खेलाडीले पैसा पाउँदा प्रशिक्षकको हात रित्ताे
काठमाडौं : कुनै पनि प्रतियोगितामा खेलाडीसँगै प्रशिक्षकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेट खेलाडीको दुई वर्षदेखिको तलब एकैपटक निकासा गरे पनि प्रशिक्षकको तलब भने दिएको छैन ।
खेलाडीले तलब पाउँदा प्रशिक्षकको हात रित्तै हुने भएको छ । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले आईसीसीले प्रशिक्षकको तलब नपठाउनु आश्चर्यको विषय भएको बताए ।
‘आईसीसीले पहिल्यै गरिएको खेलाडीको वरीयताका आधारमा उनीहरूको तलब पठाएको छ । हामी कुनै पनि प्रशिक्षकको तलब पठाएको छैन । नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनुअघि नै क्यानसँग मलाई मासिक ५० देखि ७५ हजार रुपैयाँ दिने सहमति भएको थियो । क्यान निलम्बनमा परेपछि टोलीको प्रशिक्षण सम्हाले पनि आईसीसीले पैसा पठाएको छैन,’ टमटाले भने ।
प्रमुख प्रशिक्षक टमटाले आफूलाई आईसीसीले १५ हजार रुपैयाँ दिने प्रस्ताव राखे पनि त्यो प्रस्ताव आफूले अस्वीकार गरेको पनि बताए । आईसीसीले क्रिकेट खेलाडीको तलब राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खातामा पठाएको छ । क्यान दुई वर्षभन्दा लामो समयदेखि आईसीसीको निलम्बनमा छ । आईसीसीले नेपाली क्रिकेटमा आन्तरिक विवाद बढेको कारण देखाउँदै २०७३ साल वैशाख १२ गतेदेखि क्यानलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेटको व्यवस्थापन आईसीसीले नै हेरिरहेको छ ।
आईसीसीले प्रशिक्षकसहित फिजियो, यू–१६ र यू–१९ उमेर समूहको प्रशिक्षकलाई पनि तलब दिएको छैन । खेलाडीको तलबका लागि प्रशिक्षक टमटा र कप्तान पारस खड्काले नै आईसीसीसँग पहल गरेका थिए । प्रशिक्षक र खेलाडीकै सहमतिमा २६ जना खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी आईसीसीमा पठाइएको टमटाले बताए ।
आईसीसीले २१ जना खेलाडीको मात्र दुई वर्षको तलबबापत एक करोड २७ लाख ८७ हजार सात सय ८२ रुपैयाँ राखेपको खातामा पठाएको छ । आईसीसीले ‘ए’ श्रेणीमा पर्ने खेलाडीलाई मासिक ३५ हजार, ‘बी’ श्रेणीमा पर्ने खेलाडीलाई मासिक २५ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीलाई मासिक १५ हजार रुपैयाँ तलब पठाएको हो । आईसीसीले अन्य पाँचजना खेलाडीको पैसा पनि पठाएको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर आईसीसीले पैसा पठाएकोले केही खेलाडीलाई नदिइएको हुन सक्ने टमटाले बताए ।