पक्की भवनमा पढ्न पाउँदा खुसीयाली
डोटी : 'हाम्रो विद्यालय त भूकम्पले भत्काएको जस्तो थियो। विद्यालय आफै भूकम्पपीडित जस्तो थियो, अब भूकम्प प्रतिरोधी भएको छ, धेरै खुशी लाग्यो।' सायल गाउँपालिका-२ सिर्मामा रहेको तामेश्वरी आधारभूत विद्यालयकी अभिभावक निर्मला ओलीले विद्यालय प्रांगणमा भूकम्प प्रतिरोधी भवन र शौचालय बनेपछि यसरी खुशी व्यक्त गरेकी हुन्।उनले भनिन् 'छाना भत्किरहेको थियो, झ्याल ढोकाहरु सबै सडेका थिए, छोराछोरी विद्यालय पठाउनै डर लाग्थ्यो तर अब कुनै ढुक्क भइयो।'
कक्षा ८ सम्म पढाइ हुने तामेश्वरी आधारभूत विद्यालयमा रहेका भवनहरु जीर्ण बन्दै गएपछि पठनपाठनमा समस्या भएको बताउँदै विद्यालयका प्रधानाध्यापक गोमा खातीले भवनहरु मर्मत पछि सहज हुने बताइन्। उनले भनिन्, ' विद्यालय स्थानीय स्रोतबाट चलिरहेको छ, स्थानीय स्रोतबाट शिक्षकको तलब जुटाउन पनि धौधौ भएको छ, त्यसैले जीर्ण हुँदा पनि भवन मर्मत गर्न सकेका थिएनौं।'
भवनको छाना भत्किएकाले कोठाभित्रै जान डर लाग्ने गरेको विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष प्रमोद ओलीले बताए। उनी भन्छन्, 'पानी परेको दिन धेरै समस्या हुने गरेको थियो, बाहिर बसौं पानीले भिजाउला भन्ने डर, भित्र बसौं भत्किने डर ।'
तर भवनको मर्मत भएपछि सबै विद्यार्थी खुशी रहेको प्रमोदले बताए। विद्यालय भवन निर्माण भएपछि पठनपाठनमा निकै सहज भएको बताउँछिन् कक्षा ८ की छात्रा गोमाकुँवर। विद्यालय भवनहरु निर्माण भएपछि आफूलाई निकै खुसी लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष जसुवा ओलीले बताइन्।। उनी भन्छन्, 'अझै विद्यार्थी संख्याको आधारमा त कोठा संख्या पुग्दैन तर विगतको जस्तो विद्यालय भत्किने समस्या कम भयो।'
सामुदायिक विकास केन्द्र नामक गैर सरकारी संस्थाद्वारा संचालित समुदाय र विद्यालयपूर्व तयारी तथा उत्थानशील परियोजनाअन्तर्गत विद्यालयका तीन जीर्ण भवन भूकम्प प्रतिरोधी (रेक्टो फिटिङ्ग) सहित पुनर्निर्माण गरिएको हो। 'हामीले भवनको साथसाथै विद्यालयमा भूकम्प प्रतिरोधी शौचालय समेत निर्माण गरेका छौं' संस्थाका कार्यक्रम संयोजक प्रयाग कापडीले भने, 'उक्त कार्यमा करीब ६० लाख २७ हजार खर्च भएको छ।'भवन निर्माण भएपछि ढुक्कसँग पठनपाठन भइरहेको प्रधानाध्यापक गोमा खातीले बताइन्।