सरकार र सिके राउतबीचको सहमति अमान्य : भीम रावल
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति अमान्य हुने बताएका छन्। सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता प्रदान गर्न सक्ने भन्दै उनले यस्तो भनेका हुन्।
पहिला गरेको देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्तिको बारेमा राउतले आफ्नो कुनै प्रतिक्रिया नराखेको बताउँदै उनले भने, ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थेँ। तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन।'
रावलले सरकारले राउतसँग गरेको सम्झौताको उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए । ‘हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ', 'उनले भने, 'भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।'
रावलले सिके राउतले स्वयम् आफ्नो फेसबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेको पनि सुनाए।
उनले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले भने, ‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?'
राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको उनले सुनाए । उनले थपे, ‘उहाँले कतै पनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन। अहिले पनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्छ्याप्ती पाइन्छन् । बरु, उहाँले विगतमा मैले बोलेका कुराहरु ठीक थियो भनेर पुष्टि गर्न खोज्नुभयो।'
रावलले हिजोको सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्ने पनि सुनाए । उनले भने, ‘सामान्य अर्थमा भन्ने हो भने नाम नै पार्टीको काम हो, यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ । नाम मात्रै भन्ने हो भने हाम्रो पार्टीको नाम पनि भृकुटीमण्डप पार्टी राखे भैहाल्यो नि ।'
उनले समग्रमा हिजोको सहमति त्रुटिपूर्ण रहेको सुनाए । उनले भने, ‘यसले सिँगो देश र जनतालाई आघात पुर्याएको छ।'