चौधरीको सम्पत्ति १ अर्ब ७० करोड डलर
काठमाडौं : फोर्ब्समा सूचीकृत नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति ६ वर्षको अवधिमा ७० करोड डलर बढेर एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ।
फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ मा विश्वका धनाढ्यको सम्पत्ति विवरणअनुसार चौधरीको सम्पत्ति गत वर्षको तुलनामा २० करोड डलर बढेको छ। विश्वका धनाढ्यमध्ये उनी १३४९औं नम्बरमा परेका छन्। चाउचाउ उद्योगलाई भारतमा तीव्र विस्तार गरेका चौधरीले सर्बियामा फुटप्रिन्ट विस्तार गरेका छन्।
उनले पछिल्ला वर्षमा होटल तथा आतिथ्य सत्कार व्यवसायमा लगानी बढाएका छन्। नेपालबाहेक भारत, चीन, श्रीलंका, युरोप, अमेरिका तथा मध्यपूर्वी देशमा समेत लगानी विस्तार गरेका चौधरीले जलविद्युत् र दूरसञ्चार क्षेत्रमा हात हालेका छन्।
‘सीजी कर्प ग्लोबलअन्तर्गत विभिन्न कम्पनी विश्वभर फैलिएका छन्, तर यस कम्पनीको स्वामित्वको ५० प्रतिशत हिस्सा नेपालमै रहनुपर्छ भन्नेमा म दृढ छु’, उद्योगपति चौधरीले भने, ‘मलाई यो पहिचान नेपालले दिएको हो, मेरो समयको व्यावसायिक उठानको मात्र होइन मेरो बाबुबाजेको व्यावसायको उद्गम बिन्दू हो।’
विनोद चौधरीका हजुरबुबा पुस्ताले नेपालमा कपडा व्यापार गर्थे। उनका पिता लुनकरणदास चौधरीले नेपालकै पहिलो सपिङ मल अरूण इम्पोरियम खोलेका थिए। यद्यपि, यो व्यावसायिक घरनालाई चौधरी ग्रुपका रूपमा प्रतिष्ठित बनाउने काम उद्योगपति विनोद चौधरीको नेतृत्वमा भएको हो।
बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलका अध्यक्ष चौधरी सन् २०१३ मा एक अर्ब अमेरिकी डलर सम्पत्तिसहित फोर्ब्समा सूचीकृत भएका थिए।
विश्वका सबैभन्दा धनी व्यक्ति यस वर्ष पनि अमेजन कम्पनीका संस्थापक जेफ बेजोस बनेका छन्। फोर्ब्सका अनुसार उनको सम्पत्ति एक खर्ब ३१ अर्ब अमेरिकी डलर छ। उनको सम्पत्ति गत वर्षभन्दा १९ अर्ब अमेरिकी डलर बढेको हो।
यस्तै, ९६.६ अर्ब अमेरिकी डलरसहित बिल गेट्स दोस्रो स्थानमा पर्न सफल भएका छन्।
तेस्रो स्थानमा वारेन बफेट छन्। उनको सम्पति ८२.५ अर्ब डलर छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग ६२.३ अर्ब डलरसहित आठौं स्थानमा छन्।