कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा लाखौं अनियमितता
सुर्खेत : कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा अनियमितता भएको पाइएको छ। प्रदेश सरकारले वैशाख १ गते रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो। पर्यटन वर्षको उद्घाटनमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले कारबाही गर्न निर्देशन दिएको हो।
पर्यटन वर्षको उद्घाटनमा सार्वजनिक खरिद ऐनविपरीत रकम खर्च गरेको, मन्त्रिपरिषद् बैठकले दिएको अख्तियारीभन्दा दोब्बर रकम खर्च भएको, महालेखा परीक्षकको प्रतिवेदन र समितिलाई प्रदेश सरकारले उपलब्ध गराएको खर्च विवरण फरक रहेको, एउटै होटल र शीर्षकका बिल फरक–फरक मन्त्रालयले पेस गरेको भन्दै सार्वजनिक लेखा समितिले लाखौं रकम अनियमितता भएको ठहर गरेको हो। यसअघि उपसमितिले समितिलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। त्यसमा थप अनुसन्धान र छानबिन गर्दै लेखा समितिले अनियमितता भएको भन्दै आवश्यक कारबाही गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ।
लेखा समितिले आइतबार आफ्नो छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले पर्यटन वर्षको उद्घाटनमा व्यापक अनियमितता भएको बताए। ‘मन्त्रिपरिषद्ले उद्घाटनका लागि विभिन्न मन्त्रालय र निकायलाई ४६ लाख मात्र अख्तियारी दिएको छ तर मन्त्रालयहरूले लागत अनुमान र खरिद ऐनविपरीत दोब्बर खर्च गरेका छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘महालेखाको प्रतिवेदनमा ८७ लाख १८ हजार खर्च देखिन्छ तर प्रदेश सरकारले हामीलाई उपलब्ध गराएको विवरणमा ७८ लाख १६ हजार मात्र खर्च देखिन्छ। संसद्मा जानकारी गराउँदा ४९ लाख ४१ हजार खर्च भएको झुटो विवरण दिइयो, यसले पनि पर्यटन वर्षको उद्घाटनमा अनियमितता भएको पुष्टि गरेको छ।’
मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीलाई छानबिन प्रतिवेदन बुझाउन पुगेका लेखा समितिका पदाधिकारी।
प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जेठ २५ गते संसद्मा ४९ लाख ४१ हजार सात सय ९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेका थिए। तर, महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ र लेखा समितिलाई ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको छुट्टाछुट्टै विवरण उपलब्ध गराएको छ। प्रदेश सरकारको ०७४ चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले ०७५ लाई कर्णाली–रारा पर्यटन वर्षका रूपमा मनाउने निर्णय गरेको थियो। भव्य समारोहबीच ०७५ वैशाख १ गते रारामा प्रधानमन्त्री केपी ओलीले पर्यटन वर्षको उद्घाटन गरेका थिए। पर्यटन वर्षको उद्घाटनमा अनियमितता भएको भन्दै यसअघि विपक्षी कांगे्रसले छानबिनको माग गर्दै प्रदेशसभामा अवरोधसमेत गरेको थियो। त्यसपछि समितिले यस विषयमा छानबिन थालेको थियो।
छानबिनका लागि गठित उपसमितिका संयोजक करवीर शाहीले भने, ‘हामीले मागेका कतिपय बिल–भर्पाई पनि सरकारले उपलब्ध गराउन सकेन।’ पर्यटन वर्षका लागि १० वटै जिल्लाका लागि छुट्ट्याइएको रकम पनि सरकारले एउटै उद्घाटन कार्यक्रममा खर्च गरेको उनले बताए।
अनियमितता भएको र आवश्यक कारबाहीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिइएको समितिका सदस्य सांसद गोपाल शर्माले बताए। उनले प्रक्रिया र नियमविपरीत रकम खर्च भएको पाइएको बताए। यसैबीच, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समितिको प्रतिवेदनमाथि आफूहरूले पनि अनुसन्धान गर्ने जानकारी दिए। सरकार प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको भन्दै उनले समितिको निर्देशनलाई कार्यान्वयन गर्न सकारात्मक रहेको बताएका छन्।