संघीय संरचनामा महिलाको प्रतिनिधित्व वृद्धि : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताएका छन्। उनले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व उल्लेख्य रुपमा वृद्धि भएको खुसि व्यक्त गरेका छन्। राज्यका विभिन्न अंगहरूमा महिलाहरुको सहभागिता बढ्दै गएको ओलीको भनाई छ।
'मातृ मृत्युदरमा सुधार, महिलाको कूल साक्षरता दरमा वृद्धि तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।' प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै भनेका छन्, 'पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएको छ।'
उनले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने व्यक्तित्वको स्मरण गरेका छन्। धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नुपर्ने बताउँदै प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, 'हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिएको छ।' ओलीले अब विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले महिला र पुरुषबीच समानता कायम गर्न नीतिगत प्रयास हुँदाहुँदै पनि पितृसतात्मक सोच कायमै रहनु चुनौति भएको बताएका छन्। ओलीले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म 'समृद्ध नेपाल र सुखी नेपाली'को राष्ट्रिय संकल्प साकार हुन नसक्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्रीले सन्देशमा महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गरेका छन्।