणाधीन महाकाली करिडोरको राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भयो। एउटै घरका धनबहादुर बम, धाना र गोमती गरी ३ जनाको मृत्यु भएको छ। जिपचालक सिकिस्त छन्।

नाताले काकी, भतिजा र भतिजी पर्ने पीपलचौरी बिणका उनीहरू जिल्ला सदरमुकाम खलंगा दार्चुलामा मामाको छोराको बिहेमा फागुन १४ गते घरबाट निस्केका थिए। ‘हिजो २ बजेसम्म सदरमुकाम खलंगामै बसेर बिहेको पार्टीमा रमाएका तीनै जनाको एकाएक दुर्घटनामा मृत्यु भएको खबर सुन्दा मन थाम्न सकिएन’, उनीहरूका आफन्त जनकबहादरु बमले भने, ‘मैले अबेर भैसक्यो अब गाडी पनि पाइँदैन यतै रमाइलो गरौं भन्दा घरमा पनि आफन्त आएका छन् भनेर भतिजा धनबहादुरले भनेको नमान्दा दुर्घटनामा परे।’

धनबहादुरका ९८ बर्से बाजेले काल पनि मान्छे हेरेर आउने बताए। ‘कालले पनि मलाई लगेन। मेरा त्यस्ता भर्भराउँदा नाति, नातिनि लग्नुभन्दा त मलाई लगेको भए हुन्थ्यो’, उनले भने, ‘दिउँसै रात पर्‍यो, आस र भरोसको एउटै फूल थियो त्यो पनि दैबले खोसेर लग्यो।’ मामाघरबाट कोसेलीपात बोकेर दिदी आउँछिन् भनेर पर्खेर बसेको धानाको भाइ पनि दुर्घटनापछि रोइरहेको जनकबहादुरले बताए।

दुर्घटनामा अर्को परिवारका बाबु छोरीको मृत्यु भएको छ। कल्यानसिंह बडाल र उनकी छोरी निर्मलाको जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नागरिकता बनाएर घर फर्किँदा मृत्यु भयो। गौरीलमान्डु हिकीलामा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया निर्मला र सोही विद्यालयको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहेका बुवा कल्यानको अकालमै ज्यान गएको गौरीलमान्डु हिकीलाका प्रधानाध्यापक केशवदत्त बडूले बताए। ‘एक होनहार छात्रा गुमाउँदाको पीडा अर्कै हुँदो रहेछ’, उनले भने, ‘अनुशासित निर्मलालाई विद्यालयले सधैं सम्झिरहने छ।’ अध्यक्ष बडाल र छोरी निर्मलाको शोकमा आइतबार विद्यालय बन्द रहने उनले जानकारी दिए।

कसरी भयो दुर्घटना ?

ट्र्याक मात्र खुलेको राताकाठा क्षेत्रमा जिप चलाउने अनुमति थिएन। ट्र्याक मात्र खुलेकाले अन्य क्षेत्रमा पनि सार्वजनिक यातायात चलाउने अनुमति नदिइएको दार्चुला–तिंकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखालाले जानकारी दिए। खलंगाबाट श्रीबगडसम्म र राताकाठाको पल्लो क्षेत्रबाट हिकिलासम्म जिप चल्ने गरेको उनले बताए। तर १७ गते राति म १ ज २८० नम्बरको जिप अनुमति नभएको क्षेत्रमा चलाइएको र जिप उकालो चढ्न नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ।

जिप व्यवसायीको दादागिरि

प्रशासन र प्रहरीको आँखा छलेर जिप व्यवसायीले यो क्षेत्रमा जिप चलाउने गरेका छन्। ‘जिपधनीलाई यसरी जिप चलाउनु हुन्न भन्दा हामीले लाखौं खर्च गरेका छौं, ब्याज तिर्नु पर्छ, गाडी नचलाए कसरी तिर्ने भन्छन्’, एक प्रहरी अधिकारीले भने। दुई महिनाअघि प्रहरीले जिपका पछाडि राखिएका अवैध सिट हटायो। ५ यात्रु बोक्ने अनुमति पाएका बोलेरोले १२–१६ जनासम्म लैजाने गुनासो आएपछि प्रहरीले त्यसो गरेको थियो। जिप व्यवसायीले पहिले त सिट निकाल्नै मानेनन्। प्रहरी आफैंले ती सिट हटाएपछि बुकिङ् भन्दै उनीहरूले तेब्बर भाडा लिन थाले।

सिट हटाउँदा सरकारले आफ्नो व्यवसाय धरासयी बनाउन खोजेको आरोप जिप व्यवसायीले लगाए। जिप व्यवसायीले बुकिङ् भन्दै तेब्बर भाडा लिन थालेपछि चौतर्फी विरोध भयो। ५ जनाभन्दा बढी यात्रु बोक्न नपाइने प्रावधान र जनप्रतिनिधिको जसरी पनि समस्या समाधान गर्नुपर्ने दबाबबीच माघ १५ गते सर्व पक्षीय बैठक बस्यो। तत्कालीन सीडीओ खुमकान्त आचार्यको अध्यक्षतामा बोलाइएको बैठकमा जिप व्यवसायीले पुरानै अडान दोहोर्‍याए। ६ बुँदे सहमति भयो। सहमतिको पहिलो बुँदा अनुसार कुनै पनि यात्रुवाहक साधन दुर्घटना हुन गए त्यसमा सवार सम्पूर्ण यात्रुको क्षतिपूर्ति एवं उपचारखर्च सम्बन्धित यातायात कम्पनी र समितिले बेहोर्नुपर्ने’ उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.