गोर्खा बियरको नयाँ अभियान, नेपालीपन, गोरखाली मन
काठमाडौं : गोर्खा बियरले ‘नेपालीपन, गोर्खाली मन’ लाई सात स्थानीय भाषामा प्रस्तुत गर्ने योजना ल्याएको छ। नेपालभर ब्रान्डको पहुँच विस्तार गर्ने उद्देश्यले कम्पनीले यो योजना अघि सारेको हो। ब्रान्डले पहिलोपटक आफ्नो मास क्याम्पेनलाई स्थानीयमाझ पुर्याउने कोसिस गरेको छ। संस्कृतिको सबैभन्दा मुख्य भाषालाई जोड दिँदै कम्पनीले आफ्नो क्याम्पेनलाई नेवारी, गुरुङ, तामाङ, लिम्बू, मैथिली, भोजपुरी र थारु भाषामा प्रस्तुत गर्ने जमर्काे गरेको छ।
कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जब उपभोक्तासँग जोडिने कुरा आउँछ, गोर्खा बियरले बिरलै कुनै कसर बाँकी राख्छ। पूर्वदेखि पश्चिमसम्म पहुँच बढाउन अघि सारेको ‘नेपाली पन, गोर्खाली मन’ क्याम्पेन स्थानीय रूपमा अघि बढाउन ब्रान्ड तयार छ। स्थानीय भाषालाई क्याम्पेनको रूपमा प्रयोग गर्दै देश सुहाउँदो बनाउने सोच ब्रान्डको छ।’
राष्ट्रिय भाषा नेपाली भए पनि मुलुकमा विभिन्न जातीय समुदायले मौलिक भाषा बोल्छन्। त्यस्ता समुदायलाई लक्ष्य गर्दै योजना अघि बढाएको कम्पनीले जनाएको छ। स्थानीय भाषामा प्रस्तुत हुँदा उनीहरूसँगको पहुँच सहज हुने विश्वास कम्पनीको छ।