गर्भवतीको घरमा हरियो झन्डा

गर्भवतीको घरमा हरियो झन्डा

सुर्खेत : वीरेन्द्रनगरको उतरगंगा क्षेत्रका धेरैजसो घरमा हरियो झन्डा देखिन्छन् । घरको छतमा गाडिएका ती झन्डा कुनै राजनीतिक दल, समूह वा क्लबका भने होइनन् । अर्थात् ती झन्डाले कुनै धर्मको प्रतिनिधित्व पनि गर्दैनन् । बरु बस्तीमा फरफराइरहेको हरियो झन्डाले त्यस घरमा गर्भवती महिला रहेको संकेत गर्छ ।

बस्तीका अधिकांश बालबालिकामा कुपोषण देखियो । गर्भवती र सुत्केरी अवस्थामा महिलाको उचित स्याहार नहुँदा जन्मिने बच्चा पनि स्वस्थ भएनन् । यही समस्याको निराकरण गर्दै बालबालिकालाई कुपोषणबाट बचाउन र आमाको ज्यान जोगाउन यहाँका गर्भवती महिला भएको घरमा हरियो झन्डा गाडिएका हुन् । गर्भवती र सुत्केरी अवस्थामा स्याहार नपाउँदा आमा र बच्चाको ज्यान नै जोगाउन कठिन भएपछि सुर्खेतमा स्थानीय तहले नै हरियो झन्डा गाड्ने यो अभियान सुरु गरेका हुन् ।

कर्णाली प्रदेशमा अहिले पनि ५५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन् । विशेष गरी पहाडी जिल्लामा कुपोषणको समस्या विकराल छ । प्रदेशको राजधानी रहेको नगरभित्रै बालबालिकामा कुपोषणको समस्या देखिएपछि वीरेन्द्रनगरमा गर्भवतीको घरमा हरियो झन्डा गाडिएका हुन् । अभियानअन्तर्गत वीरेन्द्रनगर–२ मा गर्भवती महिलाका घरमा हरियो झन्डा गाडिएको हो । स्थानीय स्वास्थ्य स्वयंसेविका यशोदा अधिकारीले भनिन्, ‘गाउँमा कति गर्भवती छन् भन्ने जानकारी नहुँदा काम गर्न समस्या थियो, अब हरियो झन्डा देख्नेबित्तिकै हामी घरभित्र पस्नेछौं । नियमित गर्भ जाँच गराउन र पोषणयुक्त खाना खान उत्पे्ररित गर्नेछौं, यसले जन्मिने हरेक बच्चा स्वस्थ हुनेछन् ।’

वीरेन्द्रगरको उतरगंगामा रहेका ८४ वटा घरमा हरियो झन्डा गाडिएका छन् । ती घरमा गर्भवती महिला रहेकाले हरियो झन्डा गाडिएको वडाअध्यक्ष बलबहादुर रोकायले जानकारी दिए । उनले भने, ‘गर्भवती अवस्थामा उचित स्याहार र खानपान नहुँदा बालबालिकामा कुपोषण देखियो, यसको निराकरणका लागि हामी जुटेका छौं । अब हरियो झन्डा भएको घरमा हाम्रो विशेष निगरानी हुनेछ, गर्भवतीलाई स्याहार र पोषणयुक्त खानाका लागि सचेत गराउनेछौं ।’ कुपोषण न्यूनीकरणका लागि नै सुत्केरीपछि वडा कार्यालयले महिलालाई अन्डा वितरण गर्दै आएको छ ।

स्थानीय आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका र पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले वडामा रहेका गर्भवती महिलाको खोजी गरेका थिए । त्यसपछि गर्भवती महिलाको रेखदेख, परामर्श र पोषणयुक्त खानाको व्यवस्थापन गर्न सहज होस् भनेर घरमा हरियो झन्डा गाडिएको वडाध्यक्ष रोकायाले बताए । स्याक नेपालका कार्यक्रम संयोजक रेशम चन्दले भने, ‘खानपानमा ध्यान नदिँदा बच्चाहरू कुपोषणको सिकार भए, यसलाई रोक्न हरियो झन्डा अभियान सफल बन्नेछ ।’ उनका अनुसार अब गाउँमा हरियो झन्डा देख्नेबित्तिकै आमा समूह, स्वयंसेविका, जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरमै पुगेर गर्भवतीको खानपान र स्वास्थ्य अवस्थाबारे परामर्श दिनेछन् । यसले गर्भवतीको सुरक्षा हुने र बालबालिकामा हुने कुपोषणमा कमी आउने चन्दको दाबी छ । पछिल्लो समय स्थानीय सरकारले कुपोषणविरुद्ध अभियान थालेका छन् । यही क्रममा बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले समेत गर्भवतीको घरमा हरियो झन्डा गाड्दै छन्् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.