कर्णाली भलिबलको फाइनलमा कालिकोट र सुर्खेत
जाजरकोट : आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गर्न जाजरकोटमा जारी प्रथम कर्णाली प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा कालिकोट र सुर्खेत फाइनलमा पुगेका छन् ।
सोमबार भएको सेमिफाइनल खेलमा कालिकोटले पश्चिम रुकुम र सुर्खेतले दैलेखलाई पराजित गरी फाइनलमा पुगेका हुन् । कालिकोटले पश्चिम रुकुमलाई ३–१ को अन्तरले पराजित गएको हो । २५–७, २५–१८, १९–२५ र २५–१० को सेटमा कालिकोटले फाइनल पक्का गरेको हो ।
त्यस्तै सुर्खेतले पनि ३–१ को अन्तरले दैलेखलाई पराजित गरेको हो । सुर्खेतले दैलेखलाई २४–२१, २५–२१, २५–९ र २५–१४ को सेटमा पराजित गरेको आयोजकले जनाएको छ । प्रथम उपाधीका लागि विजेता कालिकोट र सुर्खेतबीच मंगलबार खेल हुनेछ । तृतियका लागि पश्चिम रुकुम र दैलेखबीच स्पर्धा हुनेछ ।
कर्णाली प्रदेशबाट महिला भलिबल खेलाडी छनोट गर्नका लागि प्रदेशस्तरीय प्रतियोगिता संचालन गरिएको हो । जाजरकोटमा पहिलो पटक आयोजना हुन लागेको क्षेत्रीय महिला भलिबल प्रतियोगितामा कर्णाली प्रदेशका दशवटै जिल्लाका खेलाडीहरुको सहभागिता छ ।
प्रदेश खेलकुद परिषद कर्णाली प्रदेशको आयोजनामा संचालन भएको उक्त भलिबल प्रतियोगितामा जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, सल्यान, दैलेख, कालिकोट, मुगु, हुम्ला, डोल्पा जुम्ला जिल्लाका सय महिला खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति जाजरकोटका सदस्य सचिव जयप्रसाद आचार्यले बताए । उनका अनुसार भलिबल प्रतियोगिताबाट उत्कृष्ट १० जना महिला खेलाडीहरु कर्णाली प्रदेशको तर्फबाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन छनोट हुनेछन् ।