आठ वर्षपछि अभियुक्त पक्राउ, दुई अझै फरार, एकको मृत्यु
दैलेख : आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
भगवतीमाई गाउँपालिका–६ का ३८ वर्षीय टोपबहादुर सिंहलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला अदालतले सोही ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरलाई हत्या गरेको भन्दै २०६७ चैत २३ गते अभियुक्त सिंहलाई २० वर्ष कैद सजायको फैसला गरेपछि उनी फरार थिए ।
सिंहसँगै कैद सजाय तोकिएका थप तीनजनामध्ये एकजनाको मृत्यु भइसकेको र दुईजना अझै फरार रहेको जिल्ला प्रहरी प्रमुख एीसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
२०६२ कार्तिक १८ गते भैलो खेलिरहेको अवस्थामा अभियुक्त सिंहसहितको समुहले पुनको हत्या गरेको भन्दै मृतकका परिवारले प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए ।