संसदमा बाबुरामका कुरा : बाँदरदेखि ब्यापारीसम्म, विप्लवदेखि मधेसीसम्म !
काठमाडौं : लामो समय विदेश र पश्चिम नेपालको भ्रमणमा रहेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले आज संसदमा आफ्नो लम्बेतान मन्तब्य राखे ।
मन्तब्य मोटामोटी सरकारलाई सुझावको रुपमा थियो । यस क्रममा उनले विदेशी विश्वविद्यालयको सिकाइदेखि दुर्गम गाउँका भोगाइसम्म सुनाउन भ्याए । उनले कोट्याएका केही प्रसंग रोचक नै थिए । सामान्यतः सांसदहरुले संसदमा ‘रेकर्ड’ गर्नुपर्ने विषय नठानिएको कुरालाई उनले सुनाए ।
एक महिने पुष्पलाल राजमार्गको भ्रमणको क्रममा उनले देखेका भोगेका कुरा संसदमा सुनाएका थिए । गाउँमा स्थानीय जनप्रतिनिधिहरुसँगको कुराकानीका प्रसंग कोट्याउँदै उनले समस्या समाधानको लागि सुझावको रुपमा पेश गरेका थिए ।
खासगरी संघीयता लागु गर्ने, कानुन निर्माण, सीमांकन, नामाकरण लगायत समस्य उनले संसदलाई सुनाएका थिए । यस्तै गाउँका स्कुलमा शिक्षक नपुगेको, अस्पताल अभावबारे पनि उनले सम्बोधनको क्रममा राखे ।
गाउँका किसानका समस्या सुनाउने क्रममा डा. भट्टराईले भोजपुरका किसानको बाँदर आतंकको समस्या पनि सुनाएका थिए । ‘भोजपुरको अरुण गाउँपालिकाका अध्यक्षसँग तपाईँको मुख्य समस्या के हो भनेर मैले सोधेँ । उहाँले बाँदर आतंक भन्नुभयो । ठट्टा हो कि भन्ठानेको साँच्चै नै रहेछ । सुन्दा ठट्टा जस्तो लाग्ने तर साँच्चिकै समस्या रहेछ ।’
भट्टराईले गाउँमा खेतीयोग्य जमिन जंगलमा परिणत हुने अवस्था आएकोमा चिन्ता व्यक्त गरेका थिए । सानो समस्या जस्तो देखिए पनि गम्भीर समस्याको रुपमा किसानका समस्या संसदमा उनले सुनाए । यस्तै परम्परागत शीपको रुपमा रहेको खलाँती चलनलाई नयाँ प्रविधियुक्त सुधार्नुपर्ने उनले सुझाव दिए । यस्तै छाउपडी समस्या पनि उनले प्रस्तुत गरेका थिए ।
ब्यापारीका काुरा
पश्चिमी क्षेत्रका अर्को रोचक प्रसंग पनि भट्टराईले सुनाए । खासमा यो चर्को व्याजदरको मर्का थियो । बैतडी उद्योग वाण्ज्यि मासंघका उपाध्यक्ष खिमानन्द भट्टको कुरालाई उनले जस्ताको त्यस्तै संसदमा रेकर्ड गराए ।
भट्टलाई हवाला दिँदै भट्टराईले भने, ‘ब्यापारी कमाउन छाडेपछि बर्बाद हुन्छ, नेता कमाउन थालेपछि बर्बाद हुन्छ ।’ यसलाई उनले असन्तुलित ब्याजदरको समस्याको रुपमा संसदमा सुनाएका हुन् । आफूहरुका लागि व्यंग्य रहेको भन्दै यसबारे पनि सोच्नुपर्ने उनको भनाइ थियो ।
यसबाहेक उनले विदेश भ्रमणको क्रममा केही नेपाली डायस्पोराका प्रगति पनि सुनाएका थिए । अमेरिकास्थित सिलिकन भ्यालीका नेपालीको शीप र ज्ञानलाई उपयोगी बनाउनसक्ने उनको सुझाव थियो । चीन र अमेरिकाबीच शितयुद्धको असरबारे आफूहरु सचेत हुनुपर्ने समेत भनेका थिए ।
नेता भट्टराईले संविधान संशोधन, कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने, विप्लव समुह, मधेस लगायत असन्तुष्टहरुसँग संवाद लगायत एजेन्डामा सुझाव दिन भ्याए ।