सिके राउतसँगको सहमति गलपासो बन्ला है !
काठमाडौँ : स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत र सरकाबीच भएको सहमतिलाई लिएर फरक फरक धारणा आएका छन् ।
यो सहमतिलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टिका स्वर चुलिएका छन् । त्यसैगरी नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले यो सहमति भोलि गलपासो बन्ने भन्दै चिन्ता जनाएका छन् ।
नेकपामा असन्तुष्टि
सिके राउत नेतृत्वको मधेस गठन्धनसँगको सहमतिलाई लिए र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै विवाद र असन्तुष्टि सतहमा आएको हो ।
नेकपाका वरिष्ठ नेताहरूले नै सरकारले डा.राउतलाई अवतरण गराउने क्रमको पृष्ठभूमि नै शंकास्पद रहेको भन्दै आपत्ति जनाएका छन्। नेपा भीम रावलले यस सहमतिको कडा आलोचना गरेका छन् ।
‘कुनै व्यक्तिलाई एकल निर्णय गर्ने अधिकार छैन। सामुहिक छलफल गरेर निर्णय गर्नुपर्थ्यो। देश जनता र पार्टीको हितमा थियो भने पार्टीमा छलफल किन नगराएको?', नेकपाका नेता भीम रावलले प्रश्न गरेका छन्, 'सम्झौतामा 'स्वतन्त्र मधेस' भन्ने शब्द राखेर मुलुको सार्वभैमसत्तामाथि प्रहार भएको छ । देश विभाजनको नारा लिएर हिँडेका राउतलाई एकशब्द पनि माफी माग्न नलगाइ सहमति गर्न दु:खद हो।’
यो सहमतिलाई लिएर नेपकाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि असन्तुष्टि जनाएको कुरा सार्वजनिक भएको छ । तर उनले अन्नपूर्णसँगको कुराकानीमा भने अहिले यसबारेमा आफूले केही नबोल्ने उल्लेख गरे ।
जनमत संग्रह गलपासो ?
यो सहमतिबारेमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पनि फरक खालको धारणा सार्वजनिक गरेका छन् । उनले अदालतले तारेखमा रिहा गरेको भोलिपल्ट भएको सहमतिप्रति गम्भीर आशंका गरेका छन् ।
'मधेसी पृथकवादी सीके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकारबीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ !', उनले भनेका छन्, 'बरू २ नं बुँदाको 'असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान”भनेको' जनमतसंग्रह हो कि के हो ? भोलि गलपासो बन्ला है !'
पहाडीको विरोध
राउत र सरकारबीच भएको समहतिलाई लिएर मानवअधिकारवादी कृष्ण पहाडीले पनि असन्तुष्टि जनाएका छन् । खराब नियतका साथ राउतले सरकारसँग सहमति गरेको भन्दै मानवअधिकारवादी अगुवा पहाडीले विरोध गरेका हुन्।
'नियत सही बनाएर डा. राउत मुलधारमा आएको भए त्यो स्वागतयोग्य कुरो हो', उनले भनेका छन्, 'तर, सहमति कार्यक्रम हुनुअघि नै राउतका संयन्त्रहरू र राउतकै फेसबुक पेजबाट जनमत संग्रहको कुरा आएको छ, यो अत्यन्तै खेदजनक हो ।'
पहाडीले यसले मुलुकलाई अर्को दुर्घटनातिर लैजाने दाबी गरे । 'पूर्णिमामा एउटा कुरा र औँसीमा एउटा कुरा गर्ने मानिस हुन् सिके राउत', उनले भनेका छन्, 'यो सहमतिपछि पनि उनले अर्कै नझिक्लान् भन्न सकिन्न।'