विदेशी कलाकारले भने : नेपाल जस्तो देश विश्वमै छैन, संस्कृति बचाउनुस्
बागलुङ : रिमझिम बर्षा, हिलाम्य सडक, उस्तै चिसो मौसम । तर, दुर्लभ खचाखच हुने कालीगण्डकी चलचित्र मन्दिरको सभाहल पुरै भरिभराऊ । विभिन्न १० देशबाट आएका कलाकारको लामो सडक यात्रा पश्चातको सकसपूर्ण उपस्थिति । एकै छिनमा चलचित्रको दृश्यमा जस्तो जादुमयी बदलाव । सांगीतिक प्रस्तुति सुरु भएपछि न दर्शकलाई चिसोको अनुभूति, न कलाकारलाई जोखिमपूर्ण सडक यात्रा सकसको आभाष ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बागलुङको आयोजनामा भएको ‘नेपाली संस्कृति विदेशी’ शीर्षकको कार्यक्रमले फरक रौनक ल्यायो । विभिन्न १० देशका ३० अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहेको नाटकसहितको चार घण्टाको कार्यक्रमले दर्शकको मन जित्यो ।
विदेशी भएर पनि नेपाली भाषा, भेष र संस्कृतिमा गरिएको प्रस्तुतिले सुरुदेखि अन्त्यसम्म प्रशंसा पायो । भेदा नामक अन्तराष्ट्रिय सांस्कृतिक समूहको समन्वयमा रसिया, युक्रेन, अमेरिका, हंगेरी, पोल्याण्ड ,बंगलादेश, भारत, नेपाल र अफगानिस्तानका कलाकारले गीतसँगै नाच र नाटक प्रस्तुत गरेका थिए ।
विभिन्न देशको प्रस्तुति हेरेपछि धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक गोविन्द गौतमले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट कार्यक्रम हेर्ने अवसर प्राप्त भएकोमा खुशी प्रकट गरे । रसियन पूर्व सैनिक अधिकृत रहेका प्राध्यापक डा. इगोर ओभलोङकोभ पत्री दासले नेपाली संस्कृति अमूल्य सम्पत्तिका रुपमा रहे पनि नेपालीले नजिकको तीर्थ हेला जस्तो गरेको गुनासो गरे ।
नेपाली भाषामै पुराना उखान टुक्कासहित मञ्चमा भजन गाउन उत्रिएका उनले विदेशीलेसमेत वैदिक संस्कृति अँगालिरहदा नेपालीले आफ्नो मौलिकतासहितको संस्कृतिबारे प्रचार गर्न हिच्किचाउने गरेको बताए ।
‘रेल स्टेशनको नजिकै घर थियो, मलाई छोड्न एक साथी आएको थियो, रेल हिँड्न लागेकाले उ आत्तिँदै रेल चढ्यो, म स्टेशन पुग्दै थियो, रेल हिड्यो,’ प्रभू पत्री दासले उदाहरण दिँदै भने, ‘आखिरमा जानुपर्ने म छुटे, नजानु पर्ने साथी रेलमा गयो ।’ अहिले नेपाली संस्कृति यस्तै अवस्थामा पुगेको उनको दावी थियो ।
विदेशी कलाकारले नेपाली झण्डा उचाली राष्ट्रिय गानसहित नेपालको सम्मान गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा ३ वटा पूर्वीय दर्शनसँग सम्बन्धी नाटक, १३ वटा नृत्य र ४ वटा गीत र संक्षिप्त प्रवचन गरिएको थियो ।
नेपाल जस्तो सु–संस्कृत देश दुनियाँमै पाउन मुस्किल भएपनि पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकाले नेपालीलाई आफ्नो संस्कार संस्कृतिको संरक्षणका लागि जागरण पैदा गर्न कार्यक्रम गरिएको ईस्कोन बागलुङका प्रमुख परमेश्वर अच्युतकृष्ण दासले बताए ।