रसुवामा २६ लाख रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी
त्रिशूली,नुवाकोट : रसुवामा २६ लाख रुपैयाँ विद्युत महशुल बक्यौता रहेको पाइएको छ। विद्युत प्राधिकरणले बक्यौता विद्युत महशुल तिर्न ताकेता गरेपछि यो कुरा खुल्न आएको हो। पाँच गाउँपालिका रहेको रसुवामा घरायसी र औद्योगिक गरी कुल २५ लाख ७१ हजार ७ सय ७४ रुपैयाँ ६० पैसा विद्युत महशुल बक्यौता रहेको विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले जनाएको छ।
१५ वर्षदेखिको महशुल बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरण नुवाकोट शाखाले ताकेता पत्राचार गरेको छ। रकम नतिरे विद्युत लाइन काट्ने जनाउँदै पत्राचार गरेको उपभोक्ताहरु बताउँछन्। तत्काल वक्यौता रकम नतिरे कालो सूचिमा राख्ने र विद्युत लाइन काट्ने पत्रमा लेखिएको छ।
उपभोक्ताले द्वन्द्वकालदेखिको विद्युत महशुल नतिरेका कारण वक्यौता बढेको प्राधिकरणले जनाएको छ। बक्यौता रकम जरिवानासमेत नतिरेको प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणले कालिका गाउँपालिका र उत्तरगया गाउँपालिकाको रकम कालिकास्थान केन्द्रमार्फत असुली गरिरहेको छ । बक्यौता रकम ताकेता गरेर रकम असुली गरिरहेको छ। तर, रकम तिरेपनि बिल नदिएको उपभोक्ताले गुनासो गरेका छन्।
नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले बक्यौताको रकम असुली गर्दा बिल दिइरहेको र कुनै कर्मचारीले नदिएको भए कार्यालयमा खबर गर्न उपभोक्तामा अनुरोध गरेको छ। कुनै कर्मचारीले बिल नदिएको भए तत्काल कारबाही गर्ने समेत कार्यालयले जनाएको छ।
विद्युत महशुल भुक्तानीका लागि रसुवाका ७ सय ७१ उपभोक्तालाई पत्राचार गरिएको छ। द्वन्द्वकालको समयको विद्युत बक्यौता सबैभन्दा बढी उत्तरगया गाउँपालिकाबाट उठ्नुपर्ने नेपाल बिद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।
यसअघि, विद्युत बालेवापत मासिक ८० रुपैयाँ तिर्दै आएकालाई बक्यौता रकम तिर्न पत्र काटिएको उपभोक्ताले बताए। तत्काल १० हजार त्यो भन्दा बढी रकम बुझाउन ताकेता गरेपछि उपभोक्ता चिन्तित भएका छन्।
उत्तरगया गाउँपालिका-५ बनुवाका तारानाथ आचार्यको नाममा ६३ हजार ६ सय ८३ रुपैयाँ बक्यौता रहेको छ। आर्थिकस्तर कम भएका उपभोक्तालाई एकैपटक हजारौं रुपैयाँ तिर्नुपर्दा समस्या परेको बताए।
यसअघि नै आफूले १ हजार ८ सय ८५ रुपैयाँ तिरेको र द्वन्द्वकालको विद्युत महसुलको बक्यौता भन्दै थप बिल दिएको यदुकुमार आचार्यले बताए। उपभोक्ताले द्वन्द्वकालको विद्युत महसुल भन्दै अहिले असुलीका लागि ताकेता गरिरहेको जनाउँदै आक्रोश पोखेका छन्।
नेपाल विद्युत प्राधिकरणले द्वन्द्वकालदेखिको विद्युत महसुलको बक्यौता उठाउन सुरु गरेपछि लामो समयदेखि महशुल नतिरेका समस्यामा परेका हुन्। बक्यौता उठाउन केन्द्रबाट ताकेता भएअनुसार द्वन्द्वकालको समयमा बाँकी रहेको बक्यौता असुलिका लागि उपभोक्तालाई पत्राचार गरेको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण शाखा रसुवाका प्रमुख कृष्णहरि दाहालले बताए।