नगरपालिकामा दुई महिनादेखि तालाबन्दी
मलंगवा : जनप्रतिनिधिबीच विवादले सर्लाहीको बलरा नगरपालिकामा पुष ४ गते लगाइएको ताला अझै खुलेको छैन। नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षबीच असमझदारीका कारण तालाबन्दी खुल्न नसकेको हो। तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ। सेवाग्राही मारमा छन्। वृद्धवृद्धा, अपाङ्ग, एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैन। शिक्षकले तलब खान पाएका छैन भने विकास निर्माणका योजना पनि ठप्प छन्।
उपप्रमुख रामसखी देवीलगायत वडाध्यक्षहरुले पत्रकार सम्मेलन गरी नगरप्रमुखको कार्यशैलीप्रति आपत्ती जनाएका छन्। नगरप्रमुखकका कारण कार्यालयमा तालाबन्दी गर्नु परेको आरोप उपप्रमुख देवीले लगाएकी छन्। ‘कुनै पनि काम गर्दा एकलौटी ढंगले नगरप्रमुखले निर्णय गर्ने गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गरेका हौं’, उपप्रमुख देवीले भनिन्, ‘। नगरप्रमुखले मलाई केही जानकारी दिनुहुन्न। आफु खुशी निर्णय गरेर हस्ताक्षर गर्न भन्नुहुन्छ। ’
बलरा नगरपालिका–८ का वडाध्यक्ष रवीकुमार साहले नगरप्रमुख अभयकुमार सिंहले नगरपालिका एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाएका छन्। उपप्रमुख र वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका अधिकार प्रयोगगरी काम गर्न नदिएको उनको आरोप छ। उनका अनुसार कर्मचारीमा त्रास सिर्जना भएको छ।
लामो समय कार्यालयमा तालाबन्दी हँुदा पनि नगरप्रमुखले वास्ता नगरेकाले कर्मचारी तलब भत्ताबाट बञ्चित बनेका छन्। ‘ताला खुलाउन कार्यपालिका बैठक बोलाउनुस् भन्दा मेयरसाब मान्नु हुन्न्’, वडाध्यक्ष साहले भने, ‘बरु उल्टै आफ्नो अनियमितता ढाकछोप गर्न केही कर्मचारीसँग मिलेर काम गर्नु हुन्छ। ’
सडक तथा चापाकल निर्माण, सवारीसाधन र खानेपानी प्रयोग लगायत शीर्षकमा नगरप्रमुखले फर्जी बील बनाइ बजेट अनियमितता गरेको, नगरपालिकाकै प्रांगणमा राष्ट्रिय वाणिज्य बैंक हुँदाहुँदै सदरमुकाम मलङ्गवास्थित नेपाल बैंकबाट कारोवार गरी रकम हिनामिना गरेको आरोप लगाइएको छ। नगरपालिकामा उपसचिव स्तरका कर्मचारीको दरबन्दी हुँदाहुँदै त्यो स्तरका कर्मचारीलाई सरुवा गरी आफु निकटका कर्मचारीलाई निमित्त बनाएर नगरप्रमुखले काम गर्दै आएको वडाध्यक्षहरुले आरोप लगाएका छन्।
उपप्रमुख र वडाध्यक्षहरुले विवाद समाधान गरिदिन पटक–पटक जिल्ला प्रशासन कार्यालय मलङ्गवामा डेलिगेसन आएका छन्। तर नगरप्रमुख सिंहले आफू स्थानीय तहको प्रमुख भएकाले प्रमुख जिल्ला अधिकारीले बोलाएको छलफलमा आउन अस्वीकार गर्दै आएका छन्।
नगरप्रमुख सिंहले बलरामा कागे्रस आतंकका कारण समस्या सिर्जना भएको दावी गरेका छन्। ‘बलरामा २० वर्षदेखि कागे्रस आतंक कसैले तोड्न सकेन्’, उनले भने, ‘उपप्रमुख र वडाध्यक्षको कुनै अधिकारको कटौति भएको छैन। यदी त्यस्तो लाग्छ भने मेरो अगाडि आएर भन्नुपर्छ। ’ नगरप्रमुख सिंहले झुठा मुद्धा लगाएर आफुलाई बदनाम गराउन केही वडाध्यक्ष लागि परेको दावी पनि गरेका छन्।