सेना दिवस, शिवरात्री र संवेदनशीलता

सेना दिवस, शिवरात्री र संवेदनशीलता

सैनिक नेतृत्व सबल, सक्षम अनि संगठनको र राष्ट्र हितमा परिपक्क–कटिबद्ध हुँदासम्म संगठनको दृढताले निरन्तरता पाइरहन्छ।


पहिलो संविधानसभाद्वारा निर्मित संसद्बारे धेरैका आआफ्ना धारणा होलान्। त्यो जे थियो, एउटा पीडादायी रूप नै थियो राष्ट्रका लागि। त्यो असफल पनि भयो। त्यही संसद्ले बनाएको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयको संसदीय समितिमा नेपालको वैदेशिक नीति निर्माणसम्बन्धी छलफलमा सहभागी हुन रक्षा र गृह मन्त्रालयका सचिवहरूलाई बोलाइएको थियो। कार्यव्यस्तता वा अन्य कारणले होला दुवै मन्त्रालयका सचिव उक्त छलफलमा जान असमर्थ भएकाले सहसचिवहरू सचिवको प्रतिनिधित्व गर्दै सहभागी हुनुपर्ने भयो।

पंक्तिकार वरिष्ठ सहसचिवका हैसियतले त्यहाँ जानुपर्ने भएकाले रक्षा कूटनीतिबारे सोचविचार गर्दै सहभागी भयो। सचिवलाई बोलाइएकोमा दुवै मन्त्रालयबाट सहचिव आएको देखेर केही सांसदहरू अलिक आक्रोशित र असहज मुद्रामा देखिएका भयो। त्यहाँ समितिका अध्यक्ष र सदस्यहरूलगायत केही पूर्वराजदूतहरू पनि थिए। छलफलको विषय प्रारम्भ भएपछि धेरैजसो सांसदहरूले वैदेशिक नीति निर्माण विषयमा भन्दा नेपाली सेनाबारे विभिन्न प्रश्न, टिप्पणी र रोष व्यक्त गर्नमा समय खर्च गरे। उनीहरूले सेनाप्रति व्यंग्यवाण र रोषयुक्त मानमर्दनका शब्दवाण छाडिरहे। उनीहरूले पंक्तिकारसँग प्रश्न गरे– नेपाली सेनाको लोगोमा किन त्रिशूल र डमरु ? नेपाली सेना जोगी हो ? किन शिवरात्रिका दिन सेना दिवस ? किन पुजारीका दरबन्दी ? नेपाली सेनालाई समावेशी कहिले बनाउने ? सेनाका गणपति, गुल्मपति, वाहिनीपति, पृतनापति आदि भनेर किन ‘पति’ शब्द राखेको र कसको मालिक बनाउन ? सायद उनीहरूले ‘रथी’ शब्दबारे चाहिँ प्रश्न गर्न जानेनन् वा बिर्सिए। त्यस दिन पंक्तिकारलाई खिन्नता, नरमाइलो त लाग्यो नै र केही आक्रोश पनि। तर ती सबै मनस्थिति दबाएर जवाफ दिनु बाध्यताजस्तै भयो। खाना खाने समयमा छलफल सकियो र क्यान्टिनमा खाना खान दिएको कुपन खर्च नगरी मनमा खिन्नता लिएर पंक्तिकार मन्त्रालय पुग्यो। आज पनि म सम्झन्छु कि नेपाली सेनासँगको त्यो आक्रोश किन थियो ? ती विषयवस्तु किन उठाइए ?

पहिलो संविधानसभा असफल हुने अन्तरवस्तु बुझ्न यो पनि एउटा उदाहरण र हेक्का राख्नुपर्ने दृष्टान्त हो जस्तो लाग्छ। वास्तवमा सयम बलवान् हुन्छ, परिस्थिति भने अनुकूल र प्रतिकूल हुन्छ, राष्ट्रले कहिले असहज र कहिले सहजरूपमा सास फेर्छ। अहिले पनि विचार गरौं पहिलो संविधानसभाको त्यो चरित्र आजका दिनमा आइपुग्दा कति स्थापित र कति विस्थापित भइसकेको छ, यो सोचविचार गर्न र अनुभवबाट सिक्नुपर्ने विषय पनि छ। हामी केका लागि परिवर्तन चाहन्छौं ?

बलवान्लाई नष्ट गर्न पहिला उसको इतिहास र संस्कृति नष्ट गर्न खोजिन्छ, उसको बल र सामथ्र्यको स्रोतमा प्रहार हुन्छ। पंक्तिकारले यो सन्दर्भ तथा तात्पर्य उठाउनुको कारण हो– इतिहास र संस्कार गौरवका विषय पनि हुन्छन्, नकारात्मक मात्र हुँदैनन्। नेपाली सेना यो राष्ट्रको निर्माणसँगै जन्मिएको संगठन हो र यसको इतिहास तथा संस्कार गौरवपूर्ण छ। पंक्तिकार नेपाली सेना संगठनको कुरा गर्दैछ, कुनै व्यक्तिविशेष र उनका स्वार्थको होइन। राष्ट्रनिर्माणको प्रारम्भिक अवस्थासँगै जोडिएको संगठन भएकाले यसका गौरवगाथा, आरोहअवरोह पनि अवश्य छन्। तर यो एउटा स्थायी, दृढ र अनुभवी संगठन हो। यसका अनुभव, संस्कार, संस्कृति राष्ट्र निर्माण र राष्ट्रिय एकता निर्माणमा अवरोध होइन सहायक हुनुपर्छ, भएका छन्, हुनेछन् र यिनको जगेर्ना गर्नुपर्छ भन्ने पंक्तिकारको मान्यता हो।

पंक्तिकारले अर्को प्रसँग उठाउन पनि आवश्यक ठान्छ कि नेपालका दुई प्रमुख तथा महत्त्वपूर्ण अंगहरू न्यायालय र नेपाली सेना कमजोर र निरिह हुन गएमा कसको हित हुन्छ ? न्यायालयतर्फ केही समययता राजनीतिक भागबन्डा, व्यावसायिक दक्षताको ह्रासका कारण यसमा विवाद, द्वन्द्व र निराशाहरू पर्याप्त देखिएका छन्। नेपाली सेनाको सुदृढ जग हल्लाउन पनि विभिन्न कम्पन र बल प्रयोग भएका अवस्था नदेखिएका होइनन्। यी अवस्था बाह्य र भित्र दुवै तर्फबाट स्वार्थका लागि हुन सक्छन्। सेनाको संगठनलाई कमजोर, भुत्ते, अस्थिर र अस्तव्यस्त बनाउन सके वा सैनिक नेतृत्वलाई द्वन्द्वात्मक, गुटगत, अक्षम र मुख ताक्ने अवस्थामा पुर्‍याउन सके नेपथ्यबाट धेरै डिजाइन गर्न सकिन्छ भन्ने सोच नहोला भन्न सकिन्न। नेपाली सेना अरू अंगको तुलनामा राजनीतिक हस्तक्षेपबाट जोगिएका कारण यसको दृढ चेन अफ कमान्ड नै हो।

सैनिक नेतृत्व सबल, सक्षम अनि संगठनको र राष्ट्र हितमा परिपक्क–कटिबद्ध हुँदासम्म संगठनको दृढताले निरन्तरता पाइरहन्छ। नेपाली सेना नेपालको अस्तित्व निर्माणसँगै जन्मिएको संगठन भएको हुँदा पृथ्वीनारायण शाहलाई उसले आदर्श पुरुष मानेको छ र यो स्वाभाविक र प्राकृतिक हो। देशमा राष्ट्रियताको चर्का नारा लगाउने अनि राष्ट्र एकीकरण गर्ने नायकको मानमर्दन र अवमूल्यन–अपमान गर्न कुप्रचार गरिहनेलाई के भन्ने ? नेपाली सेनाले पृथ्वीनारायणलाई राष्ट्रनिर्माण तथा नेपाली सेना निर्माणको महानायक मान्नु, धर्मसंस्कृति र राष्ट्रिय गौरवको रक्षामा निरन्तरता दिनु र सेनाको संगठनभित्र राजनीति छिर्न नदिनु यी तीन कुरा नेपाली सेनाका विशेषता र सबल पक्ष हुन्। नेपाली सेनालाई जनताले आडभरोसा दिएका छन्। अप्ठ्यारा परिस्थितिमा समेत सेना—जनता सम्बन्ध मुखारित भएको छ र यही नै नेपाली सेनाको पहिचान पनि हो।

देशको राजनीति स्वार्थमा विभाजित हुँुदा, निजामती र प्रहरी प्रशासन दुर्बल, अक्षम र भ्रष्ट हुँदा अनि नागरिक समाज राजनीतिक दलहरूका छाया मात्र हुन जाँदा नेपाली सेनाप्रति देशले आडभरोसा गर्नु स्वाभाविक छ। इतिहास साक्षी छ– नेपथ्यबाट नियत तथा कपटी चाल छद्म रूपमा दृश्यअदृश्य तवरले प्रकट भइरहेको विगत र वर्तमानसमेत नियाल्दा राष्ट्रलाई कमजोर र अस्थिरतामा राख्न उद्यत् शक्तिले रूप र स्वरूप फेर्न सक्छ तर तीनको अभीष्ट यथावत् रहन्छ। राष्ट्रप्रेमी स्वाभिमानी नेपाली जनता र नेपाली सेना सजग रहनुपर्छ।

सेनाको आकार तथा संख्या

०४६ को आन्दोलनपछि संसदीय व्यवस्थाको प्रारम्भसँंगै सेनाको संख्या धेरै भयो, अब यति चाहिँदैन भन्ने चर्चा सुनिन्थ्यो। त्यसताका शाही नेपाली सेना थियो। सेनाको संख्या सार्वजनिक हुन नहुने र बहसको विषय हुन नहुने भन्ने भनाइको पछाडि सेनाजस्तो महत्त्वपूर्ण सुरक्षा निकायबारे जथाभावी बहस चलाउने, टिप्पणी गर्ने विषय होइन भन्ने संवेदनशीलता पनि छ। केही समयमा नै माओवादी समस्याको सुरुवात हुँदै जाँदा स्थिति प्रहरीको नियन्त्रण बाहिर पुगी सेना परिचालनको अवस्थाका कारण सेनाको संख्यामा वृद्धि भयो। सशस्त्र प्रहरी फोर्सको गठन गर्नुपर्ने र नेपाली सेनाको संख्या बढाउनुपर्ने अवस्थाले सुरक्षा खर्च ह्वात्तै बढायो। त्यसपछि संक्रमणकाल लम्बियो र अहिले पनि प्रत्यक्षपरोक्ष संक्रमण तथा सुरक्षा चुनौती विद्यमान नै छ र सेनाको संख्या घटाउने वा यतिउति भनेर हलुका तवरले हिसाबकिताब गर्दै टिप्पणी गर्न कति जायज होला ? यो विषय संवेदनशील र कन्फिडेन्सियल पनि छ।

सेना आफैंले सोच्ने र आवश्यकताअनुसार विशेषज्ञको राय लिने विषय हो। यो सस्तो रूपमा बजारमा उचालिनु र सार्वजनिक बहस गर्ने विषय पनि होइन। तत्कालीन नेतृत्वले के महसुस गरिरहेको छ ? सरकारले यसमा के दृष्टिकोण राख्छ ? सैद्धान्तिक र व्यावहारिक दक्षता भएका खास विशेषज्ञहरूको भनाइ के हुन्छ ? यी तीन कुरा यसमा महत्त्वपूर्ण छन्। यो होहल्ला मच्चाउने विषय होइन। सेनाको उच्च पदको दरबन्दी स्थिर नै हुनुपर्छ। छिटोछिटो तलमाथि हुनु हुँदैन। स्वाभाविक रूपमा नेतृत्व परिवर्तन हुनुपर्छ। आगामी नेतृत्वबारे सेनाभित्र स्पष्टता हुनुपर्छ। कसैले खेल्ने ठाउँ हुनु हँुदैन। प्रहरी संगठनको हविगत सबैले थाहा पाएकै विषय छ। सेनामा दलगत र गुटगत राजनीतिको कुनै हावा, हैसियत र गन्ध हुनु हुँदैन। यसमा सैनिक नेतृत्वकै सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी र खबरदारी आवश्यक हुन्छ। नेपाली सेनाको जिम्मेवारी क्षेत्र समग्र राष्ट्र हो। त्यसैले सेनाको फर्मेसन त्यहीअनुसार हुन्छ, चेन अफ कमान्ड हुन्छ। सेना यति संख्यामा निष्क्रिय भन्ने कुरा बेतुक र तर्कहीन छन्। सेना विभिन्न जिम्मेवारीमा हुन्छ। सेना ब्यारेकमा बस्ने र निरन्तर तालिममा रहने हुनाले निष्क्रियता भन्ने कुरै हुँदैन।

शिव ईश्वर हो र ईश्वर भनेको सत्य हो। नेपाली सेनाको सेना दिवस शिवरात्रिकै दिन हुनु संयोग मात्र होइन, यो अर्थपूर्ण पनि छ।

जनशक्तिको उपयोग सम्बन्धमा भने सेनाको माथिल्लो नेतृत्वले बखतबखतमा मूल्यांकन, अध्ययन र प्रक्षेपण गर्ने विषय हो। हालका दिनमा यदाकदा भइरहेका विभिन्न टिप्पणी र समाचारले नेपाली सेनाको साख कायम गर्न र सैनिक नेतृत्वको मनोबल उच्च राख्न कति सहयोग पुग्ला ? सरोकार राख्ने र विषयवस्तुको संवेदनशीलता बुझ्नेहरूले हेक्का राख्नुपर्ने विषय पनि छ। नेपाली सेनाबारे बोल्दा र लेख्दा अन्य देशका उदाहरण दिनु सान्दर्भिक नै हुन्छ, तर कतिपय अवस्था, परिस्थिति, संस्कार व्यवहार तथा कार्यप्रकृति देशपिच्छे फरक हुन सक्छ। ठूला देशका उदाहरण सानासँग मिल्दैन। हाइटेकको प्रयोग भएको अवस्था र सामान्य प्रविधिमा काम गर्नुपर्ने अवस्था फरक हुन्छ। देशमा रोजगारको अवस्थाको विषय पनि छ। त्यसले हचुवाका भरमा टिप्पणी गर्नु कति उचित होला ?

नेपाली सेनाको संरचना, कार्यशैली, जनशक्ति उपयोगका अवस्था तथा मापदण्ड, संस्कार, परम्परा, मूल्यमान्यतालाई प्रहरी, निजामतीलगायत अन्य सेवासँग दुरुस्त दाँजेर हेर्न पनि सकिन्न। यसो भन्नुको तात्पर्य सेनाले आफूखुसी जे गरे पनि हुन्छ भन्ने पटक्कै होइन। सेनाको आफ्नै विशिष्ट पहिचान शैली, संस्कार र अनुशासनको कसी छ। मापदण्ड र मान्यता छन्। सैनिक नेतृत्व यसबारे बढी चनाखो पनि हुनुपर्छ।

म्याद थप, नक्कली सर्टिफिकेट र उमेर संशोधन

नेपालमा विकृति र विसंगतिका जाल र चाल जताजतै छन्। राष्ट्रको कुनै पनि अंग तथा निकाय यसबाट अछुतो छैनन्। कुरा यति नै हो कि कतै धेरै होला र कतै थोरै। अहिलेका दिनमा यी विषय अदालत र सेनातर्फ बढी सतहमा आइरहेछन् र उचालिएका पनि छन्। यो पनि एउटा बुझ्नुपर्ने छ। राष्ट्रको समग्र अवस्था तथा सरकारका सोच, व्यवहार, स्थिरता र दृढताले सबै क्षेत्रमा असर गर्छ। दिमाग स्वस्थ भएन भने शरीरका अंग पनि निकम्मा हुन्छन्। विकृत प्रवृत्तिलाई सबैले हतोत्साहित गर्नु नै पर्छ तर वास्तविकता नबुझी संगठनको साख गिराउने गरी र नेतृत्वलाई अनावश्यक टिप्पणी र प्रहारबाट हतोत्साहित गर्नु उचित हुँदैन। नेतृत्व आफैं पनि सजग संवेदनशील, निष्ठावान् र दृढ रहनु उत्तिकै आवश्यक छ।

अदालत र सेनामा बढी मात्रामा यी विषय किन उचालिएका छन्, यो पनि सोच्न र बुझ्नलायक छ। नेपालको स्थिरता र शक्ति सन्तुलनका लागि न्यायालय र नेपाली सेनाको सर्वाधिक महत्त्व छ। न्यायालय राजनीतिक हस्तक्षेप र पार्टीगत भागबन्डाका कारण चेतना र ऊर्जा हराउँदै गएको अवस्थामा रहेका महसुस हुन्छ। नेपाली सेनामा प्रत्यक्ष राजनीतिक असर त छैन, तर छाया पर्न खोज्छ पर्न खोज्छ समयसमयमा। यहाँनेर पनि नेतृत्व वर्गकै सजगता र क्षमता महत्त्वपूर्ण छ। सेनाभित्र देखिने कतिपय विसंगति तथा विकृतिलाई सतहमा आउनुअगावै वर्तमान नेतृत्वले विवेकपूर्ण रूपमा सच्याउने र दोहोरिन नदिने प्रणाली स्थापित गर्न जरुरी छ।

सेनाको कार्य क्षेत्रबारे

सेनाको कर्तव्य र जिम्मेवारी संविधान र कानुनले उल्लेख गरेको छ। यसबाहेक सरकारका नीति र निर्णयहरूले पनि कार्य क्षेत्र फैलाउने र संकुचित गर्ने गर्छ। सेनाले कोर फङ्सनबाहेक अन्य धेरै प्रकृतिका कार्य पनि गरी आएको छ। यसबारे टिप्पणी हुने गर्छन्। यो रहर नभई बाध्यता र आवश्यकताबाट पनि सिर्जित छ। जुन संगठनको कार्यक्षेत्र देशको सार्वभौमसत्ता, अखण्डता र एकताको रक्षा गर्नेछ, त्यो संगठन बहुआयामिक त हुन्छ नै। किनकि उसले धेरै कुरा जान्नु र बुझ्न पनि पर्छ।

अप्ठ्यारो पर्दा सेनाले बहुआयामिक काम गरेको छ। सबै पेट्रोलपम्पहरूले हडताल गर्दा भद्रकाली र प्रहरी पेट्रोलपम्पले सेवा दिएर राजधानीको लाइफलाइन चलाइदिएको बिर्सनु हँुदैन। फास्ट ट्र्याक खोल्न सेनाले माग फाराम भरेको होइन, न त अन्य सडक बनाउन नै। तर सेना पनि कति हदसम्म जाने, सेनाका लागि स्वीकार भएका जिम्मेवारी, आवश्यकता र औचित्यका क्षेत्र र तीनको हद–सीमा के हो ? यसमा सजग हुनैपर्छ। राष्ट्रको महत्त्वपूर्ण निकाय भएकाले सेनाबारे लेख्दा, बोल्दा र टिप्पणी गर्दा सबैमा सजगता, होस र बोध हुन आवश्यक छ। यो संवेदनशील, महत्त्वपूर्ण, स्थिर र कठोर अनुशासित संगठन हो। यो संगठनले आफूमा जति जिम्मेवार छ, अरूबाट पनि सोहीमुताबिकको जिम्मेवारीको अपेक्षा राख्छ। दुई हातले ताली बज्छ। जिम्मेवारी सबैले बोध गरौं। आज सैनिक दिवस। नेपाली सेना सुदृढ होस्, नेपाल र नेपालीको जय होस्।

अन्त्यमा, शिव चेतनाको सबैभन्दा उच्चतम स्वरूप तथा प्रतीक हुन्। शिवमा ध्यान अवस्थामा स्थिर रहने र परेको बेला ध्वंस गर्न सक्रिय हुने दुवै गुण हुन्। तर ऊर्जा एउटै हो। शिव र शक्ति चेतना र ऊर्जाका प्रतीक हुन्। शिव ईश्वर हो र ईश्वर भनेको सत्य हो। नेपाली सेनाको सेना दिवस शिवरात्रिकै दिन हुनु संयोग मात्र होइन, यो अर्थपूर्ण पनि छ। नेपाल पशुपतिनाथ र बुद्धको देश हो, सगरमाथाको देश हो। यी तीनै गौरव–धरोहर चेतनाका प्रतीक हुन्। ऊर्जा चेतनाबाटै स्वच्छ हुन आउँछ। शिवरात्रिमा सैनिक दिवस मनाउनु सत्य र चेतना शक्तिलाई आत्मसात गर्नु हो, बोध गर्नु हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.