अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए फेलानीले
एजेन्सी-ब्रसेल्स : बेल्जियमको राष्ट्रिय टोलीका चर्चित मिडफिल्डर मारोउन फेलानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३१ वर्षीय फेलानीले बेल्जियमको राष्ट्रिय टोलीबाट ८७ खेल खेल्दै १८ गोल गरेका छन्।
फेलानीले सन् २०१८ मा रुसमा आयोजित विश्वकप पनि खेलेका थिए। रुस विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाउन फेलानीको पनि महत्वपूर्ण योगदान थियो। ‘फुटबलमा मैले आफ्नो जीवनको महत्वपूर्ण समय खर्चिएको छु। त्यसैले सन्न्यासको घोषणा गर्दा निकै दुःख लागेको छ', उनले भने।
फेलानीले सन्न्यासपछि पनि आफू कुनै न कुनै रुपमा फुटबलसँग जोडिइरहने बताए। ‘फुटबलसँग मेरो थुप्रै तितामिठा क्षणहरु जोडिएका छन्। आगामी दिनमा पनि म यो खेलबाट टाढा रहन सक्दिनँ', फेलानीले भनेका छन्, ‘विश्वकपमा तेस्रो स्थान हासिल गर्नु अनि यतिबेला बेल्जियम फिफा वरीयताको पहिलो स्थानमा रहनुले पनि मलाई सधैँ उत्साही बनाउने छ।'
फेलानी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वखेलाडी पनि हुन्। उनले सन् २००६ मा बेल्जियन लिग क्लब स्टेन्डर्ड लिगाबाट सिनियर फुटबलमा आफ्नो ब्यवसायिक खेल जीवन सुरु गरेका थिए। सन् २००८ मा उनी एभर्टनमा आबद्ध भएका थिए।
यसैगरी सन् २०१३ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका फेलानी यसै महिना चिनिया सुपर लिग क्लब स्यानदोङ लुनेङमा आबद्ध भएका थिए। विभिन्न उमेर समूहको प्रतियोगिता हुँदै उनी सन् २००७ मा बेल्जियमको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए।
‘मेरो विचारमा अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने यो सबैभन्दा उपयुक्त अवसर हो। अब टोलीमा नयाँ खेलाडीलाई पनि अवसर दिनु पर्छ। नयाँ खेलाडी नै राष्ट्रिय टोलीको भविष्य पनि हुन्', आफ्नो सन्न्यासको बारेमा बताउँदै फेलानीले भनेका छन्।