थपिँदै पाँचतारे होटल
काठमाडौं : स्तरीय होटल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै पाँचतारे होटलको संख्या बढ्न थालेको छ। पर्यटन विभागका अनुसार विगत १५ महिनामा तीनवटा पाँचतारे होटल थपिएका छन्।
गत वर्षको मंसिरमा थपिएको रूपन्देहीको टाइगरवान नामक पाँचतारे होटलपछि यो वर्ष मात्रै दुईवटा थप भएको छ। बाँकेको नेपालगन्जमा सोल्टी बेस्टेन्ड प्रिमियर र कोहलपुरमा होटेल सेन्ट्रल प्लाजाले पाँचतारेको अनुमति पाएका छन्। लामो समयपछि नेपालमा थपिएका यी तीनवटै होटल काठमाडौं बाहिरका हुन्। यस अघिका पाँचतारे होटल अधिकांश काठमाडौंमा मात्रै सीमित छन्। पछिल्लो समय काठमाडौंसँगै बाहिर पनि व्यावसायिक आकर्षण देखिएको छ।
पाँचतारे होटल आफ्नो अनुकूलताअनुसार निर्माण गर्ने र सञ्चालनका क्रममा मन्त्रालयबाट स्तर वर्गीकरण गराउन आउने गर्छन्। जबसम्म होटल स्तर वर्गीकरणमा आउँदैन तबसम्म कुन होटल कहाँ बनिरहेको छ भन्ने जानकारी मन्त्रालयसमक्ष आउँदैन। होटल निर्माणपूर्व सबैले जानकारी नदिने भए पनि निर्माणपछि सञ्चालनका निम्ति स्तर वर्गीकरणमा आउनेमा पाँचतारेको आकर्षण देखिन थालेको पर्यटन विभागका अधिकारी बताउँछन्।
नेपालमा पाँचतारे होटलको संख्या १३ पुगेको छ। यसमध्ये ११ वटा सञ्चालनमा छन्। पाँचतारे होटल पोखराको फूलबारी र काठमाडौंको एभरेस्ट भने हाल बन्द छन्। यीबाहेक हाल सञ्चालनमा हरेका पाँच तारे होटलमा ताहाचलको सोल्टी होटेल, बौद्धमा तारागाउँ रिजेन्सी (हायात) होटेल, दरबारमार्गमा याक एन्ड यती, दरवारमार्गमै होटेल डेल अन्नपूर्ण, लाजिम्पार्टमा होटेल सांग्रिला र लैनचौरमा मल्ल होटेल छन्। यस्तै, लाजिम्पाटमै र्याडिसन होटल, पोखरामा ग्रान्ड, रूपन्देहीमा टाइगरवान प्यालेस, नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर र सेन्ट्रल प्यालाजा सञ्चालनमा छन्।
नेपालमा पाँचतारे होटलको संख्या १३ पुगेको छ। यसमध्ये ११ वटा सञ्चालनमा छन्।
एभरेस्ट हस्पिटालिटी ग्रुपको होटल, भैरहवामा पवन प्यालेस र काठमाडौंमा छायाँ सेन्टरमा अलफ्ट होटल सञ्चालनको तयारीमा छन्। काठमाडौं शेराटनले पनि पाँचतारे होटल निर्माण गरिरहेको जानकारी पर्यटन विभागले दिएको छ। विभागको सम्पर्कमा नआएका भए पनि पाँचतारेकै लागि तयारी गरिरहेका होटलको संख्या भने उत्साहप्रद रहेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।
उनका अनुसार पहिल्यै मन्त्रालयसमक्ष आउनु नपर्ने र सञ्चालनका क्रममा स्तर वर्गीकरणको निम्ति मात्रै आउने गरेकाले निर्माणाधीनको लगत भने हुँदैन। तर, पाँचतारे प्रतिको व्यावसायिक आकर्षण भने निकै उत्साहप्रद रहेको बुझाइ घिमिरेको छ। उनका अनुसार सिजनमा ९० प्रतिशतसम्म र अफ सिजनमा ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी होटलमा देखिएको छ। यसले पनि होटलप्रतिको आकर्षण बढेको देखिन्छ।
पछिल्लो समय नेपालमा बढ्दै गएको विदेशी पर्यटकको संख्यासँगै होटल निर्माणले गति लिएको छ। ‘चार र पाँचतारे होटलमा बस्नेको पर्यटक अन्य स्तरीयको तुलनामा बढी देखिन थालेका छन्’, होटल संघ नेपालका महासचिव विनायक शाहले भने। सहरी क्षेत्र बढेसँगै हुने व्यापारिक गतिविधिले हस्पिटालिटी सेवा केन्द्रित व्यवसाय पनि फस्टाउँदै गएको हो। चार र पाँच तारेमा तीन तारेसम्मका होटलको तुलनामा अकुपेन्सी पनि बढी हुने गर्छ।
हुन त अहिले भएकै होटल, रिसोर्ट, होमस्टेसहितको क्षमता २५ लाखसम्म पुगिसकेको छ। आन्तरिक र बाह्य पर्यटक पर्यटकसँगै बढेको व्यापारिक चहलपहलका कारण होमस्टेदेखि स्तरीय होटलको प्रयोग पनि बढेको शाहले बताए। अन्तर्राष्ट्रिय चेनका होटल र यसले तान्ने पर्यटकले सकारात्मक गति समाउन थालेको बुझाइ उनको छ।
पर्यटकीय सेवा र सुविधाकै निम्ति पाँचतारे होटल निर्माण गरेर सञ्चालनको अन्तिम तयारीमा भैरहवाको पवन प्यालेस पनि छ। यो होटल दुई महिनापछि सफ्ट लन्चिङ गर्ने र ६ महिनामै होटल पूर्णरूपले सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको पवन प्यालेसका सञ्चालक पवन हलुवाइले अन्नपूर्णलाई बताए।
हलुवाइले भने, ‘करिब दुई अर्ब लगानीमा एक सय ४७ कोठाको होटल बनाएका छौं। यो होटल स्तरीकरण हुँदा पाँचतारेको अनुमति पाउने गरी मापदण्ड पूरा गरेर बनाइरहेको पनि उनको भनाइ छ। सरकारले होटलको मापदण्ड २०७० मार्फत काठमाडौं बाहिर ८० कोठाभन्दा बढीका होटललाई पाँचतारेमा स्तरीकरण गर्न सक्ने व्यवस्था छ। यसले सोभन्दा बढीको कोठा राखेको र सोहीअनुसारको आवश्यक सेवा सुविधा दिएकाले पाँचतारेको मान्यता पाउनेमा ढुक्क भएको होटलको भनाइ छ।
यस्तै पाँचतारेकै रूपमा तयारी गरिरहेको छायाँ सेन्टरमा अलफ्ट होटेल, नक्सालमा शंकर ग्रुपको डबल ट्री हिल्टन, नक्सालमै द एभरेस्ट हस्पिटालिटी ग्रुपको होटलले आवश्यक तयार गरिरहका छन्। होटल संघ नेपालका अनुसार निर्माणको घोषणा गरेका र आवश्यक संरचनाको तयारीमा जुटेका पाँचतारे होटलको संख्या एक दर्जनभन्दा बढी छ।