हिन्दु राष्ट्र माग्दै राप्रपा संयुक्तले सडक तताउने, सरकारको चर्को आलोचना
राजविराज : राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्सेर राणाले हिन्दु राष्ट्रको पहिचान पुनस्र्थापित गरेरै देखाउने बताएका छन् । प्रदेश नम्बर २ को कार्यकर्ता भेलालाई बुधबार राजबिराजमा सम्बोधन गर्दै राणाले कम्युनिष्ट र कांग्रेसले दुर्भाग्यवश मेटेको हिन्दु राष्ट्रको पहिचान सडकमा उत्रेर पुनस्र्थापित गरी छाडने दाबी गरेका हुन् ।
मुलुकमा ८१ प्रतिशत भन्दा बढी हिन्दुहरु रहेको र ९४ प्रतिशत ॐकार परिवारको धर्मले ओगटेको नेपालको मौलिक पहिचान कम्युनिष्ट र कांग्रेस मिलेर मेटेको आरोप लगाउँदै राणाले सगरमाथा र गोर्खालीको नामले झैँ संसारकै एकमात्र हिन्दु राज्य नेपालको परिचय मेट्न नदिने बताए ।
सम्बोधनका क्रममा उनले पृथ्वीनारायण शाह र बहादुर शाहले छरिएर रहेको अलग–अलग बाइसे, चौबिसे राज्यलाई एउटा सिंगो नेपाल बनाई नेपालको सिमाना सिक्किमदेखि किल्ला काँगडासम्म फैलाएको चर्चा गरे ।
‘प्रजातन्त्र ल्याउन २००७ सालमा महाराजाधिराज त्रिभुवनले ठूलो योगदान गरेका कारण बहुदलीय प्रजातन्त्र स्थापना भयो’, उनले थपे । शाह बंशको योगदानको सम्मान हुनुपर्ने र राजाबाटै प्रजातन्त्र आएको बोध गर्नुपर्ने भन्दै राणाले बहुदलीय परिपाटी भित्रिए पनि राष्ट्रपति पार्टीहरुप्रति पक्षपाति रहेको आरोप लगाए ।
उनले राष्ट्रपति भन्दा पुरानो संरचनाकै राजसंस्थाबाट मात्र निष्पक्षताको भूमिका निर्वाह हुने दावी गरे । विश्वमा ठूला भनिएका राष्ट्रहरुमा पनि राजसंस्था रहेको उल्लेख गर्दै उनले नेपालमा पनि अभिभावकको रुपमा राजसंस्था आवश्यक रहेको तर्क गरे ।
वर्तमान सरकारले केन्द्रदेखि स्थानीय तहको वडासम्म भ्रष्टाचारको बिकेन्द्रीकरण गरेको राणाले आरोप लगाए । हिन्दुत्व, मुलुकको प्रगति र आधुनिकीकरणका लागि, मुलुकको हर समस्या समाधान गरी उन्नत राष्ट्र बनाउन आन्दोलनको आवश्यक्ता औल्याउँदै राणाले संगठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले हिन्दु धर्मको माग राख्दै सडकमा उत्रिने चेतावनी दिए । ‘हिन्दु राष्ट्र पुनस्र्थापित गरी छाड्छौं, हिन्दु राष्ट्रको पहिचान मेटिन दिदैनौ, हामी सडकमा उत्रन्छौं,’ लोहनीले भने । नेपालका सबै जाति, भाषा, संस्कृतिका जनता राष्ट्रियता र नेपाली पहिचानको संवाहक हो भन्ने यथार्थतालाई बुझेको राप्रपा (संयुक्त) ले सर्वसाधारण जनताको पक्षमा बोल्ने, लेख्ने र आवाज उठाउने बताए ।
२०४७ सालदेखि अहिलेसम्मको इतिहासमा दुईतिहाइको सरकार बनाउने मौका पाए पनि वर्तमान सरकारले नाटकीय फेरबदल ल्याउन नसकेको भन्दै उनले दुईतिहाइको सरकारले एक वर्षको समय र अवसर खेर फालेको बताए । भ्रष्टाचारमा चुर्लुम्म डुबेको, मधेसको उन्नति, सम्मान नभएको र मधेस आन्दोलनले खोजेको कुरामा सरकारले ठोस कदम चाल्न नसकेको भन्दै अब यसरी मुलुक चल्न नदिने लोहनीले उदघोष गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) माघ १८ गते एक भएपछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)’ राखिएको हो ।
तीन वटा राप्रपा मिलेर २०७३ साल फागुनमा एक भएको राप्रपाले एकता महाधिवेशनबाट कमल थापालाई अध्यक्ष चुनेका थिए । तर, २०७३ चैत १६ गते डा. लोहनीले पार्टी फुटाई एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नाम दिएर निर्वाचन आयोगमा दर्ता गरे । त्यसको करिब एक वर्षपछि २०७४ साउनमा राणा पनि कमल थापासँग छुट्टिए ।