जर्मनीको पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत
काठमाडौं : जर्मनीको बर्लिनस्थित विश्वकै ठूलो पर्यटन मेलामा एक सय दिगो पर्यटन गन्तव्यहरुमध्ये एसिया प्यासिफिक क्षेत्रबाट दिगो गन्तव्यको रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको छ ।
मेलाकै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भव्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेका प्रयत्न र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् ।
सय दिगो पर्यटन गन्तव्यहरुको छनोट प्रक्रियामा विशेषत दिगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहभागिता तथा सहकार्य थियो । पुरस्कारसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दिगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुनु गौरवको कुरा रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले बताएका छन् ।
नेपालले दिगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागत क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारण बर्दियालाई यो सम्मान प्रदान गरिएको बताइएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका थिए ।