प्रधानमन्त्री भन्छन् : राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
सोमबार अपरान्ह सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति–२०७३ उच्चस्तरीय परिमार्जन समितिको प्रतिवदेन बुझ्दै उनले उक्त कुरा बताएका हुन् ।
त्यस अवसरमा उनले राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै रहेको पनि स्पष्ट पारे । प्रम ओलीले राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पुर् याउँदै आएको कुरा प्रसंसनीय रहेको उल्लेख गरे ।
उक्त अवसरमा समितिका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ को प्रतिवेदन बुझाए ।
अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले प्रतिवेदन बुझाउँदै नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुसार मस्यौदा तर्जुमा गरिएको बताए ।
राष्ट्रिय सुरक्षा परिषदले सुरक्षा नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।