विभेदका घटनाहरु

विभेदका घटनाहरु

केही वर्षपहिलेका बैतडी जिल्लाका घटना हुन् यी। गर्मीका दिनहरूमा स्कुलमा बिहानी कक्षा सञ्चालन हुन्थे। स्कुल छुट्टी भएर घर फर्किंदा प्रचण्ड गर्मी हुन्थ्यो। गर्मीले प्यास लाग्थ्यो। खोला तल थियो, तर खोलामा पुगेर पानी पिउने हिम्मत आएन।

केही साथीहरू खोलामै पुगेर पानी पिएर आए। मेरै कक्षामा पढ्ने महर जातकी साथीले खोलाबाट बोतलमा पानी ल्याएकी थिइन्। त्यसअघि सँगै हिँडे पनि हामीले उनको बोतलबाट कहिल्यै पानी पिएका थिएनौं। त्यस दिन धेरै प्यास लागेकाले कसैले देखेको छैन पो भनेर मैले उनकै बोटलबाट पानी पिएँ। पानीको स्वाद उस्तै थियो। मेरो मनमा प्रश्न जन्मियो– उनले छोएको पानी किन नखानु भनेको होला ?

महर जातकी साथीको बोतलको पानी पिएको कुरा अर्को साथीले मेरी आमालाई सुनाइदिइछन्। आमाले मलाई एक चड्कन हान्नुभयो र भन्नुभयो– अब पनि यसै गरिस् भने घरमा आउन दिन्न। त्यसपछि मैले ती साथीसँग पानी मागेर कहिल्यै खाइनँ। त्यस बेला स्कुलबाट फर्किएर पानीको छिटाले चोख्याएपछि मात्र हामी घरभित्र पस्न पाउँथ्यौं। किनभने हामीले महर साथीलाई छोएका हुन्थ्यौं। घरबाहिर एउटा भाँडोमा पानी र त्यसमा हरियो घाँस राखिएको हुन्थ्यो। त्यो घाँसले हामी आफैं छिटा हाल्थ्यौं।

अहिले त्यहाँ तल्लो जात, माथिल्लो जात भनेर गरिने भेदभावमा केही फरक आएको छ। माथिल्लो जातकाले मलाई किन छोइस् भनेर सीधै गाली गर्दैनन्। नयाँ पुस्ताले तल्लो भनिने जातलाई छुँदा आफूलाई अप्ठ्यारो मान्ने गर्दैनन्। पानी छिटा हालेर चोख्याउने पनि बन्द गरिसकेका छन्। धामीझाँक्री र बूढापाकाले भने अझै पनि आफूलाई बदल्न सकेका छैनन्। देउता रिसाउने नाममा उपल्लो जातले पूजा गर्ने मन्दिरमा भने अझै पनि दलितलाई प्रवेश निषेध छ।

०००

केही वर्षअगाडि गाउँका युवाको अथक् प्रयास र परि श्रमले टाढाको खोलाबाट पानी ल्याइएको थियो। एउटा ट्यांकी बनाएर धारा जडान गरिएको थियो। त्यसको अगुवाइ मेरा दाइले गर्नुभएको थियो। माथिल्लो जातलाई पानीको सुविधा भएपछि उनीहरू धारबाट पानी भरेर ल्याउन थाले, तर दलितहरूलाई टाढाको खोलामै गएर पानी भर्ने बाध्यता थियो। दाइले उनीहरूको त्यो बाध्यता देख्न सक्नुभएन।

दलितले पनि धाराबाट पानी भर्दा के नै फरक पर्छ र भन्दै उनीहरूलाई पानी भर्न दिए। गाउँका धामीझाँक्री तथा बूढापाकाले दलितले पानी भरेको सहन सकेनन्। सबै मिलेर दाइलाई कुटे। ज्यान बचाउन दाइ भागेर अर्को गाउँमा गएर बस्नुभयो। सबैले गाउँमा दाइलाई बस्न नदिने सल्लाह गरे। कुट्नेमा भारतीय सेनामा वर्षौं जागिर गरेर अवकाश पाएकाहरू पनि थिए। दलितहरूलाई धारबाट पानी भर्न बन्द गर्ने सर्तमा दाइलाई गाउँमा फर्कन दिइयो।

०००

छोराछोरीप्रतिको भेदभावले पनि विकट रूप लिँदैछ। लिंग पहिचान गरेर भ्रूण हत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार नेपालमा बयालीस प्रतिशत सुरक्षित तरिकाले गर्भपतन गराइन्छ भने अन्ठाउन्न प्रतिशत असुरक्षित तरिकाले गर्भपतन गराइने गरिन्छ। असुरक्षित गर्भपतनमा गराउनेमा लिंग पहिचान गरेर छोरी भए भ्रूण हत्या गर्नेको संख्या सबभन्दा बढी छ। यसमा शिक्षित वर्ग पनि त्यत्तिकै सामेल छन्। त्यसैले ‘बेटी बचाओ’ अभियान सञ्चालन हुन थालेका छन्।

हरेक पोलपोल, गाडी, घर, स्कुल, मन्दिर आदिमा पोस्टर टाँसेर होस् या पत्रपत्रिका, रेडियो तथा टेलिभिजनबाट जनतामा छुवाछूत हटाउनेबारे जनचेतना जगाउन जरुरी छ।

अहिले पनि गाउँघरमा छोरालाई टाढाका राम्रा स्कुल या होस्टेलमा राखेर जसरी पनि पढाउने तर छोरीलाई घरमै काम गर्न लगाउँछन्। मेरै परिवारमा पनि पाँचजना भाइले स्नातकोत्तरसम्मको पढाइ गरेका छन् भने सातजना बहिनीहरू निरक्षर छन्। एउटीले पनि स्कुलको आँगन टेकेका छैनन्। निरक्षर भएकाले कतिपय केटीको उमेर पुग्दा पनि बिहे हुन सकेको छैन। घर, गोठ गर्दै उनीहरू दिन काटिरहेका छन्। छोरीलाई पनि छोरासरह स्कुल पठाउनुपर्छ, शिक्षा दिनुपर्छ भन्ने चेतना त्यहाँका जनतामा आउन सकेको छैन।

०००

बैतडी जिल्लाका विभिन्न मन्दिरहरूमा अझै पनि देउकी प्रथाको अन्त्य हुन सकेको छैन। सानै उमेरमा चेलीबेटीलाई धनी तथा छोरी नहुनेहरूले किनेर मन्दिरमा चढाउने गर्छन्। चढाइएका छोरीहरूले सँधैभरि मन्दिरको पूजा, रेखदेख आदिमा ध्यान दिनुपर्छ। उनीहरूले आफूखुसी बिहे गर्न पाउँदैनन्। धेरैजसो आर्थिक संकटमा फसेका हुन्छन्।

छोराछोरीको लालनपालन, पढाइ एक्लै आमाको काँधमा हुन्छ। सँगै मन्दिरमा पूजा गर्ने पुरुष पुजारीहरूको भने आफ्नो छुट्टै परिवार हुन्छ, जहाँ उनीहरू रमाएका हुन्छन्। देउकीहरूलाई भने परिवारबाट एक्ल्याइएको हुन्छ।

०००

नियमकानुन र राजनीतिक परिवर्तन आदिले हटाउन नसकेको एउटा विभेद छुवाछूत पनि हो। गाउँघरमा धेरैजसो मान्छेहरू हिन्दुधर्म मान्ने भए पनि कसैले मन्दिरमा जान पाउने तर दलितहरूलाई छुनै नहुने, मन्दिरभित्र पस्नै नहुने, उपल्लो जातिका घर, सार्वजनिक धारा, कुवा आदि छुनै नहुने कुरीति अहिले पनि व्याप्त छ। हाम्रो घरमा लुगा सिलाएबापत खलो (अन्न) माग्न आउने दमाइ दाइलगायत अन्य दलितहरू भने अपरिचित ठाउँका मन्दिरमा सजिलै प्रवेश पाउँछन्।

पशुपतिनाथ मन्दिरमा विनारोकटोक उनीहरू दर्शन गर्न सक्छन्। कानुनले छुवाछूतलाई वर्षौंपहिले दण्डनीय माने पनि गाउँघरमा अहिलेसम्म पनि दलितहरू छुवाछूतको जीवन जिउन बाध्य छन्। दलितहरूभित्रै पनि छुवाछूतको चलन छ। जस्तो– दमाईले छोएको लोहारले खाँदैनन्। सार्कीले छोएको दमाईले खाँदैनन्। नेवारी जातिमा पनि यस्तै जातपातका समस्या छन्।

कानुनमा मात्र लेखिदिएर छुवाछूतको निराकरण नहुँदो रहेछ। व्यापक रूपले हरेक पोलपोल, गाडी, घर, स्कुल, मन्दिर आदिमा पोस्टर टाँसेर होस् या पत्रपत्रिका, रेडियो तथा टेलिभिजनबाट जनतामा छुवाछूत हटाउनेबारे जनचेतना ल्याउन जरुरी छ। समाजमा गढेर रहेका छाउपडी, झुमा, बोक्सी, छुवाछूत आदि भेदभाव तथा कुप्रथा हटाउन स्थानीय सरकार, प्रदेश सरकार तथा जनसमुदायले गम्भीर रूपमा पहल गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.