कैलालीको गौरी गंगामा फुटबल प्रतियोगिता हुँदै
धनगढी : कैलालीको मध्यवर्ती क्षेत्र गौरी गंगा नगरपालिकामा फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय गौरी गंगा ११ स्पोर्ट्स क्लबको आयोजनामा यहि फागुन २५ देखि चैत ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने लागेको हो। गौरी गंगा नगरपालिकालाई खेलकुदमा नमुना बनाउने उद्देश्यका साथ गत वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो दोस्रो संस्करण हो।
नगरमा भएका युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका साथै फुटबलको विकासका लागि प्रतियोगिता गर्दै आएको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। 'समाजमा युवाहरु वेरोजगारका कारण विभिन्न विकृतिमा लाग्न गर्दछन्', उनले भने, 'युवाहरुलाई व्यस्त बनाउन पनि प्रतियोगिता गरिन लागेको हो।'
प्रतियोगिताका तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगितामा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका खेलाडीहरुको सहभागिता रहने जनाएको छ। १२ देखि १५ वटा टिमको सहभागिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतियागिताको विजेता टिमले ट्रफिसहित ३ लाख र उपविजेता टिमले १ लाख ५० हजार पाउने छन्। यस्तै सर्वोत्कृष्ट खेलाडिले ३० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदमान खेलाडिले १०-१० हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको म्यान अफ द म्याच पुरस्कार २ हजार ५ सय तोकिएको छ। प्रतियोगिता आयोजना गर्न साढे २६ लाख खर्च हुने जनाएको छ।