समृद्ध नेपालका लागि वीरगन्जमा महायज्ञ
वीरगन्ज : मुलुकको समृद्धिका लागि वीरगन्जमा अश्वमेध गायत्री महायज्ञ आयोजना गरिएको छ। आदर्शनगर रंगशालामा आइतवारदेखि चार दिने अश्वमेध गायत्री महायज्ञ सुरु भएको हो।
महायज्ञको उद्घाटन गर्दै अखिल विश्व गायत्री परिवारका अध्यक्ष एंव देव संस्कृति विश्वविधालय हरिद्वार भारतका कुलाधिपति डाक्टर प्रणव पाण्डेयाले नेपालको समृद्धिका लागि यो महायज्ञको आयोजना भएको बताए। ‘यो अश्वमेध महायज्ञपछि नेपालमा एक किसिमको सकरात्मक परिवर्तन आउने निश्चित छ’ उनले भने,‘अरुको कुभलो र गलत सोच्ने, गलत काम गर्नेहरुको संख्यामा कमी आउँछ, सकरात्मक सोच राख्नेहरुको संख्यामा वृद्धि हुन्छ।’
उद्घाटन समारोहलाइ सम्बोधन गर्दै महायज्ञ आयोजक समितिका अध्यक्ष एंव एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले विश्वमै तपोभूमी र ऋषिमुनिको भस्मी भनेर चिनिने नेपालको पवित्र भूमिमा पहिलो पटक अश्वमेध महायज्ञ आयोजना गर्न पाउदा आफुले निक्कै गौरवान्वीत महसुस गरिरहेको बताए।‘नेपाल, आर्थिक रुपमा केही कमजोर मुलुक हो तर संस्कृति र संस्कारमा भने नेपाल विश्वमै धनी छ’ उनले भने,‘नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य, प्राप्तिमा अश्वमेध महायज्ञ सहयोगीको भूमीका खेल्ने विश्वास लिएको छु।'
महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको थियो। तर, बुधबार बिहान काठमाडौंको मौसम बिग्रिएका कारण हेलिकप्टर आउन नसकेपछि महायज्ञको उद्घाटन डाक्टर प्रणव पाण्डेयाले गरे। उद्घाटनअघि वीरगन्ज महानगरमा हजारौंको सहभागीतामा भव्य कलश यात्रा निकालिएको थियो।
वीरगन्ज महानगरका ३२ वटै वडाबाट निकालिएको कलश यात्रा महायज्ञ आयोजनास्थल आदर्शनर रंगशालामा पुगेर सकिएको थियो। आयोजकका अनुसार कलशयात्रामा करिब ६ हजार कन्या तथा १० हजार महिलागरी १५ हजारको सहभागिता थियो। महायज्ञको औपचारिक उद्घाटन आज भएपनि देवपूजन र हवन भने सोमबार विहानदेखि मात्र सुरु हुने आयोजकले जनाएको छ।
महायज्ञ स्थलमा निर्माण गरिएका दुइ सय ५१ वटा हवन कुण्डमा सोमबार बिहान आठ बजे देखि मध्यान्ह १२ बजे सम्म मु्ख्य यजमानहरुले देवपूजन र हवन गर्नेछन्। त्यसपछि मात्र सर्वसाधरणका लागि देवपूजन र हवन खुल्ला गरिने महायज्ञ आयोजक अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्तिपिठ वीरगन्जका संयोजक वीजय सरावगीले जानकारी दिए।
उनका अनुसार , महायज्ञमा सोमबार साँझ साढे पाच बजे देखि सत्संग, प्रवचन र सांस्कृतिक कार्यक्रम , २१ गते मंगलवार बिहान आठ बजे देखि यज्ञ एंव षडष संंस्कार र साँझ एक लाख एक दियोबाट भव्य दिप महायज्ञ गरिनेछ ।महायज्ञको अन्तिम दिन २२ गते बुधबार बिहान आठ बजे देखि यज्ञ , षोडष संंस्कार र महापूर्णाहुति गरिएपछि बिहान ११ बजे सम्म पुजन र हवन चल्ने तथा त्यहि दिन अपरान्ह विधीवत रुपमा महायज्ञको समापन गरिनेछ ।