संसद् बैठकमा विद्यार्थी

संसद् बैठकमा विद्यार्थी

बुटवल : प्रदेश ५ सभाको बुधबारको बैठकमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले बालबालिकाको हक अधिकार संरक्षणसम्बन्धी विधेयक प्रस्तुत गर्दैगर्दा विद्यार्थी ध्यान दिएर सुनिरहेका थिए। प्रस्तुत विधेयकमाथि सैद्धान्तिक छलफल भयो। नेकपाकी सांसद दीपा विकले विद्यालयमा शिक्षकले विद्यार्थीलाई यातना दिए कडा कारबाहीको व्यवस्था विधेयकमा हुनुपर्ने माग गरिन्। आफ्नै पक्षका कुरा सांसदले बोलेको सुनेपछि बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थी मुखामुख गर्न थाले।

कानुन विषय पढ्ने कक्षा ११ र १२ का विद्यार्थीका लागि संसद् बैठक पहिलो अनुभव थियो। कक्षा ११ मा पढ्ने मुना श्रेष्ठलाई संसद् बैठकमा भनाभन र चर्काचर्की हुन्छ भन्ने लागेको थियो। तर, बुधबारको बैठक उनले सोचेभन्दा निकै फरक भयो। ‘मैले त यस्तो अनुशासनयुक्त हुन्छ भन्ने त सोचेकै थिइनँ, श्रेष्ठले भनिन्, ‘जिकज्याक हुन्छ भन्ने सुनेकी र टिभीमा देखेकी थिएँ। तर, फरक हुँदो रहेछ।’

कालिका विद्यालयका ५५ जना विद्यार्थी बुधबारको बैठकभर दर्शकदीर्घामा बसे। बैठकमा बसिरहँदा कक्षा १२ मा अध्ययनरत पुरुषोत्तम भण्डारीलाई संसद्ले कसरी बोल्छन्, के–के भन्छन् भन्ने विषयमा रुचि थियो। सभामुखले नाम भनेपछि मात्रै सांसद उठेर रोस्ट्रममा गएको आफ्ना धारणा राखेको दृश्य उनका लागि नौलो थियो। ‘प्रत्यक्ष रूपमा हेर्न पाउँदा निकै रमाइलो हँुदो रहेछ, संसद् भनेको अनुशासित र जनताको कुरा बोल्ने थलो रहेछ भन्ने बुझ्ने र सिक्ने अवसर भयो,’ उनले भने।

कानुन पढ्ने विद्यार्थीका लागि विधेयक, ऐनको सैद्धान्तिक पक्ष नौलो थिएन। तर, ती कानुन कसरी तयार हुन्छन् भन्ने कुरा संसद्मा पुगेपछि मात्रै विद्यार्थीले बुझ्न पाए। कक्षा १२ की रचना भुसाल, बबिता अर्याल बैठकपछि हर्षित मुद्रामा अनुभव साटासाट गर्दै थिए। अर्की विद्यार्थी सिमाना थापा क्षेत्रीले निकै कुराको ज्ञान भएको सुनाइन्। ‘जनताका प्रतिनिधिसँग बसेर जनताकै लागि बनाइने कानुन कसरी बन्छ भन्ने कुरा हेर्न पाउनु महत्त्वपूर्ण लागेको छ,’ उनले भनिन्, ‘जनप्रतिनिधि साँच्चिकै जनताका विषयमा बोल्नुहुँदोरहेछ।’

संघीय मुलुकको संरचनाका कारण विद्यार्थीले गाउँसहरमै संसद्को अनुभव बटुल्ने अवसरसमेत पाए। विद्यालयका शिक्षक दामोदर घिमिरेले सैद्धान्तिक विषयलाई प्रभावकारी सिकाइका लागि प्रत्यक्ष रूपमा संसद्मै विद्यार्थी ल्याइएको बताए। त्यसका लागि विद्यालयले प्रदेशसभा सचिवालयसँग अनुमति मागेको थियो। ‘कक्षाकोठामा पढ्ने कुरा प्रत्यक्ष देख्दा सिकाइ उपलब्धि प्रभावकारी हुन्छ,’ उनले भने, ‘यहाँ आएको देखेको कुरा विद्यार्थीले बिर्संदैनन्।’

कालिका मानवज्ञानले कानुन पढ्ने विद्यार्थीलाई अदालती बहसमा सहभागी गराउँदै आएको थियो। विद्यार्थीमा व्यावहारिक ज्ञानका लागि पहिलो पटक संसद् भवन अवलोकन गराइएको शिक्षक घिमिरेले जानकारी दिए। बैठकमा सहभागी विद्यार्थीले प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारूसँग फोटो मात्रै खिचेनन् अनुभव आदानप्रदानसमेत गरे। उनीहरूले संसद्मा हुने छलफल, सभामुख तथा सांसदको भूमिका, विधेयक प्रस्तुत र त्यसमाथिको छलफल हेर्ने मौकासमेत पाए।

समितिको म्याद थप

बुधबारको प्रदेशसभा बैठकले राजधानी र नामकरणका लागि सुझाव दिन गठित समितिको तीन महिना म्याद थपेको छ। साउनमा गठित समितिको म्याद यसअघि पनि तीन महिना थपिएको थियो। थपिएको म्यादमा प्रतिवेदन तयार पार्न नसकिएको भन्दै समितिले समय मागेपछि तीन महिना थप गरिएको सभामुख घर्तीले संसद्मा जानकारी गराए। समितिले १२ वटै जिल्लाबाट सुझाव संकलन गरेको छ।

बैठकमा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालनसम्बन्धी विधेयक र बालबालिकाको हक, अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो। छलफलमा सांसद जाल्पा भुसाल, दीपा विक, गीता थापा, तिलकराम शर्मालगायत सहभागी थिए। त्यस्तै, सामाजिक विकासमन्त्री बरालले खेलकुदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकसमेत संसद्मा पेस गरेका छन्। संसद्को अर्काे बैठक फागुन २६ गते बस्दै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.