'कुष्ठरोगलाई जितें, समाजसँग हारें'
गौर : ६१ वर्षीय इन्द्रदेव राम कुष्ठरोगी थिए। रोग लागेपछि उनलाई उपचार गराउनुको साटो आफन्तले गाउँबाट निकाला गरे। तर, निको भइसके पनि उनी गाउँ जान सकेका छैनन्। उनी रौतहटको परोहा नगरपालिका–५ बंकुल जाने सडक किनारमा सानो झोपडीमा चार वर्षदेखि बस्दै आएका छन्।
परिवारमा फर्किन मन भए पनि समाज र आफन्तको डर रहेछ उनलाई। उनका आफन्त परोहाकै नमनग्रा टोलमा बस्छन्। उनको घर त्यहीं थियो। आफन्त पराइ भएका छन्। छिमेकी पनि उस्तै छन्। सम्पत्ति केही छैन।‘रोगलाई जितें, समाजसँग हारें’, उनले भने।
उनले ३० वर्ष भारतको पन्जाबमा मजदुरी गरेर बिताए। उनलाई ६ वर्षअघि कुष्ठ रोग लाग्यो। हात–गोडाका आंैलामा घाउ देखियो। उनले उतै उपचार गराए तर निको भएन। काम गर्न नसक्ने भएपछि उनी नेपाल फर्किएका थिए।
घर आएपछि छिमेकी, आफन्तले कोर (कुष्ठ) आएको भन्दै गाउँमा बस्न दिएनन्। त्यसपछि उनको बसोबास सडक किनारमा हुन थाल्यो। आफन्तले भाँडाकुडा दिएर झुपडी बनाइदिए। उनी चार वर्षदेखि त्यहीं बस्दै आएका छन्। ‘गाउँ जान मन छ तर बस्ने ठाउँ छैन’, उनले भने, ‘जमिन छैन, घर छैन।’
झुपडीमा एकसरो ओढ्ने–ओछ्याउने छ। ग्यास सकिएको सिलिन्डर र चुलो छ। नेपाली नागरिकता छ। मतदाता र अपांगता परिचयपत्र छ। ‘उमेर छँदा कमाएको पैसा परिवारका लागि खर्च गरें’, उनले भने, ‘यो उमेरमा बेवारिसे भएर बाँच्नुपरेको छ।’
गौरका अभिमन्यू पटेलले उपचारमा सहयोग गरेका थिए। गाउँ फर्काउन पहल गरे तर बस्ने वातावरण बनेन। उनको रोग निको भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक महेश साहले बताए।
रामका चार छोरा, एक छोरी सानैमा उपचार नपाएर बिते। उनले पत्नी वियोगको पीडा पनि सहनुप¥यो। ‘भाइ–बुहारी छन् तर तिनले पनि गाउँलेका कुरा सुन्छन्’, रित्तो बोरा देखाउँदै उनले भने, ‘खाना पकाउने ग्यास सकियो। चामल छैन। गाउँमा माग्न जान सक्दिनँ। दयाले कसैले दिए खान्छु नत्र भोकै सुत्छु।’
कुष्ठरोगी भन्दै उनलाई स्थानीयले धारामा पानी भर्न दिँदैनथे। लुकेर नजिकै बस्तीबाट पानी भरेर ल्याउँथे। सहयोग गरेको पैसाले होटलमा बसेर चिया खाजा खान मन लागे पनि रोग सर्ने भन्दै खान दिँदैनन्। चन्द्रपुर–२ का रुद्रराज मैनालीले केही महिनाअघि झुपडीछेउ धारो जडान गरिदिएका थिए। खाना पकाउने ग्यास सहयोग गरे। गाउँमा बस्ने वातावरण मिलाइदिन रामले आग्रह गरेका छन्।