कैलालीमा २ किलोभन्दा बढी सुन र चाँदीसहित दुईजना पक्राउ
धनगढी : कैलाली प्रहरीले २ किलो ३ सय ३२ ग्राम सुन र चाँदीका भाडासहित २ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-१ बस्ने ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीया सीताकुमारी चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।कैलालीको पूर्वी क्षेत्र चिसापानीमा चेकजाँचका क्रममा सोमबार राति ११ बजे सुन र चाँदीसहित दुईजना पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए। प्रहरी उपरीक्षक तिम्सिनाले कहाँबाट के कामका लागि ल्याएको हो भन्ने थप अनुसन्धान पछि मात्र थाह हुने बताए।
मध्यरातमा पक्राउ गरिएको सैजु धनगढीकै सुन व्यावसायी हुन्। उनीसँग एक किलो ३ सय ग्राम सुन खरिद गरेको विल भेटिए पनि एक किलो सुनको भने विल नभेटिएको प्रहरीले जनाएको छ। व्यापारीले उक्त सुन काठमाडौंबाट खरिद गरेर ल्याएको दाबी गरेको प्रहरीको उपरीक्षक तिम्सिनाले जानकारी दिए।
यस्तै प्रहरीले बरामद गरेको चाँदी वडर भएको काठको प्रेम ४३ थान, चाँदीको टिकादानी १२ थान, चाँदीको करुवा १०, चाँदीको सतपाला ७, चाँदीको आचमनी ३२, चाँदीको पञ्चपाक ३२, चाँदीको आँठी १८ बरामद हो।
यस्तै उनीहरु चढेको बा ११ च ७४१३ नम्बरको कार र मोबाइल ३ थान पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ। सामानसहित पक्राउ परेका व्ययक्तिलाई बिहीबार नै राजस्व अनुसन्धान शाखामा पठाइने प्रहरीले जानकारी दिएको छ।