चितवनमा क्रिकेट रंगशाला : सहायक पूर्वाधार निर्माणको काम थालियो
चितवन : चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयाक पूर्वाधार बनाउन थालिएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला क्षेत्रमा सहायक पृर्वाधार निर्माणको काम अघि बढाएको हो ।
क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन अभियान चलिरहेका बेला फाउन्डेसनले मास्टर प्लान निर्माणसँगै पूर्वाधार निर्माण पनि सुरु गरेको हो ।
तीन अर्ब अनुमानित लागतको रंगशाला निर्माणका लागि अहिलेसम्म ५ करोड ५० लाख रुपैयाँ सकंलन भइसकेको छ। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस' का अनुसार रंगशालाको डिजाइन भइरहेको छ भने पूर्वाधार निर्माणको काम पनि थालिएको हो ।
'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको मास्टर प्लान र डिजाइन अगाडि बढेको छ', उनले भने, 'यसका साथै बाउन्ड्री निर्माण, गोदाम घर तयारी र साइट अफिस निर्माणको काम तीब्र रूपमा अगाडि बढेको छ ।'
फाउन्डेसनले रंगशालासम्म पुग्ने सडक विस्तारको कामलाई पनि तीब्र पारेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि रु तीन अर्ब लाग्ने जनाएको छ । सबै नेपालीलाई अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय भन्दा पहिले नै बनाउन सकिने कट्टेलले बताएका छन् ।अध्यक्ष कट्टेलका अनुसार आर्थिक सहयोग जुटाउन देशका सबै जिल्लामा समिति गठन भइरहेको छ । क्रिकेट स्टेडियमका लागि आफूहरुले अन्तिम पटक गुहार मागेको उनले बताएका छन् ।
फाउन्डेसनले रंगशाला परिसरमा फरक फरक ३५ खेल खेलाउने गरी पूर्वाधार डिजाइन भइरहेको जनाएको छ। रङ्गशालाका लागि प्राप्त २० बिघा ६ कट्ठा जग्गा संरक्षणको काम पनि भइरहेको अध्यक्ष कट्टेलले बताए । फाउन्डेसनले रङ्गशालालाई खेलकूद एकेडेमी बनाउने गरी काम थालेको पनि उनले सुनाए ।