लमजुङमा व्यावसायिक प्याराग्लाइडिङ सुरु

लमजुङमा व्यावसायिक प्याराग्लाइडिङ सुरु

बेसीशहर : लमजुङमा व्यावसायिक रूपमै पाराग्लाइडिङको उडान थालिएको छ। परीक्षण सफल भएपछि व्यवसायिक रुपमा उडान थालिएको हो। बेसीसहरस्थित ब्रदर्श अन्नपूर्ण टुर एन्ड ट्राभल्सले पोखराबाट पाइलट झिकाएर परीक्षण गरेको थियो। 

दुई महिना अघि गरिएको परिक्षण सफल भएपछि व्यवसायिक रुपमा उडान सुरु गरिएको ब्रदर्श अन्नपूर्ण टुर एन्ड ट्राभल्स सञ्चालक अमिर गुरुङले बताए।गुरुङकाअनुसार पोखराबाट ५ जना पाइलट ल्याएर व्यावसायिक उडान थालिएको छ। उनीहरु टेन्डम (संयुक्त उडान भर्ने) पाइलट हुन्।

लमजुङ महोत्सवको अबसरमा बेसीसहर-६ मकैडाँडाबाट उडान गर्ने गरिएको छ। मकैडाँडाबाट उडेको प्यारा मस्र्याङ्दी नदी पार गरेर बेसीसहर-१० बाँझाखेतको भोटेफाँटमा अवतरण गर्ने गरिएको छ।

यसअघि पुमाडाँडा र गाउँसहर दरबारको डाँडाबाट पनि परिक्षण उडान गरिएको थियो। पुमा र मकैडाँडामा परिक्षण सफल भएको थियो। हालका लागि महोत्सव अवधिभर व्यवसायिक रुपमा सञ्चालन गरिने सञ्चालक सन्तोष थापाले जानकारी दिए। महोत्सव सकिएपछि समय तोकेर बुकिङ गरी पाइलट झिकाउने उनले बताए।

पोखराबाट आएका टेन्डम पाइलटहरू सुनील थापा, गणेश थापामगर, राजेश बानिया, राहुल खडका, आयुष शाह र सोलो पाइलट विश्वास गुरुङले उडान भर्ने गरेका छन्। गुरुङबाहेक अरू पाँच जानाले थप १ जनालाई लिएर प्याराग्लाइडिङ गर्ने गरेका छन्। लमजुङमा प्याराग्लाइडिङ उडानका लागि पाइलट नभएकाले यसको प्रशिक्षणसमेत थालिने सञ्चालक थापाले बताए।

ग्रामीण पर्यटनको पर्याय बन्दै गरेको लमजुङ अब प्याराग्लाइडिङको पनि गन्तव्य स्थल बन्ने भएको छ। यहाँका राइनासकोट, बाग्लुङपानीको पुमागाउँ, चण्डिस्थानको मकैडाँडा, गौंडा र हिलेटक्सार डाँडाबाट प्याराग्लाडिङ गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन्। व्यवसायिक प्याराग्लाडिङ सुरु भएपछि अन्नपूर्ण पदमार्ग र यहाँका होमस्टे घुम्न आउने पर्यटकहरुको बसाई लम्बाउन सकिने उद्योग बाणिज्य संघ गण्डकी प्रदेशका सदस्य रामकुमार श्रेष्ठ बताउँछन्।

'प्याराग्लाइडिङका लागि बाग्लुङपानीको पुमाडाँडा, चण्डिस्थानको पार्कस्थलबाट धेरै राम्रो देखियो।राइनासबाट त झनै राम्रो हुन्छ,' प्याराग्लाइडिङ पाइलट सुनील थापाले भने, 'यहाँ व्यवसायिक उडानको राम्रो सम्भावना छ।' 

प्याराग्लाइडिङ पाइलट सुनील रावलकाअनुसार यहाँबाट लामो समय उडान भर्न सकिने र अन्य जिल्ला पनि भ्रमण गर्न सकिन्छ। पाइलट लाक्पा शेर्पाले राइनासबाट गरिने प्याराग्लाइडिङबाट लमजुङका माथिल्लो भाग, गोर्खा, तनहुँ घुम्न सकिने बताए। मस्र्याङ्दी गाउँपालिका-९ सिम्पानीकी शर्मिला अधिकारी थापाले पहिलो पटक प्याराग्लाइडिङ गर्न पाउँदा मज्जा आएको बताईन्। 'पोखरामा उड्न पाइन्छ भनेको सुनेको थिएँ, आज आफ्नै घरमाथी उड्न पाइयो', थापाले भनिन्, ‘एकपटक उडेपछि फेरी उडौं उडौं लाग्दो रहेछ।'

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट प्याराग्लाइडिङ विस्थापन हुने भन्ने हल्लासँगै प्याराग्लाइडका व्यवसायी नयाँ सम्भाव्य स्थलको खोजीमा छन्। बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले व्यवसायिक प्याराग्लाइडिङ उडाउनका लागि बजेट विनियोजन गरिएको बताए।'विज्ञसँगको छलफल गरेर काम गर्ने तयारीमा छौं,' अर्यालले भने। राइनास नगरपालिकाका प्रमुख सिंहबहाहदुर थापाले पनि पर्यटन प्रवद्र्धनका लागि राइनासमा व्यवसायिक प्याराग्लाइडिङ गर्नेगरि काम गरिने बताए।

पर्यटन व्यवसायी सन्तोष थापाले आफुँहरु प्याराग्लाइडिङसँगै र्‍याफ्टिङ र कायकिङ पनि सञ्चालन गर्न लागि परेको बताए। 'महोत्सवको बेला मात्र अक्लझुक्ल प्याराग्लाइडिङ र र्‍याफ्टिङ हुने गरेको थियो। हामीले व्यवसायिक रुप दियौं, थापाले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.