देशभरका रंगकर्मी वीरेन्द्रनगरमा
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ सुरु भएको छ। सांस्कृतिक संस्थान र आरंग नेपालको आयोजनामा सुरु भएको महोत्सवमा देशभरका रंगकर्मी सहभागी छन्।
संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महोत्सव उद्घाटन गरेका छन्। सातदिने महोत्सवमा देशभरका विभिन्न संस्कृति र परिवेशमा आधारित १३ वटा नाटक मञ्चन हुने छन्। कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले कलाकारलाई नाटकमार्फत सकारात्मक सन्देश फैलाउन अनुरोध गरे। ‘नाटक समाज जगाउने विधा हो, अहिले सरकार समृद्धिको अभियानमा सरिक छ’, उनले भने, ‘नकारात्मकतालाई जोड नदिनुहोला, तपाईंहरूले नाटकमार्फत सम्भावनाका बाटा मात्रै देखाउनुहोला।’
नेपाली भाषा संस्कृतिको उद्गम कर्णालीमा पहिलोपटक राष्ट्रिय नाटक महोत्सव आयोजना गरेर इतिहास जगाउने काम गरेकोमा सांस्कृतिक संस्थानलाई आभार प्रकट गर्दै मन्त्री पोखरेलले नाटकलाई सचेतना फैलाउने अभियानमा संगठित बनाउन अनुरोध गरे। ‘मनोरञ्जन लिने काम मात्रै हुनुभन्दा भाषा, संस्कृति जगेर्ना हुनुका साथै देशमा सम्भावना पनि छ भन्ने नाटकले बोलोस्’, उनले भने। चार तहका सरकार बने पनि संविधानमा तोकिएअनुसारका कानुन नबन्दा पहिलो वर्ष आधार तयार गर्दै समय व्यतीत भएको उनको भनाइ छ।
एक शताब्दीदेखि नाटक मञ्चन हुँदै आएको कर्णालीमा औपचारिक रूपमा भने ठूलो जमघट भएको पहिलोपटक हो। मन्त्री पोखरेलले प्रदेश सरकारले नै स्थानीय संस्कृति जोगाउन नाटकघर निर्माण गर्नुपर्ने बताए। तर, प्रदेश सरकारले नसक्ने भएमा भने संघीय सरकारले हेर्नसक्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कला र संस्कृतिको उद्गम कर्णालीमा पहिलोपटक भएको महोत्सवमा सहभागी रंगकर्मीलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
मुख्यमन्त्री शाहीले सबै क्षेत्रबाट सहयोग भए भाषा, कला र संस्कृतिको धनी कर्णालीलाई नमुना बनाएरै छाड्ने दाबी गरे। वरिष्ठ रंगकर्मीलाई कर्णालीबाट ऐतिहासिक पहिचान देशभर उजार गर्न अनुरोध गरे। यस्तै महोत्सवलाई संरक्षण प्रदान गरेका प्रदेशको सामाजिक विकास मन्त्री दल रावलले कला संस्कृतिको संरक्षण र सम्बद्र्धन हुनु पनि विकास नै भएको दाबी गरे। सधंै गरिबी र अशिक्षाको उपमा पाएको कर्णालीले यसपटक कला र संस्कृतिको अपार धनीको संज्ञा पाउने बताए।
कार्यक्रममा देशभरका सातवटै प्रदेशबाट प्रतिसमूह १२÷१२ जनाका दरले रंगकर्मी सहभागी भएको महोत्सवका संयोजक वरिष्ठ रंगकर्मी प्रभाकर शर्माले बताए। बिहीबार ‘मुसल पर्व’ मञ्चन भएको छ। बाँकी ६ दिनमा दैनिक दुई÷दुईका दरले नाटक मञ्चन हुने छन्। नाटकघर नभएका कारण प्रहरीको व्यायामशाला प्रयोग गरिएको छ। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नाटकको युगमा कर्णालीबाट नयाँ सन्देश जाने बताए।
‘विभिन्न चुनौतीबीच पनि हामीले यहाँ कार्यक्रम राख्यौं, सबैको सहयोग प्राप्त भएको छ’, उनले भने, ‘अब कर्णाली भाषा र कलाको मात्रै होइन, नाटकमा पनि अब्बल छ भन्ने सन्देश जानेछ।’ नेपाली भाषाको उद्गमको संस्कृतिलाई पुनः जीवन्त पार्ने काम यस महोत्सवले गर्ने थापाको दाबी छ। महोत्सवको कुल लागत ४० लाख रुपैयाँ अनुमान गरिएको छ।