रोहित र आरिफ एनसीसी बैंककाे सद्भावना दूत
काठमाडौं : क्रिकेटरद्वय आरिफ शेख र रोहितकुमार पौडेल एनसीसी बैंकको सद्भावना दूत नियुक्त भएका छन् । उनीहरू दुवैलाई बैंकले बुधबार आयोजित एक कार्यक्रमबीच सद्भावना दूत नियुक्त गरेको घोषणा गर्याे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले क्रिकेटरद्वयलाई सद्भावना दूत नियुक्त गरिएको जानकारी दिए । सम्झौताअनुसार दुवै खेलाडीले बैंकको सद्भाव दूत नियुक्त भएबापत मासिक २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेलाडीद्वयले भने बैंकको प्रचारात्मक कार्यमा सहयोग पुर्याउने छन् ।
सम्झौता आगामी दुई वर्षका लागि गरिएको जानकारी सीईओ अर्यालले दिए । बैंकको सद्भावना दूत नियुक्त भएपछि आरिफ र रोहित दुवै खेलाडीले खुसी व्यक्त गरे । आरिफले भविष्यमा अझ राम्रो प्रदर्शन गर्ने हौसला मिलेको प्रतिक्रिया दिए । ‘एनसीसीले बैंकले क्रिकेट खेलाडीप्रति देखाएको यो मायाले भविष्यमा देशका लागि अझ राम्रो प्रदर्शन गर्ने हौसला मिलेको छ । यस्ता कार्यले नयाँ खेलाडीलाई समेत हौसला दिने विश्वास लिएको छु’, आरिफले भने ।
रोहितले भविष्यमा राष्ट्रिय टोलीबाट अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । ‘यो अवसर जुटाइदिने सबैलाई धन्यवाद दिन चाहन्छु’, रोहितले भने, ‘आगामी दिनमा पक्कै पनि देशका लागि अझ राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौं ।’ बैंकसँग दुबै खेलाडीको अनुबन्धका लागि पूर्वक्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल) का प्रबन्ध निर्देशक आमिर अख्तरले अग्रसरता देखाएका थिए । कार्यक्रममा एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले दुवै खेलाडीलाई बैंकको जर्सी हस्तान्तरण गरेका थिए ।