मधेसलाई सकारात्मक दृष्टिबाट हेर्न सुझाव
जनकपुरधाम : काठमाडौंका मिडियाले मधेस हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने सम्पादक तथा सञ्चारकर्मीले औंल्याएका छन् । सोमबार जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तेस्रो दिन केन्द्रीकृत पत्रकारिता र मिथिला शीर्षकमा आयोजित विमर्शका सहभागीले काठमाडौंको पत्रकारिताले देश र जनताको पक्षमा बाटो निर्दिष्ट गरेर राजनीतिक पंक्तिलाई सुझाउनु पर्नेमा जोड दिएका छन् ।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधानसम्पादक हरिबहादुर थापा, नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेत, जनकपुर टुडेका सम्पादक बृजकुमार यादव र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रबीच जनकपुरमा करिब अढाई घण्टा खुला बहस भएको थियो।
अध्यक्ष मिश्रले आफैंलाई बुझेर जिम्मेवार भए मात्र प्रदेश २ को विकास हुने बताए । प्रदेश सरकारका त्रुटी औंल्याएका सञ्चारमाध्यमलाई नकारात्मक दृष्टिकोणले हेर्नुको साटो सरकारले त्रुटी सच्याउनेतर्फ काम गर्नुपर्ने औंल्याए । मिथिला क्षेत्रको सांस्कृतिक पहिचान बाहिर ल्याउन र प्रचारप्रसार गर्न केन्द्रीय मिडियाले विशेष प्राथमिकता दिनुपर्नेमा मिश्रले जोड दिए । ‘ढाका टोपीले नेपालीको शानको पहिचान पाउँछ’, उनले सोधे, ‘तर मिथिलाको पाग शिरमा लगाउँदा नाक खुम्च्याइन्छ किन ? ’
काठमाडौं केन्द्रित मूलधारका मिडियाले मधेसलाई फरक चश्माले हेरेको भन्दै बेलाबेला आलोचना हुने गरेको छ । जनकपुर टुडेका सम्पादक यादव भन्छन्, ‘अधिकारवादी मधेस आन्दोलनलाई केन्द्रीकृत मिडियाले पृथक्तावादी भन्यो । जसले मधेस आन्दोलन लम्बियो, धेरैले ज्यान गुमाए, घाइते भए ।’ काठमाडौंको पत्रकारिताले देशलाई ‘गाइड’ गर्न नसकेको उनले औंल्याए । ‘मधेसको चाहना र भावनालाई केन्द्रीय मिडियाले स्थान दिनै पर्छ’, उनले भने, ‘मिथिला बुझेका पत्रकारलाई केन्द्रीय मिडियाको समाचार र सम्पादनकक्षमा स्थान दिनु पर्छ ।’
राजधानीका सञ्चारमाध्यम केन्द्रीकृत भएको सत्य नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेतले उल्लेख गरे । ‘राजधानीका मिडिया केन्द्रीकृत भएकै हो’, उनले भने, ‘अवसरहरू पनि काठमाडौं केन्द्रित भएको सत्य नै छ ।’ हिजोका केन्द्रहरू संघीयता आएपछि बहुकेन्द्र बनेका उनले जनाए । काठमाडौंको विकल्प नै संघीयता रहेको बताउँदै उनले भने, ‘मधेसको भगवानलाई स्वीकारेजस्तै मधेसको पात्रलाई अब स्विकार्नु पर्छ ।’
जनताको भावना र विचारलाई ठाउँ नदिए आजका दिनमा मिडिया टिक्न नसक्ने अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापाले बताए । ‘केन्द्रीकृत मिडियाको पर्दा खुल्दै छ, पूरै खुलेको छैन’, उनले भने, ‘मिडियाले आफ्नो संस्कार, संस्कृति र दृष्टिकोण संघीयताअनुरूप बदलिनै पर्छ, नबदलिए समाजमा टिक्न सक्दैनन् ।’ विमर्शको सहजीकरण पत्रकार अनिल कर्णले गरेका थिए ।