असुरक्षित प्याराग्लाइडिङ : तीन दिनमा दुईको मृत्यु, दुई घाइते

असुरक्षित प्याराग्लाइडिङ :  तीन दिनमा दुईको मृत्यु, दुई घाइते

पोखरा : साहसिक खेलकुदको सहर पोखरामा एक्लै (सोलो) प्याराग्लाइडिङ उडान गरेका पाइलट धमाधम दुर्घटनामा पर्दा तीन दिनमा दुई जना विदेशी पाइलटको मृत्यु भएको छ। दुई पाइलट दुर्घटनामा परेर घाइते भएका छन्।

पोखराको सराङ्कोटबाट उडान भरी फेवाताल किनारमा अवतरण गर्ने क्रममा आइतबार रोमानियाका प्यारा पाइलट ४२ वर्षीय इड सिजरको तालमा खसेर मृत्यु भएको थियो। लगत्तै मंगलबार रसियन सोलो प्याराग्लाइडर डिमिट्विल स्टेपअनिन पोखराको सराङ्कोटबाट उडान गर्ने क्रममा दुर्घटनामा परी पोखराको मोट्रो सिटी अस्पतालमा उचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

सोमबार छुट्टैछुट्टै स्थानबाट एक्लै (सोलो) प्याराग्लाइडिङ गरेका दुई जना विदेशी प्याराग्लाइडर उडानका क्रममा दुर्घटनामा परेर घाइते भएका थिए। कास्कीको माछापुच्छे« गाउँपालिकाको ठाँटीमा पोल्यान्डका प्याराग्लाइडर ३७ वर्षीय जानुज क्यारल उडानका क्रममा बिजुलीको तारमा ठोक्किँदा करेन्ट लागेर लडेका उनलाई गाउँलेले उद्धार गरेका थिए। बिजुलीको नाङ्गो तारमा छुन पुग्दा उनको दाहिने हातमा करेन्ट लागेकाले पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सोमबार नै रसियाका ६३ वर्षीय इलगिज यागुदिन मादी गाउँपालिकाको छाचोकमा प्याराग्लाइडिङका क्रममा रुखमा अड्किँदा घाइते भएका थिए।

पर्यटकले अनुमति नभएका स्थानमा समेत पुगेर जथाभावी उडान गर्दा दुर्घटना बढेको हो।

घाइते दुवै जनाले पाइलट अनुमति नभएको स्थानमा पुगेर प्याराग्लाइडिङ गरेका हुन्। प्याराग्लाइडिङका लागि पोखराको सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट मात्र उडान गरी फेवाताल किनारमा अवतरण गर्न पाइने नियम छ। तर पनि पर्यटकले अनुमति नभएका स्थानमा समेत पुगेर जथाभावी उडान गर्दा दुर्घटना बढेको हो। पछिल्लो समयमा आकाशमा एक्लै उडान गर्ने पाइलट अनुमति नभएको स्थानमा पुगेर प्याराग्लाइडिङ गर्ने, प्याराग्लाइडिङका लागि उपयुक्त समय र मौसम हो वा होइन ख्याद नगर्दा दुर्घटना बढेको पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकृत काशीनाथ पौडेलले बताए।

अहिलेसम्म अनुमति नभएको स्थानमा समेत गएर गैरकानुनी रूपमा उडान गर्ने दुई जना प्याराग्लाइडरलाई कारबाही गरिएको पनि उनले सुनाए। अनुमति नभएको स्थानमा समेत उडान गर्नेलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने उनको भनाइ छ। जथाभावी उडान गर्दा हवाइजहाज र हेलिकप्टरसँग समेत ठोक्किन सक्ने भएकाले यसरी जथाभावी उडान गर्ने पर्यटकलाई कारबाही गरिने पनि उनले बताए।

एकल प्याराग्लाइडिङ उडान रोक

प्याराग्लाइडिङका क्रममा पछिल्लो समयमा एक्लै (सोलो) उडान गर्ने प्यारा पाइलट अनुमति नभएका स्थानमा समेत गएर उडान गर्ने र मौसमको ख्याल नगरी उडान गर्दा दुर्घटना भएपछि नागरिक उड्डयन कार्यालय पोखराले मंगलबारदेखि नै सोलो प्याराग्लाइडिङ गर्न अर्को सूचना प्रकाशन नभएसम्मका लागि रोक लगाएको छ।

मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ को दफा १७ मा व्यवस्था भएअनुसार सञ्चालन प्रमाणपत्र प्राप्त कम्पनीमार्फत उडान अनुमति लिई उडान गरेका सोलो पाइलटले तोकिएको एयर स्पेस र सर्तबमोजिम उडान नगरेको, तोकिएको स्थानमा टेकअफ र ल्यान्डिङ नगरेको नागरिक उड्डयन कार्यालय पोखराले मंगलबार जारी सूचनामा जनाइएको छ। तोकिएको स्थानभन्दा बाहिर गएर टेक अफ र ल्यान्डिङ गर्दा हवाइजहाज र हेलिकप्टरसँग पनि ठोकिन सक्ने सम्भावना हुने भएकाले सुरक्षालाई दृष्टिगत गरी उडान अनुमति लिएका विदेशी पाइलटलाई समेत प्याराग्लाइडिङ गर्न रोक लगाइएको छ।

व्यावसायिक प्याराग्लाइडिङ (प्यासेन्जर लिएर गरिने प्याराग्लाइडिङ) उडान भने निर्वाध रूपमा सञ्चालन हुनेछन्। पुस ३० देखि फागुन २१ गतेसम्म ५ सय जना पर्यटकले सोलो (एक्लै ) प्याराग्लाइडिङका लागि अनुमति लिएको पौडेलले जानकारी दिए। फागुन १० देखि २१ गतेसम्म २ सय १६ जना विदेशी पर्यटकले सोलो प्याराग्लाइडिङका लागि अनुमति लिएको पनि नागरिक उड्डयन कार्यालय पोखराले बताएको छ।

सोलो प्याराग्लाइडिङका क्रममा दुई प्याराग्लाइडरको मृत्यु र दुई जना घाइते भएपछि नागरिक उड्डयन कार्यालय पोखराले दुई प्याराग्लाइडिङ कम्पनीलाई निलम्बन गरेको छ। आइतबार मृत्यु भएका रोमानियाका पर्यटकले ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएका थिए। यसैगरी सोमबार दुर्घटनामा परी घाइते भएका दुई पर्यटक र मंगलबार प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका पर्यटकले फ्रन्टएयर प्याराग्लाइडिङ कम्पनीमार्फत पोखराबाट अनुमति लिएर उडान गरेका थिए। यी दुई निलम्बनमा परेका प्याराग्लाइडिङ कम्पनीसँग स्पष्टीकरण लिइने नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोला गुरागाईंले बताए।

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाका कारण चार वर्षयता सोलो प्याराग्लाइडिङ गर्दा ७ जनाको ज्यान गएको छ। यसरी दुर्घटनामा परी मृत्यु हुनेमा ३ जना नेपाली र ४ जना विदेशी छन्। पोखरामा ५५ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन्। देशभर गरी ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए। प्याराग्लाइडिङ उडानको नियमन नहुँदा प्याराग्लाइडरले जथाभावी उडान गर्दा दुर्घटना बढेको व्यवसायीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.