डोलेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
भादगाउँ : महाशिवरात्री पर्वको अवसरमा सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।
प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको आउने गरेका छन्। महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।
आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्छ भन्ने धार्मिक विश्वास छ।
त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि डोलेश्वर मन्दिरलगायत भक्तपुरको आशापुरी महादेव, यातु महादेव, अन्नतलिङ्गश्वर, मङ्गलेश्वर र दत्तात्रय मन्दिरमा समेत दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।