अर्थमन्त्रीले भने : बैंक धेरै भए, मर्जरमा जानु, २० वटा भए पुग्छ
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकर र व्यवसायीलाई विवाद मिलाउन निर्देशन दिएका छन् । व्याजदरलाई लिएर दुवै पक्ष अतिवादतर्फ उन्मुख भएको भन्दै आपसमा मिलेर नगए सरकारले हस्तक्षेप गर्ने चेतावनी खतिवडाले दिए ।
नेपाल पूर्वाधार बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैंकले १६ प्रतिशत ब्याज खोज्ने र उद्योगी–व्यवसायीले ६ प्रतिशत ब्याजमै ऋण खोज्ने प्रवृत्ति अतिवाद भएको बताउँदै सहमतिमा आउन आग्रह गरे । ‘तपाईँहरुले झगडा गरे सरकार हात्तीको जस्तो सुँड पसारेर हस्तक्षेप गर्न बाध्य हुने छ,’ उनले भने ।
मन्त्री खतिवडाले सरकारले बैंकर र उद्योगीबीच ब्याजदरबारे भइरहेको झगडा टुलुटुल हेरेर नबस्ने समेत बताए । ‘बैंक पनि निजी क्षेत्रकै, उद्यमी पनि निजी क्षेत्रकै हुनुहुन्छ’, उनले भने, ‘सरकार सुँड पसार्दै हस्तक्षेप गर्ने सोचमा छैन, तपाईँहरु आफै मिल्नुहोस् ।’
बैंकर–उद्योगी, व्यवसायीको झगडा सरकारलाई मन नपरेको भन्दै अर्थमन्त्री खतिवडाले मिलेर जानुको विकल्प नभएको बताए । ‘यदि सरकारले हस्तक्षेप गर्नुपर्ने हो भने भन्नुहोस्, हामी तयार छौं’ उनले भने ।
अस्वभाविक ब्याजदर रोक्नुपर्ने उनले बैंकहरुलाई सुझाए । ‘अनुचित लाभ लिन निक्षेपकर्ता नलाग्नुहोस्’, उनले भने । बैंकमा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै अर्थमन्त्री खतिवडाले बैंकलाई मर्जमा जान सुझाए ।
‘२८ बैंकमा पनि धेरै भए भन्ने आइरहेको छ,’ उनले भने, ‘तर हामी फोर्स मर्जमा जान बाध्यकारी अवस्था सिर्जना गरेका छैनौं’, उनले भने । आठ दश या २० वटासम्म हुँदा अस्वस्थ्थ प्रतिष्पर्धा हटेर स्वस्थ प्रतिष्पर्धा हुने उनले बताए ।
नेपाल पूर्वाधार बैंकले अन्य बैंकको तुलनामा स्वस्थ प्रतिष्पर्धा र नेतृत्व गर्न सक्नुपर्ने उनले बताए । प्रतिष्पर्धात्मक मात्र नभई परिपूरक भएर बैंकले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । पूर्वाधार बैंकले पर्यटन, जलविद्युत, नविकरणीय उर्जालगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने खतिवडाले बताए ।
तातिसकेको बजारलाई पूर्वाधार बैंकले तताउनुभन्दा पनि विदेशी पुँजीसमेत भित्र्याएर दीर्घकालिन परियोजनामा लगानी गर्न उनले आह्वान गरे ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पूर्वाधार बैंक पूर्वाधारमै केन्द्रीत भएर कारोबार सञ्चालन गर्नुपर्ने बताए । लगानी परियोजना छनौट तथा निर्माणमा पूर्णरुपमा काम गर्न सक्नुपर्ने बताए । पारदर्शीरुपमा उद्देश्यमूलक ढंगले काम गर्न सके पूर्वाधार क्षेत्रमा नमूना काम हुने गर्भनर नेपालले बताए ।
नेपाल पूर्वाधार बैंकका अध्यक्ष अनुज अग्रवालले सरकारको सहयोगले मात्र उद्देश्य हासिल गर्न सक्ने बताए । अबको दशक पूर्वाधार दशक भएको भन्दै पूर्वाधारको विकासका लागि बैंकले मोडल बैंक बनाउने उद्घोष गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले रणनीति बनाएर क्षेत्रगत तहमा लगानी गर्ने बताए । सातवटै प्रदेशमा कार्यालय खोलेर सेवा दिइने उनको भनाइ छ ।