रेशम चौधरीलाई जन्मकैद भएपछि राजपाको आकष्मिक बैठक
काठमाडौँ : टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी नेपालको आकष्मिक बैठक अहिले बसिरहेको छ ।
२०७२ भदौ ७ गते एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको ज्यान गएको टीकापुर हत्यकाण्डमा रेशमविरुद्ध मुख्य अभियुक्तकारुपमा दर्ता गरिएको मुद्दा अदालतले दोषी ठहर गर्दै बुधबार जन्मकैद सुनाएको थियो ।
बैठकमा राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवसँगै राजपा नेताहरु राजेन्द्र महतो र महन्थ ठाकुरसहित उपस्थित छन् । राजपाले टीकापुरमा घटनामा आफ्ना सांसद रेशमलाई राजनीतिक प्रतिशोध साँध्न फसाइएको भन्दै राजनीतिक मुद्दालाई अपराधिकरण गर्न नहुने अडान राख्दै आएको छ ।
नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घुर्की राजपाले लगाएपछि केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सभामुख कृष्णबहादुर महराले रेशमलाई सांसद पदको सपथ खुवाएका थिए ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रेशमले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यसपछि कारागार पठाइएका उनले त्यहीँ अनशन गरेपछ काठमाडौँ ल्याइएको थियो ।
सांसद पदको सपथ खुवाएपछि रेशमलाई हाल काठमाडौँस्थित डिल्ली बजार कारागारमा राखिएको छ । बुधबार कैलाली जिल्ला अदालतले रेशमसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइसकेको छ।