श्रीमानले भात पकाउन र तरकारी काट्दा के हुन्छ ?

श्रीमानले भात पकाउन र तरकारी काट्दा के हुन्छ ?

काठमाडौँ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।

दिवसका अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा विभिन्न दलनका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।

साक्षात्कारमा नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासनसम्म महिलाको सहभागिता पुरुषसरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन् । 

विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

तर अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभइ आफूहरुको संघर्षले प्राप्त भएको रेग्मीले दाबी गरिन् । आगामी दिनमा महिलामाथिग हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।

‘शासक र शासित होइन, मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?’, रेग्मीले प्रश्न गरिन् । 

रेग्मीले अमेरिकामासमेत महिलाप्रतिको दृश्टीकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् । ‘अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो’, उनले भनिन् ।

साक्षात्कारमा रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन’, रेग्मीले भनिन् । 

रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने दावी गरिन् । सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरुले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने दावी गरिन् ।

पछिल्लो समय महिला आन्दोलन सुस्ताएको भन्दै उनले सबै दलका महिला नेतृ र अधिकारकर्मीलाई एक हुन आग्रहसमेत गरेकी छिन् ।

संसदमै महिला हिंसा 

कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरिन् ।

आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् । 

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । ‘निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?’ चौधरीले भनिन् ।

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड छ । चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको उनले बताइन् । 

बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो । 

‘संसदमा महिलालाई शो–पिस बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ’, उनले भनिन् । 

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन् । ‘हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ’, उनले गुनासो गरिन् ।

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरु नै संलग्न रहेको आरोप लगाइन् । जुन निकायमा पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले महिलाको भूमिका प्रभावकारी भएको ठाउँमा भ्रष्टाचार नभएको दावी गरिन् । 

निर्मलाका बलात्कारी लुकाएको छैन

कार्यक्रममा नेकपाकी सांसद शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् । महिला संघर्षको उपलब्धीस्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ती जनाइन् । पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्दा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुई तिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन् । 

निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् । 

‘यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयामा मात्रै बोल्ने ?’ उनले प्रश्न गरिन् ।

छाउपडी र दाइजो कहिले हट्छ ? 
कार्यक्रममा महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताएकी हुन् ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेसमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो । 

नेपालमा महिला अधिकारकर्मीहरु आफू आवद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र संघर्षमा उत्रिने गरेको सोवको आरोप छ । स्वार्थकेन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको उनको तर्क थियो । 

उनले निर्मला पन्तको बलात्कारी अझै पनि पत्ता लाग्न नसकेकोमा असन्तुष्टी व्यक्त गरेकी छिन् । उनले हत्यारा पत्ता लागिसके पनि सरकारले  सार्वजनिक गर्न नचाहेको हो कि आशंकासमेत व्यक्त गरिन् ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.