मन्त्रीको बलमा समाज कल्याणको कोठा एनजीओलाई भाडामा
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपस्थित समाज कल्याण परिषदन्तर्गतको अपांग कोषका दुईवटा कोठा बिनाप्रतिस्पर्धा आफू निकटका गैरसरकारी संस्था (एनजिओ) लाई भाडामा दिएकी छन् ।
परिषदन्तर्गतको कोषले एक दशकअगाडिदेखि प्रयोग गर्दै आएका एउटा कोठा बहिरा महासंघ र अर्काे कोठा फोटो पत्रकार संघलाई दिइएको छ । बहिरा महासंघसँग मासिक २३ हजार र फोटो पत्रकार संघसँग १९ हजार रुपैयाँ लिने गरी मन्त्री थापाले बिनाप्रतिस्पर्धा कार्य सञ्चालन समितिको निर्णयबाट भाडामा दिएकी हुन् ।
बहिरा महासंघका केपी अधिकारी नेकपाका कार्यकर्ता र मन्त्रीको गृहजिल्ला म्यादीका हुन् । उनकै पहुँचका आधारमा भाडामा दिइएको स्रोतले बतायो । फोटो पत्रकार संघले मन्त्रीलाई प्रभावमा पारेर भाडामा लिएको हो ।
परिषद्का कोठा ३६ रुपैयाँ स्क्वायर फिटका दरमा ती संस्थालाई मासिक भाडामा दिइएको हो । यो भाडादर पाँच वर्षअगाडिको हो । त्यसयता भाडादर बढेको छैन ।
परिषद्को जग्गा वा भवन खाली भएको अवस्थामा निवदेन लिएर बढाबढबाट र कार्य सञ्चालन समितिको सीधै निर्णयबाट भाडामा दिइँदै आएको छ । ‘भृकुटीमण्डपका ती भवन आफ्नै संस्थाले प्रयोग गरिरहेको अवस्थामा बिनाप्रतिस्पर्धा आफू निकटका व्यक्तिलाई दिइयो’, परिषद् स्रोतले भन्यो । कार्य सञ्चालन समितिको तेस्रो पटकसम्मको बैठकबाट निर्णय गरी मन्त्री थापाले ती कोठा खाली गराएकी थिइन् ।
समितिमा परिषद्को अध्यक्षमा मन्त्री तथा सदस्यहरूमा परिषद्का उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिव रहने व्यवस्था छ । भृकुटीमण्डपभित्रको जग्गा र त्यहाँका भवन भाडाकालागि अधिकतम माग हुने गर्दछ । मन्त्रीको यस्तो निर्णयबाट परिषद्का कर्मचारी पनि चकित छन् । ‘टेन्डर प्रक्रिया अपनाई पारदर्शी हिसाबले संस्थालाई लाभ पुग्ने गरी भाडामा दिनुपर्ने हो । यहाँ मन्त्रीको स्वार्थ स्पष्ट देखियो’, परिषद्का एक उच्च अधिकारीले भने ।
भृकुटीमण्डपमा रहेको जग्गा र भवन भाडामा दिँदा परिषद्का पदाधिकारी तथा मन्त्री यसअघि पनि अनियमिततामा मुछिएका छन् । गत भदौमा परिषद्भित्र भएका अनियमितताबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनले समेतपरि परिषद्को भृकुटीमण्डपस्थित भौतिक सम्पत्तिको सदुपयोग हुन नसकेको आंैल्याएको छ । पदाधिकारीकै कारण भृकुटीमण्डपको समग्र व्यवस्थापन अलपत्र परेको र भाडा असुली गर्न पहल नगरेकाले बक्यौता बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
परिषद् कार्यालय अब पुल्चोकमा
लैनचौरमा रहेको समाज कल्याण परिषद्को कार्यालय बुधबारदेखि पुल्चोकमा सर्ने भएको छ । सरकारले परिषद्को जग्गा र भवन उपराष्ट्रपति निवास र कार्यालयका लागि प्रयोग गर्ने भएपछि परिषद्को कार्यालय सार्न लागिएको परिषद्का प्रवक्ता हरि तिवारी जानकारी दिए । परिषद्ले पुल्चोकस्थित केन्द्रीय बालकल्याण समितिको भवनबाट कामकाज सुरु गर्नेछ । काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित कित्ता नम्बर १९० को २८ रोपनी १४ आना जग्गामा रहेको परिषद्को भवन र खाली जग्गामा गत भदौ २१ को मन्त्रिपरिषद्ले उपराष्ट्रपति कार्यालय र आवास बनाउने निर्णय गरेको थियो ।
भवन र जग्गा उपराष्ट्रपतिलाई दिने सरकारी निर्णयको विरोधमा परिषद्का कर्मचारी आन्दोलनमा उत्रिएका थिए । अल्पकालीन रूपमा बालकल्याण समितिको भवनबाट कार्यालय सञ्चालन गर्ने र सरकारले छिट्टै परिषद्कै जग्गामा भवन बनाइदिने सम्झौता भएपछि आन्दोलन स्थगित भएको थियो ।