शहीद स्मृति विद्यालय राज्यले जिम्मा लिनुपर्छ : प्रचण्ड
इटहरी : पूर्वप्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले इटहरीलगायत देशका विभिन्न ठाउँमा रहेका शहीद स्मृति विद्यालयहरु राज्यले जिम्मा लिनुपर्ने बताएका छन् । इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै उनले यस्ता विद्यालयको सञ्चालनको जिम्मा सरकारले लिनुपर्ने बताए । ‘यी विद्यालयलाई प्राविधिक विशिष्ट विद्यालय बनाउने र विद्यार्थीको भविष्य सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘यसको लागि संसदमा पेश हुन लागेको संघीय शिक्षा विधेयकमा पनि यो कुरा राख्ने प्रयास गरेका छौं ।’
कार्यक्रममा विद्यालयकी इन्चार्ज तथा सांसद धर्मशीला चापागाईँले यस विद्यालयमा कक्षा १२ सम्म पढेपछि विद्यार्थीको भविष्य के हुन्छ भनेर प्रश्न गरेकी थिइन् । ‘यो विद्यालयमा २८ जिल्लाका बच्चाहरु छन्,’ उनले विश्वविद्यालय नै बनाउनुपर्ने माग गर्दै भनिन्, ‘कक्षा १२ सम्म मात्र पढाइ हुन्छ, त्यसपछि उनीहरुको भविष्य के हुने ?’ जवाफमा प्रचण्डले अहिले एमए गरेकै विद्यार्थीको भविष्य पनि के हुन्छ भन्ने टुंगो नभएको बताउँदै शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए । उनले व्यवहारिक शिक्षा नीतिको आवश्यकता रहेको बताए ।
यता प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का विद्यालयहरुलाई किताब कापीमुक्त तथा प्रविधिमैत्री बनाउने योजना रहेको बताए । उनले शहीद विद्यालयलाई सहयोग गरिरहेको जानकारी दिए ।
कार्यक्रममा जनयुद्धका घाइते तथा उनीहरुको परिवार र सहकर्मीहरुको पीडालाई झल्काउने गरी गीति अभिनय विद्यालयका बालबालिकाले प्रस्तुत गरेका थिए ।
स्थानीयवासी, विदेशी दाता, स्थानीय र प्रदेश सरकार र माओवादी पार्टीसमेतको सहयोगबाट विद्यालयमा १५ कोठे नयाँ भवन निर्माण भएको छ । नेपालमा डोटी, पोखरा, दाङलगायतका स्थानमासमेत यस्ता शहीद विद्यालयहरु सञ्चालनमा छन् ।