पत्रिका पढे सिर्जनशील भइन्छ

पत्रिका पढे सिर्जनशील भइन्छ

प्यारा भाइबहिनीहरू !

अन्नपूर्ण पोस्ट् पत्रिकाले प्रत्येक आइतबार बाल परिशिष्टांकका रूपमा प्रकाशन गर्ने गरेको ‘अंकुर’ बारे तिमी हामीलाई थाहा नै थियो । यो अंकुर अब पत्रिकाकै रूपमा आउँदा तिमीहरूलाई जत्तिकै खुसी मलाई पनि लागेको छ । अब तिमीहरूले पहिलेभन्दा धेरै र विभिन्न प्रकारका सामग्रीहरू यसमा छपाउन र पढ्न पाउने भएका छौं । बालबालिकाले रच्ने रचना र बालबालिकाका लागि रचिने रचनाबारे चासो, रुचि राख्ने हामी शिक्षक, अभिभावक, सर्जकलगायत पनि यसको परिधिभित्र खुलेर अट्नेछौं । यसका लगि अन्नपूर्ण पोस्ट्को अंकुरलाई हामी सबै धन्यवाद दिऔं ।

म बालबालिकालाई नै ज्ञान सिकाउने शिक्षिका अनि तिमीहरूले पढ्ने कविता, कथा, निबन्धजस्ता साहित्य लेख्ने लेखकसमेत हुँ । त्यसैले यो पत्रिकाका माध्यमबाट मैले सिक्ने र तिमीहरूलाई सिकाउने धेरै कुराहरू छन् । यस लेखमा म बालपत्रिकाले बालबालिकामा पार्ने सकारात्मक परिवर्तनका बारेमा तिमीहरूलाई बताउँछु ।

भाइबहिनीहरू ! हाम्रा बुवाआमाको पुस्ताले बाल्यअवस्थामा पढ्ने कुरामा जे जति दुःखकष्ट गर्नुपर्‍यो, त्यस्तो हामीले गर्नु परेन । हामीले जे जति दुःखपूर्ण तरिकाले प्रारम्भिक शिक्षा लियौं त्यति दुःख तिमीहरूले गर्नु परेको छैन । हुन त चेतना, भूगोल, आर्थिक अवस्थालगायत धेरै कुराको प्रतिकूलताले आज पनि तिमीहरूको उमेरका धेरै भाइबहिनीले पढ्नै पाएका छैनन् । तर आज पढ्न पाएका तिमीहरू धेरै भाग्यमानी छौ ।

तिमीहरूले अभिभावकबाट घरैमा धेरै कुरा सिक्न पाउँछौ । रेडियो, टीभी, इन्टरनेट आदिबाट प्रसारण हुने बालकेन्द्रित कार्यक्रम हेर्न र सुन्न पाउँछौ । आज बालककै लागि बनाइएका चलचित्र, वृत्तचित्र आदि पनि प्रशस्त छन् । तीबाट पनि धेरै कुरा सिक्न सक्छौ । त्यसैगरी तिमीहरूको ज्ञानसीपको परिधिलाई फराकिलो पार्ने गतिलो माध्यम बाल पत्रिका हो । यस्तो पत्रिकामा तिमीहरूले कविता, कथा, भ्रमणका अनुभव, अरूले रचना गरेका कृतिका प्रतिक्रिया, चित्र, चुट्किला, सामान्य ज्ञान, कोठेपदजस्ता सिर्जनात्मक, बौद्धिक तथा मनोरञ्जनमूलक सामग्रीहरू छपाएर पढ्न र अरू साथीहरू माझ प्रस्तुत गर्न पाउँछौ । मनोविज्ञानबारे अध्ययन गर्नुभएका विद्वानहरूले तिमीहरूको सबै पक्षको भलाइका लागि राम्राराम्रा विचार र सामग्रीहरू पस्किनु हुन्छ । अनि विभिन्न बाल साहित्यकारले मनोरञ्जनात्मक र सन्देशमूलक साहित्य पनि लेख्नुहुन्छ । यस्ता सबै सामग्रीहरू एकै ठाउँ भेट्न पाउँदा कति मजा हुन्छ ? विचार गर त !

अर्को कुरा पनि छ । पत्रिका पढ्दा कोर्सको किताब पढ्दाजस्तो दिक्क लाग्दैन । यसले विस्तारै विस्तारै पढ्ने बानी पो लगाउँछ त । यसले तिमीहरूलाई सिर्जनशील हुन सिकाउँछ । थाहा छ ? टीभी, इन्टरनेट आदिको गलत प्रयोग गर्‍यौ भने तिमीहरूको पढ्ने, अरू साथी र परिवारसँग रमाउने बानी बिगार्छ । यसले तिमीहरूलाई गलत बाटोमा लाग्न प्रेरित पनि गर्न सक्छ । तर पत्रिकाबाट त्यस्तो हुँदैन नि ! त्यसैले तिमीहरू बाल पत्रपत्रिका पढ्ने गर । यसमा पढेका राम्रा कुराहरू अभिभावक र साथीसँग साटासाट गर्ने गर । त्यसलाई व्यवहारमा उतार्ने गर । आफैं लेख्ने पनि गर । यसो गर्‍यौं भने तिमीहरूलाई ज्ञानी र विद्वान बन्न झन सहज हुन्छ ।

ल हेर त, मैले लेख्ने अरू पनि कति धेरै कुरा थिए । ती सबै एकै पटक लेख्दा यहाँ अटाउन र तिमीहरूलाई एकै पटक पढ्न पनि त गाह्रो हुन्छ नि ! त्यसैले अर्को अर्को अंकमा भेटौंला ल !

(लेखिका देबु लुइँटेल एसओएस काभ्रेकी नेपाली विषय शिक्षिका हुन् ।)        


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.