बार निर्वाचनमा दुई पक्षीय टक्कर
काठमाडौं : नेपाल बार एसोसिएसनको चुनावमा लोकतन्त्रवादी समूह र प्रगतिशील समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चैत १६ गते हुने निर्वाचनमा बारको अध्यक्ष्मा ८ जनाले प्रतिस्पर्धा गर्दै छन्। दुवै समूहका नेतृत्व यतिबेला चुनाव प्रचारका लागि देशव्यापी दौडाहामा छन्। लोकतन्त्रवादी समूहले अधिवक्ता सुनिल पोखरेलको नेतृत्वको प्यानललाई चुनावी मैदानमा उतारेको छ।
समूहले प्रदेश १ उपाध्यक्षमा अधिवक्ता डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीरकुमार कर्ण, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरञ्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनिलकुमार श्रेष्ठ, कर्णाली प्रदेशमा उत्तमप्रसाद आचार्य र सुदूरपश्चिम प्रदेशमा ठेकेन्द्रराज जोशीलाई उम्मेदवार बनाएको छ। महिला उपाध्यक्षमा कविता थापा कार्की, महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावललाई उम्मेदवार बनाएको छ।
बारको आधुनिकीकरण, कानुन व्यवसायीको पेसागत सुरक्षा, स्वतन्त्र, सक्षम तथा भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिका, अभिव्यक्ति स्वतन्त्रता र संस्थागत स्वायत्तता, कानुन व्यवसायीको प्राज्ञिक एवं व्यावसायिक क्षमता र अन्तर्राष्ट्रिय सहभागिता जस्ता मुद्दालाई यो समूहले चुनावी नारा बनाएको छ। आफूलाई राजपा र राप्रपाको समेत समर्थन रहेको दाबी समूहले गरेको छ। ‘पेसागत हक हितको रक्षाका अलावा निर्देशित र नियन्त्रित शासनविरुद्ध हाम्रो प्रतिबद्धता छ’, अधिवक्ता पोखरेलले भने।
प्रगतिशील, पेसागत तथा समावेशी समूहले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्यानललाई चुनावी मैदानमा उतारेको छ। यो समूहबाट प्रदेश १ को उपाध्यक्षमा मानबहादुर रुम्दाली, प्रदेश २ मा रामचन्द्र सिंह, प्रदेश ३ मा ईश्वरीप्रसाद भट्टराई, प्रदेश ५ मा लीलाधर मरासिनी, गण्डकी प्रदेशमा सुरेन्द्र थापा मगर, कर्णाली प्रदेशमा मीनबहादुर महत, सुदूरपश्चिममा उमेशप्रसाद विष्टले उम्मेदवारी दिँदै छन्। महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा अधिवक्ता सुरेन्द्रबहादुर थापा र कोषाध्यक्षमा रुद्र पोखरेललाई समूहले चुनावी प्रतिस्पर्धामा उतारेको छ।
यो समूहले स्वतन्त्र, सक्षम र भ्रष्टाचारमुक्त न्यायपालिका, कानुनी शिक्षा एवं भौतिक पूर्वाधार विकास, लयर्स एकेडेमीमार्फत नवोदित कानुन व्यवसायीलाई तालिम, स्मार्ट बारको अवधारणा अघि सारेको छ। ‘जहाँ सुनुवाइ त्यहाँ बार भन्ने हाम्रो नारा छ। अर्धन्यायिक निकायमा होस् या स्थानीय निकाय जहाँ पनि कानुन व्यवसायीको पहुँच सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ’, प्रगतिशील समूहतर्फ अध्यक्षका उम्मेदवार श्रेष्ठले भने। उनले ‘मुटकोर्ट’ को आधारभूत तालिम, सुशासनका लागि लिगल अडिट कार्यक्रमजस्ता योजनासमेत रहेको बताए। यो समूहले पनि आफ्नो प्यानल समावेशी रहेको दाबी गरेको छ।
यता नेमकिपानिकट कानुन व्यवसायी रामप्रसाद प्रजापति, नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट डा.पुण्यप्रसाद खतिवडा, नयाँ शक्ति पार्टी निकट कृष्ण शर्मा र स्वतन्त्रमा विराट न्यौपाने र तोयानाथ ढुंगाना पनि अध्यक्षको प्रतिस्पर्धामा उत्रेका छन्। यसपल्टको बार निर्वाचनलाई पुरानो पुस्ता र युवा पुस्ताबीचको ‘भद्र संघर्ष’ का रूपमा हेरिएको छ। चुनावमा लोकतन्त्रवादी र प्रगतिशील समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। बार निर्वाचन समितिका अधिकृत शिवप्रसाद रिजालका अनुसार २५ सदस्यीय केन्द्रीय समितिका लागि १० हजार ३ सय १३ कानुन व्यवसायी मतदाता छन्। ८८ बार इकाइका मतदाताले देशभरिका ३५ केन्द्रमा मतदान गर्ने छन्। ‘मत गणना केन्द्रमा ल्याएर गरिनेछ’, रिजालले भने।